रोजगारी सिर्जना गर्न सामूहिक लगानीमा जोड «

रोजगारी सिर्जना गर्न सामूहिक लगानीमा जोड

फाइल तस्बिर ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मुलुकमा प्रमुख चुनौतीका रुपमा रहेको बेरोजगारीको अवस्थालाई अन्त्य गर्न सामूहिक पहल गर्नुपर्ने बताएका छन् । पोखरा चेम्बर अफ कमर्स कास्कीको चौथो साधारणसभालाई सम्वोधन गर्दै अध्यक्ष मल्लले सामूहिक लगानीमार्फत उद्यमशिलता वृद्धि र रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिए ।

“आर्थिक विकास र समृचिका लागि बेरोजगारी समस्या प्रमुख चुनौतीका रुपमा खडा भएको छ” उनले भने, “प्रत्येक वर्ष ५ लाख युवा श्रम बजारमा प्रवेश गर्छन् तर रोजगारीको अवसर नपाउँदा विदेसिन बाध्य छन् ।” उद्योग तथा साना व्यवसायमा सामूहिक लगानीमार्फत नयाँ नयाँ रोजगारी सिर्जना गर्नका लागि निजी क्षेत्र र सरकारबीच हातेमालो गर्न आवश्यक रहेको अध्यक्ष मल्लले बताए ।

कृषि, पर्यटन, एवं साना उद्योगमा रोजगारी सिर्जना गर्ने सकिने भन्दै उनले विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीलाई अतिरिक्त समयमा रोजगारी सिर्जना गराउने गरी योजना बनाउन सरकारको ध्यानाकर्षण गराए । विद्यार्थीले पठन पाठनसँगै कृषि, सूचना प्रविधि एवं औद्योगिक क्षेत्रमा अतिरिक्त समयमा काम गर्न सक्ने वातावरण बनाउन सके मुलुकको आर्थिक विकासमा महत्वपूर्ण टेवा पुग्ने उनको दावी छ । मल्लले सामूहिक लगानीमार्फत आर्थिक समृद्धि र रोजगारी सिजर्ना गर्न सकिनेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्