आलुमा आत्मनिर्भर बनाउन बिऊ उत्पादन शुरु «
Logo

आलुमा आत्मनिर्भर बनाउन बिऊ उत्पादन शुरु

पर्वतमा आलुको मुल बिऊ विकास कार्यक्रम सुरु गरिएको छ । जिल्लाको जलजला गाउँपालिकाले आलु खेतीमा आत्मनिर्भर बनाउने उद्धेश्यले आलुको मुल बिऊ उत्पादन गर्न थालिएको हो । जलजला गाउँपालिका वडा नं. ६ शालिजाको बराह, चिहानकाटे, लाम्पाटा र रात्माटामा आलुको बिऊ उत्पादनका लागि शनिबारदेखि रोप्न थालिएको छ ।

यस वर्ष ९ रोपनी क्षेत्रफलमा ५३ हजार २०० वटा आलुका दाना रोपिन थालिएको हो । उक्त बिऊ नेपाल कृषि अनुसन्धान परिषदको सिफारीसमा ८ लाख २० हजारमा खरिद गरिएको हो । यस वर्ष लगाइएको आलु खेतीवाट आगामी वर्षका लागि झण्डै १०० रोपनी क्षेत्रफलका लागि बिऊ उत्पादन हुने छ भने दुई वर्षमा गाउँपालिकाभरी आवश्यक पर्ने बिऊ उत्पादन हुने कृषि शाखा प्रमुख राजु गौतमले जानकारी दिए ।

उनका अनुसार आगामी पाँच वर्षमा धौलागिरि भरीनै आलुको उन्नत जातको बिऊ पुर्‍याउन सकिने भएको छ । जलजला गाउँपालिका तरकारी खेतीका लागि उर्भर मानिन्छ । यहाँका अधिकांश कृषक मौसमी तथा बेमौसमी तरकारी खेतीमा निर्भर रहेका छन् । कृषकहरुलाई अझै व्यावासयिक बनाउँदै गाउँपालिकालाई नै समृद्धि बनाउने उद्धेश्यले आलुको मुल बिऊ खेती सुरु गरिएको हो ।

उक्त आलुको जात पिबिऊस रहेको छ । प्रगतिशिल ताजा तरकारी तथा बिऊ उत्पादक समुहको मातहतमा रहनेगरी खेती सुरु गरिएको गौतमले जानकारी दिए । अहिले लगाइएको बिऊ नयाँ जातको भएपनि अनुसन्धान परिषदले नै सिफारीस गरेकोले उत्पादनमा कुनै समस्या नरहेको उनले बताए । जलजला गाउँपालिकाले राष्ट्रिय आलु बाली अनुसन्धान केन्द्रसँग समन्वय कार्यक्रम सुरु गरेको हो ।

गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले आलुको गुणस्तरीय बिऊ उत्पादन, उत्पादन क्षमता कम भएको पुरानो बिऊ विस्थापित र बिऊ आलुमा आत्मनिर्भर बनाउन कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए । “जलजलाको धेरै भूगोलमा आलु खेती भएपनि वर्षौदेखि एउटै बिऊको प्रयोग हुँदा उत्पादन, गुणस्तर र रोगकिराको समस्या देखियो” उनले भने, “गुणस्तरीय बिऊ उत्पादन गरेर आलु उत्पादन र गुणस्तर सुधार गर्ने उद्देश्यले राष्ट्रिय कृषि अनुसन्धान परिषद् (नार्क)ले सिफारिस गरेको रोग प्रतिरोधात्मक क्षमताको पूर्व मुल बिऊ भित्र्याइएको छ ।”

गाउँपालिकाका कृषि अधिकृत राजु गौतमले ९ रोपनी क्षेत्रफलमा खुमल सेतो १, खुमल उज्वल, जनकदेव, खुमल रातो र कार्डनल जातको आलुको ५३ हजार २०० दाना रोपिएको जानकारी दिए । अहिले लगाएको बिऊ पाँच पुस्तापछि खायन (खानका लागि बिऊ रोप्न) योग्य हुन्छ । बिऊ आलुमा आत्मनिर्भर कार्यक्रमका लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा दस लाख बिनियोजन गरेको छ ।

बराह, चिहानकाटे, लाम्पाटा र रात्माटामा ८८ बोरा दोस्रो पुस्ताको बिऊ आलु रोपिएको छ । दोस्रो पुस्ताको बिऊ आलु कृषकलाई पचास प्रतिशत अनुदानमा वितरण गरिएको हो । कृषकहरुलाई लगाउने ज्याला उपलब्ध गराउने र प्रतिकिलो २५ देखि ३० का दरले खरिद गर्ने सम्झौता भएको छ । अहिले लगाएको पुर्व बिऊ आलु उत्पादन भएपछि कृषकहरुबाट गाउँपालिकाले खरिद गरेर चिस्यानगृहमा राख्ने र पहिलो पुस्ताको बिऊ उत्पादन गर्न कृषकहरुलाई उपलब्ध गराउने जनाएको छ ।

राष्ट्रिय आलु विकास कार्यक्रमका प्राविधिक रमेश खतिवडाले भाइरस र रोगमुक्त पुर्व बिऊ आलु रोपिएको बताए । “पूर्व बिऊ आलु पाँच सय दाना बराबर ७५ केजी उत्पादन हुन्छ” उनले भने, “कृषकले बजारबाट खरिद गरेको बिऊको गुणस्तर राम्रो नहुँदा रोग भित्रिएको, उत्पादन र गुणस्तर घटेको हो ।” आलु बिऊ उत्पादनमा चासो देखाउने देशका सीमित स्थानीय तह मध्येमा जलजला रहेको प्राविधिक खतिवडाले बताए ।

प्रगतिशिल कृषक समूहका अध्यक्ष बाबुराम रेग्मीले धेरै वर्षदेखि एउटै बिऊ लगाउँदा उत्पादन र गुणस्तर घटेपछि आफै बिऊ उत्पादन गर्न गाउँपालिकासँग साझेदारी गरिएको बताए । उत्पादन भएको सबै बिऊ गाउँपालिकाले खरिद गरिदिने सम्झौता भएकोले बिऊ आलुलाई बजारको समस्या नहुने भएकाले उत्साही भएको प्रेमप्रसाद भुषालले बताउनुभयो । २४ वर्षदेखि आलु खेति गर्दै आएका नारायणदत्त सापकोटाले धेरै वर्षपछि आलुको बिऊ परिवर्तन गर्न लागिएको बताए ।

प्रतिक्रिया दिनुहोस्