चलचित्र संघसंस्थामा चुनावी रौनक «

चलचित्र संघसंस्थामा चुनावी रौनक

नेपाली चलचित्रसँग सम्बन्धित संघसंस्थामा चुनावी रौनक सुरू भएको छ । चलचित्र कलाकार संघ, नेपाल चलचित्र निर्देशक समाज, नेपाल चलचित्र प्राविधिक संघ र चलचित्र पत्रकार संघ नेपालले चुनावी मिति तय गरेसँगै नयाँ नेतृत्वका लागि दौडधुप सुरू भएको छ । आगामी फागुन ११ गते साधारणसभासँगै चुनावी सभा तोकेको नेपाल चलचित्र प्राविधिक संघमा नयाँ नेतृत्व कसले लिने भन्ने छलफलले तीव्रता पाएको छ ।

यस्तै नेपाल चलचित्र निर्देशक समाज फागुनको अन्तिम साता साधारणसभा र नयाँ नेतृत्व चयन गर्ने तयारीमा छ । नेपाल चलचित्र कलाकार संघले आगामी चैत ४ गते नयाँ कार्यसमिति चयन गर्दैछ । संघका प्रवक्ता मोहन निरौलाले सदस्यता नवीकरणसँगै अन्य तयारी भइरहेको जानकारी दिए ।

नेपाल पत्रकार महासंघको एसोसिएट संस्था चलचित्र पत्रकार संघ नेपालको फागुन १७ गते नवौँ महाधिवेशन हुँदैछ । अध्यक्ष दिनेश सिटौलाले अहिले शाखा अधिवेशन भइरहेको जानकारी दिए । नेपाल चलचित्र निर्माता संघ र नेपाल चलचित्र संघको निर्वाचन केही समय अगाडि मात्र सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्