समयमै आयोजना सम्पन्न गर्ने प्रतिबद्धता
उपत्यका विभिन्न सडक आयोजनाका ठेक्का लिएका निर्माण व्यवसायीले आयोजना सम्पन्न गर्न लाग्ने समयसिमाको लिखित प्रतिबद्धता जनाएका छन् । मन्त्रालयको आयोजनामा आयोजित अन्तरक्रियामा सहभागी आयोजनाका निर्माण व्यवसायीले स्पष्ट समयसीमा तोकेर नै कार्य सम्पन्न गर्ने प्रतिबद्धता जनाएका हुन् ।
उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले विकास निर्माणलाई अनिवार्य महत्व दिएर उद्योगको रुपमा स्थापित गर्ने गरी सकारात्मक भूमिका खेल्न जरुरी रहेको बताएका छन् । सरोकारवालाको नजरमा निर्माण व्यवसायी र कर्मचारीप्रतिको नकारात्मक दृष्टिकोणलाई सुधार गर्न पनि जरुरी रहेको उनको भनाई छ । “निर्माण व्यवसायीको प्रतिष्ठा र गुणस्तरीय विकास हामी सबैको साझा विषय हो, हामी सिस्टमअन्तर्गत रही विकास निर्माणमा अगाडि बढ्नु पर्छ,” उनले भने ।
महांकाल भृकुटीचोक तेन्जीङचोक फैका आनीगुम्वा चपली बुढानिलकण्ठ सडक माघ मसान्तसम्म सम्पन्न गरिने प्रतिबद्धता जनाइएको छ । यो आयोजनाको ठेक्का निर्माण व्यवसायीः तुदिरप्रेरा जेभी वागडोलले लिएको थियो । दिवारशैलङ्ग जेभीले लिएको आकाशेधारा बालुवाखानी सडकखण्ड भने फागुन १५ गतेसम्म सम्पन्न गरिने प्रतिबद्धता छ । आकाशेधारा राममन्दिर, कृष्णमन्दिर सडक पनि फागुन १५ मा नै सम्पन्न गरिने बताइएको छ ।
शैलुङ्ग कन्स्ट्रक्सनले यो आयोजनाको ठेक्का लिएको थियो । आशिष सिएम जयवावा जेभीले निर्माणको ठेक्का लिएको सीतापाइला रामकोट भिमढुङ्गा सडक भने माघ मसान्तसम्म सम्पन्न गरिने प्रतिबद्धता जनाइएका छ । पेप्सिकोला ब्राहखेल सडक आगामी असार मसान्तसम्म, मित्रपार्क गौरीघाट गुहेश्वरी नयाँवस्ती जोरपाटी सडक निर्माण माघ मसान्तसम्म सकिने प्रतिबद्धता भएको छ ।