कृषि क्याम्पसका लागि जग्गा प्राप्ति प्रक्रिया सुरू «

कृषि क्याम्पसका लागि जग्गा प्राप्ति प्रक्रिया सुरू

गोरखाको पालुङटारमा कृषि तथा वन विज्ञान क्याम्पस सञ्चालनका लागि जग्गा प्राप्ति प्रक्रिया अघि बढाइएको छ । नेपाल सरकारको नाममा रहेको पालुङटार नगरपालिका–७ को कित्ता नं ५२९,८६ र १२४२ को करिब २९७ रोपनीमध्ये १२० रोपनी जग्गा क्याम्पस सञ्चालनका लागि उपलब्ध गराउन गृह मन्त्रालयलाई पत्राचार गरिने भएको हो ।

जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले पालुङटार नगर कार्यपालिकाको सिफारिस अनुसार सो जग्गा क्याम्पस सञ्चालनका लागि उपलब्ध गराउन गृहमन्त्रालयलाई पत्राचार गर्ने निर्णय गरेको हो । पालुङटार नगरकार्यपालिकाले सो जग्गा विपद् व्यवस्थापन सम्बन्धि कुनैपनि कार्यमा प्रयोगमा नल्याउने, सामाजिक, आर्थिक, राजनीतिक, पर्यावरणीय र पुरातात्विक क्षेत्रमा समेत कुनै प्रतिकुल असर नपार्ने गरी कृषि क्याम्पस सञ्चालनका लागि उपलब्ध गराउन जिल्ला विपद् व्यवस्थापन समितिमा पत्राचार गरेको थियो ।

सोही पत्रका आधारमा कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनको आंगिक क्याम्पसको रुपमा क्याम्पस सञ्चालनका लागि जग्गा उपलब्ध गराउन गृह मन्त्रालयमा सिफारिस गरिने भएको हो । क्याम्पस स्थापनाका लागि पहाडी क्षेत्रमा कम्तिमा १ सय रोपनी र तराईमा ८ विघासम्म जग्गा हुनुपर्ने भएकाले जग्गा प्राप्तिका लागि प्रक्रिया अघि बढाइएको पालुङटार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले बताए ।

पालुङटार नगरपालिकाले च्याङ्लीमा निर्माण भएको आवास गृहलाई क्याम्पसका लागि प्रयोग गर्ने बताउँदै आएको छ । त्यहाँ २०७२ सालको भूकम्पबाट प्रभावित सुकुम्बासी परिवारको आवास प्रयोजनका लागि ३ वटा सुविधासम्पन्न भवन निर्माण भएका छन् । तर निर्माण सम्पन्न भएको भवन नगरपालिकालाई हस्तान्तरण भइसकेको छैन । सोही भवन आसपास आवश्यक जग्गा प्राप्तिको प्रक्रिया अघि बढाइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भण्डारीले जानकारी दिए ।

जग्गा प्राप्तिका लागि नगरपालिकाले सहजीकरण गरेपनि जग्गा उपयोगको कार्ययोजना सहितको प्रक्रिया विश्वविद्यालयले नै अघि बढाउने छ । जग्गा विश्वविद्यालयकै नाममा पास हुने भण्डारीले जानकारी दिए । सबै प्रक्रिया पूरा भै क्याम्पस सञ्चालन भएमा पालुङटारमै कृषितर्फको स्नातक तहको पढाइ हुनेछ । बि.एससी. एजी.को ४ वर्षे कोर्सका लागि वार्षिक ५० जनाको कोटा हुने कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरले जनाएको छ ।

विश्वविद्यालयको केन्द्रिय क्याम्पस र कार्यालयबाट नजिक रहेकाले पालुङ्टारमा क्याम्पस सञ्चालन सहज हुने विश्वविद्यालय प्रशासनले जनाएको छ । तत्काल भने कृषितर्फको पढाई शुरु गर्ने र पछि पशु विज्ञान थप गर्ने गरि आन्तरिक छलफल भइरहेको पनि सो विश्वविद्यालयको भनाइ छ । यसबारे नगरपालिकाको एक टोलीले विश्वविद्यालयका उपकुलपति, शिक्षाध्यक्षलगायतसँग छलफल गरिसकेको छ । जग्गा, भवन, अन्य पूर्वाधार र दरवन्दी सुनिश्चितता भएपछि क्याम्पस स्थापना र सञ्चालन गर्न सकिने कृषि तथा वन विज्ञान विश्वविद्यालय प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्