टेलिकमका सेयरधनीलाई ४० प्रतिशत नगद लाभांश «

टेलिकमका सेयरधनीलाई ४० प्रतिशत नगद लाभांश

नेपाल दूरसञ्चार कम्पनी (टेलिकम) ले आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट प्रतिसेयर ४० प्रतिशत नगद लाभांश दिने भएको छ । बिहीबार आयोजित कम्पनीको १५ औ वार्षिक साधारण सभाले सो लाभांश पारित गरेको हो । आर्थिक वर्ष २०७८/०७९ मा कम्पनीले कुल ४४ अर्ब ३७ करोड राजस्व आम्दानी गरी ८ अर्ब ४७ करोड खुद नाफा गरेको छ ।

यो नाफा गत वर्षको भन्दा १ अर्ब ३५ करोडले बढी हो । यसै आ.व.मा कम्पनीले कर तथा शुल्क वापत आफ्नो कुल आयको ५९.५२ प्रतिशत अर्थात् २६ अर्ब ४१ करोड राजश्वका रुपमा नेपाल सरकारलाई बुझाएको छ । साधारणसभामा ९१.६ प्रतिशत शेयरधनीहरुको उपस्थिति रहेको थियो । उक्त सभाले आर्थिक वर्ष ०७८/७९ को लागि सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष ०७८/७९ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य अनुसूचीहरु उपर छलफल गरी सर्वसम्मतले पारित गरेको छ ।

सो अवसरमा कम्पनी सञ्चालक समितिका अध्यक्ष एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्याललेसाधारणसभामा कम्पनीको १५ औँ वार्षिक प्रतिवेदन पेश गरेका थिए । प्रतिवेदन प्रस्तुत गर्दै उनले कोभिड–१९ को महामारी तथा यसको प्रभाव र असरकाबिच कम्पनीले सापेक्षित सफलता पाएको उल्लेख गर्दै दूरसञ्चार क्षेत्रको विश्वबजारमा विकास भइरहेका नवीनतम र अत्याधुनिक प्रविधिको प्रयोग गरी सेवालाई थप गुणस्तरीय बनाउने प्रतिबद्धता जनाएका छन् ।

दूरसञ्चार क्षेत्रमा विद्यमान तीब्र प्रतिस्पर्धाको वातावरणमा पनि मुनाफाभन्दा बढी सेवाभावलाई प्राथमिकतामा राखी भौगोलिक रुपले अति विकट तथा दुर्गम क्षेत्रमा अत्याधुनिक दूरसञ्चार सेवाहरु विस्तार तथा वितरण गर्दै डिजिटल नेपाल बनाउने सरकारको अवधारणामा सहयोग गरेको बताए । विद्युतीय सुशासनको क्षेत्रमा सहयोगी भूमिका निर्वाह गर्ने तथा अप्टिकल फाइबरको माध्यमबाट सूचना महामार्ग निर्माण गर्नेतर्फ कम्पनीले कार्यक्रमहरु तय गरेको बताएका छन् ।

प्रत्येक नागरिक, उद्योग व्यवसाय तथा सरकारी क्षेत्रका लागि अधारभूत आवश्यकताका रुपमा स्थापित हुँदै गरेको सूचना प्रविधिलाई थप गुणस्तरीय तथा प्रभावकारी बनाउन कम्पनीले फोरजी एलटीई प्रविधिमा आधारित भोल्टे सेवा तथा एफटीटीएच सेवा विस्तारमा जोड दिएको छ । आवश्यक पूर्वाधार निर्माण र स्तरोन्नति तथा वितरणमा तीब्रता दिएकोले २०७९ असारसम्ममा देशका ७३५ स्थानीय तहमा अत्याधुनिक दूरसञ्चार सेवाको पहुँच विस्तार भएको उनले बताए ।

नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणबाट फाइभजी प्रविधिको परीक्षण अनुमति प्राप्त भएअनुसार निकट छिट्टै परीक्षण कार्य सफलतापूर्वक सम्पन्न गर्नेगरी काम अघि बढाइएको पनि अर्यालले बताए । कम्पनीको लगानी नीतिअनुरुप लगानी विविधीकरण गरी वित्तीय अवस्था सुदृढ गरिने, वित्तीय अनुसाशन कायम गरी खर्चमा मितव्ययिताको सिद्धान्त अवलम्बन गर्ने तथा कम्पनीका सेवाका गुणस्तर सुधारमा विशेष ध्यान दिइने उनको प्रतिवद्धता थियो ।

प्रतिक्रिया दिनुहोस्