विद्यार्थीको अवस्था दयनीय धूलो र भुइँमा बस्न बाध्य

रौतहटको सबै किसिमले अगाडि रहेको चन्द्रपुर नगरपालिका मानिएपनि शैक्षिक हिसाबले हेर्दा पछाडि नै देखिन्छ । तर पनि रौतहटको एउटा वडामा रहेको विद्यालयको अवस्था हेर्ने हो भने नेपालकै सबैभन्दा पिछडिएको विद्यालय हो भन्न कुनै संकोच हुँदैन ।
रौतहटको चन्द्रपुर नगरपालिका–७ मा रहेको जनता आधारभूत विद्यालयमा अध्ययनरत बालबालिका धुलोमै बसेर अध्ययन गरिरहँदा पनि नगरपालिकाका सम्बन्धित निकायले खासै चासो दिएको पाइँदैन । अध्ययनका लागि बसाइँ ब्यवस्थापनको ठूलो भूमिका हुन्छ, तर रौतहटको चन्द्रपुर नगरपालिका–७ नयाँबस्तीका ससाना बालबालिका कष्टकर तरिकाले अध्ययन गर्न बाध्य छन् । आफ्नै गाउँमा रहेको जनता आधारभूत विद्यालयमा अध्ययन गर्नका लागि उनीहरू दिनहुँ बोरा र किताब बोकेर विद्यालय जाने गरेका छन् । ती बालबालिकाले अध्ययन गर्नका लागि बोरा बोक्नु रहर हैन बाध्यता हो ।
यदि बोरा नबोके विद्यालयमा उनीहरूले बस्ने ठाउँ नै पाउँदैनन् । घरबाट बोरा नलगे शिक्षा लिनबाट वञ्चित हुने अवस्था छ । ठाउँ तथा भवन अभावमा यस विद्यालयमा करिब १ सय ५० जना बालबालिका बोरामा नै बसेर अध्ययन गर्दै आइरहेको सोही विद्यालयका प्रधानाध्यापक रामाधार साहले बताए । खासगरी यस विद्यालयमा विपन्न तथा दलित परिवारका विद्यार्थी अध्ययन गर्ने गरेको र ती विद्यार्थीलाई बस्ने ठाउँको अभाव खडकिरहेको प्रअ साह बताउँछन् ।
सरकारले खाजा कार्यक्रम ल्याएपछि पनि केही विद्यार्थी बढेको उनले जानकारी दिए । विद्यार्थीको संख्या बढदो छ, तर भौतिक पूर्वाधारको विकास नहँुदा समस्या आएको उनी बताउँछन् । ती बालबालिका अध्ययन गर्ने ठाउमा बुङ्बुङ्ती धुलो उडछ तै पनि बोरा ओछयाएर पढाउने गरेको उनले बताए । कक्षा १ मा मात्रै सो विद्यालयमा करिब १ सय ५० जनाभन्दा बढी विद्यार्थी छन् । नीतिगत रूपमा शिक्षामा धेरै किसिमका कुरा भए तापनि त्यहाँका बालबालिकालाई कुनै पनि नीतिले छुन नसकेको जनज्योति बहुमुखी क्याम्पस चन्द्रपुरका स्ववियु सभापति संगम श्रेष्ठले बताए । कक्षामा पठनपाठन हुने विषयमा विद्यार्थीको सिकाइ उपलब्धि बढाउन मात्र नभई व्यक्तिको भविष्य निर्माण गर्नका लागि आवश्यक सम्पूर्ण गतिविधि सञ्चालन गर्ने मूलथलो विद्यालय नै भएकाले विद्यालयको वातावरण बालमैत्री हुनु आवश्यक रहेको सभापति श्रेष्ठको भनाइ रहको छ ।
सोही वडाका वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु उप्रेतीले यसै वर्ष विद्यालयको भौतिक पूर्वाधार विकासका लागि काम सुरु गदैै गरेको र चाँडोभन्दा चाँडो बालबालिकालाई बोराबाट मुक्ति दिलाउने बताए । यस विद्यालयमा शिक्षक अभावदेखि धेरै समस्या छन् अबको केही दिनमै देखिने किसिमको विद्यालयमा काम हुने उनले बताए । यसैगरी चन्द्रपुर नगरपालिाका नगरप्रमुख रामचन्द्र चौधरीले कुनै पनि हालतमा ती बालबालिकालाई यथासक्दो चाँडो बोराबाट मुक्ति दिलाइ आवश्यक भवन र फर्निचरको ब्यवस्था गर्न निर्देशन दिएको बताए ।
सोही विद्यालयमा नेपाल विद्यार्थी संघ अमेरिका शाखाले करिब ३ सय बालबालिकालाई झोलासहितको शैक्षिक सामग्री वितरण गरेको थियो । शैक्षिक सामग्री वितरण गर्दै कांग्रेस केन्द्रीय सदस्य तथा नेविसंघका पूर्वअध्यक्ष प्रदिप पौडेलले विद्यालय भवन निर्माणका लागि आफूले पनि पहल गर्ने बताए । विद्यालयको अवस्था देखेर आफुले सक्ने सहयोग गर्ने प्रतिबद्धता दिएको नेता पौडेलले बताए ।