प्रधानमन्त्री दाहाल, सभापति देउवा र अर्थमन्त्री पौडेलसँग जापानी टोलीको भेटवार्ता «

प्रधानमन्त्री दाहाल, सभापति देउवा र अर्थमन्त्री पौडेलसँग जापानी टोलीको भेटवार्ता

जापानको सत्तारुढ पार्टी ‘लिवरल डेमोक्राटिक’ का सांसद तथा पूर्व राज्यमन्त्री तइरा मासाकीसहितको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहालसहित उच्च पदस्थ नेताहरुसँग भेट गरेको छ । नेपाल–जापान सम्बन्धलाई अझै फराकिलो बनाउने उद्देश्यले बुधबार नेपाल आएको तीन सदस्यीय टोलीले शुक्रबार प्रधानमन्त्री दाहाल, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेट गरी छलफल गरेको हो ।

उक्त भेटका अवसरमा प्रधानमन्त्री दाहालले जापान नेपालको सबैभन्दा पुरानो मित्र रहेको बताउँदै नेपालको आर्थिक सामाजिक विकासमा जापानले निरन्तर रुपमा सहयोग गर्दै आएकामा धन्यवाद दिएका थिए । जापान सरकारसँगै जाइका लगायतका संस्थाबाट नेपालले धेरै सहयोग पाएको उनको भनाई थियो ।

प्रधानमन्त्री दाहालले नेपाल अहिले विकासको चरणमा प्रवेश गरेको छ भन्दै आगामी दिनमा पनि जापानको सहयोग धेरै महत्पपूर्ण हुने बताए । नेपालमा लगानीका लागि अनुकुल वातावरण बनाइएको जानकारी दिँदै प्रधानमन्त्री दाहालले जापानी व्यवसायीलाई नेपालमा लगानी गर्न आउने गरी वातावरण तयार गरिदिन आग्रह गरे ।

गतवर्ष आफूले जापानको भ्रमण गर्दा कृषि, विज्ञान र प्रविधिको क्षेत्रमा जापानले गरेको विकासबाट निकै प्रभावित बनेको भन्दै दाहालले नेपालमा पनि यस्तै सीप र प्रविधिको विकास गर्न चाहेको बताए । जापानमा वैज्ञानिक रुपमा गरिएको कृषि खेतिबाट आफू निकै प्रभावित बनेको दाहालको भनाई थियो ।

यस्तै दाहालले जापानले नेपाली नागरिकलाई विभिन्न क्षेत्रमा काम गर्ने मौका दिइरहेको र आगामी दिनमा यो संख्या बढाउने गरी सहयोग गर्न आग्रह गरेका थिए । सांसद मासाकीले जापानको सरकारमा आइटी, मेनपावर, स्पेशलगायतका क्षेत्र हेर्ने जिम्मेवारी पाएका छन् । यही जिम्मेवारी देखेर प्रधानमन्त्री दाहालले उनलाई नेपालको मेनपावर धेरै लैजाने व्यवस्था गर्न आग्रह गरेका हुन् ।

सांसद मासाकीको माओवादी पार्टी र यसको झुकाव चीनतर्फ रहेको बारेमा राखेको जिज्ञासामा प्रधानमन्त्री दाहालले आफ्नो पार्टी पूर्णरुपमा प्रजातन्त्रमा विश्वास राख्ने पार्टी भएको जानकारी दिए । ‘म आफै ४ पटक निर्वाचन लडेर आएको व्यक्ति हुँ,’ प्रधानमन्त्री दाहालले भने ‘ हाम्रो पार्टी न प्रोचाइना हो नत प्रोइण्डिया नै । हामी प्रो नेपाली मात्र हौं ।’

प्रधानमन्त्री दाहालले आफूले ९९ प्रतिशत भन्दा बढी संसदबाट विश्वासको मत पाएर प्रधानमन्त्री बनेको जानकारी दिँदै आफूलाई जापानबाट पनि पुरापुर सहयोगको अपेक्षा राखेका थिए । त्यस अवसरमा सांसद मासाकीले नेपालमा जलस्रोत, पर्यटनलगायतका क्षेत्रमा लगानी आउन सक्ने आफूले देखेको जानकारी गराएका थिए । उनले आगामी दिनमा ग्रीन इनर्जिमा जानुको विकल्प नभएको भन्दै यसका लागि नेपाललाई जापानले सहयोग गर्ने प्रतिबद्धता जनाए ।

यस्तै संसदको सबैभन्दा ठूलो पार्टी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग भएको भेटमा पार्टी अध्यक्ष देउवाले जापानले नेपालको विकासमा लामो समयदेखि निरन्तर सहयोग गर्दै आएकामा धन्यवाद दिएका थिए । देउवाले बजेटरी सहयोगका अतिरिक्त कोभिड, भुकम्प, बाढी पहिरोलगायतका दैवि प्रकोपका घटनामा पनि जापानले मन खोलेर सहयोग गर्दै आएको जानकारी पनि दिए ।

सभापति देउवाले पछिल्ला वर्षहरुमा विग्रदो वातावरणीय प्रभावका कारण विश्वका विभिन्न स्थानमा समस्या देखिन सुरु गरेको र नेपालमा पनि समस्या आइरहेको भन्दै यी समस्या न्यूनीकरणमा जापानको सहयोग आवश्यक रहेको बताए । त्यस अवसरमा जापानी सांसद मासाकीले आफूले नेपालमा जलस्रोतको विकासको उच्च सम्भावना देखेको भन्दै जापानको आर्थिक र प्राविधिक सहयोगमा यस क्षेत्रको विकास गर्नुपर्ने बताएका थिए । नेपालमा उत्पादित विजुली भारत र बंगलादेशमा निर्यात गर्न सके नेपाललाई फाइदा पुग्ने उनको धारणा थियो ।

सांसद मासाकीको टोलीले शुक्रबार नै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई पनि भेटेको थियो । उक्त भेटमा मासाकीले नेपालको छिमेकी मुलुक भारतले विभिन्न परियोजनाका लागि जापानबाट सस्तो ब्याजदरमा ऋण सहयोग लिएको जानकारी दिएका थिए । उनले जापानबाट यस्तो ऋण लिनका लागि पहल गर्न नेपाललाई आग्रह गरेका थिए । त्यसअवसरमा अर्थमन्त्री पौडेलले विकास आयोजनाहरुमा स्रोत अभाव रहेको जानकारी दिँदै जापानको सस्तोदरको ऋण सहयोग लिन आफुले तत्काल पहल गर्ने बताएका थिए ।

यस्तै अर्थमन्त्री पौडेलले नेपालमा विदेशी लगानीकर्ताका लागि अनुकुल वातावरण बनाउने जानकारी दिँदै जापानका लगानीकर्तालाई यहाँ ल्याउन सहयोग गर्न आग्रह गरेका थिए । यस्तै टोलीले बिहीबार दुई पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र माधवकुमार नेपालसँग भेट गरेको थियो । ओली निवास बालकोटमा भएको भेटका अवसरमा सांसद तथा पूर्वराज्यमन्त्री मासाकीले दुई मुलुकबीच आर्थिक साझेदारी सहितको सम्बन्धलाई झनै बलियो बनाउनुपर्नेमा जोड दिएका थिए ।

उनले पछिल्ला वर्षहरुमा जापानमा जनसंख्या वृद्धिदर घटिरहेको जनाउँदै जापानले अहिले दक्ष जनशक्तिको अभाव झेलेको बताएका थिए । यस्तो अवस्थामा नेपाली दक्ष जनशक्तिलाई जापानमा काम गर्ने अवसर रहेको उनले जानकारी दिएका थिए । मासाकीले जापानमा नेपाली कामदार र दक्ष जनशक्ति भित्र्याउन आफूले संसदमा कुरा राख्ने प्रतिबद्धता पनि त्यसअवसरमा व्यक्त गरेका थिए ।

त्यसअवसरमा नेकपा एमालेका अध्यक्ष समेत रहेका पूर्व प्रधानमन्त्री ओलीले नेपालको कृषि, जलस्रोत, पर्यटनलगायत पूर्वाधार विकासका क्षेत्रमाजापानले धेरै सहयोग गरेको भन्दै आगामी दिनमा पनि सहयोग निरन्तरताका लागि आग्रह गरेका थिए । ‘नेपालका विकास साझेदारहरुमध्ये विना सर्त सहयोग गर्ने मुलुक जापान हो । म यसका लागि धेरै धन्यवाद दिन चाहन्छु ।’ अध्यक्ष ओलीले भनेका थिए ।

यस्तै एकीकृत समाजवादी पार्टी कार्यालय बानेश्वरमा भएको भेटमा अर्का पूर्व प्रधानमन्त्री तथा पार्टी अध्यक्ष नेपालले नविनतम प्रविधि र सीपका लागि जापान संसारमा नै सबैभन्दा माथि रहेको भन्दै यस्तो प्रविधि र सीपलाई नेपालमा भित्र्याउन सहयोग गर्न आग्रह गरेका थिए । अध्यक्ष नेपालले दुई मुलुकबीचको राजनैतिक, सामाजिक र आर्थिक सम्बन्ध धेरै पुरानो र मजवुत रहेको भन्दै आगामी दिनमा पनि यसलाई कायम राख्न यस्ता भेटघाट महत्वपूर्ण हुने बताएका थिए ।

जापानी टोली गैर आवासीय नेपाली संघका पूर्वअध्यक्ष तथा संरक्षक एंव टिविआइ पब्लिकेसन्सका अध्यक्ष भवन भट्टको निमन्त्रणमा आएको हो । दुवै भेटका अवसरमा पब्लिकेसन्सका अध्यक्ष भट्टले नेपाल र जापानको ऐतिहासिक सम्बन्ध, यसबाट दुवै मुलुकले पाइरहेको सहयोगलगायतका विषयमा जानकारी गराएका थिए । जापानमा विभिन्न क्षेत्रमा लगानी गर्दै आएका अध्यक्ष भट्टले दुई मुलुक बीचको लामो सम्बन्धलाई आगामी दिनमा विकासको साझेदारका रुपमा विकसित गर्न सके नेपालले झनै फाइदा लिन सक्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्