स्थानीय तहमा अझै पुगेनन् कर्मचारी «

स्थानीय तहमा अझै पुगेनन् कर्मचारी

पाँचथरका अधिकांश स्थानीय तहमा कर्मचारी अभाव हुँदा सेवाग्राही मर्कामा परेका छन । एकजना कर्मचारीलाई गाँउपालिकाको कार्यालयदेखि वडासम्मको काम थपिँदा सेवाग्राही मर्कामा परेका हुन् ।
“कर्मचारी अभाव छ । तीन चारजनाले गर्नुपर्ने काम एकजनाले गर्नु पर्दा कसरी छिटो छरितोको अपेक्षा गर्ने,” याङवर गाँउपालिकाका प्रशासकीय अधिकृत डम्बर आङदेम्बेले भने । धेरै वडा तहमा सचिव र गाउँपालिका तहमा विषयगत कार्यालयमा कर्मचारी अभाव छ । याङवर गाउँपालिकाको वडा नम्बर ५ मा सचिव नै छैनन् । उनको काम वडा नम्बर १ का सचिवले हेरिरहेका छन् । उता गाउँपालिका तहमा शिक्षा, वन, सिँचाइ शाखालगायतका शाखामा कर्मचारी नै छैनन् । ती शाखामा हुने काम गाउँपालिकाका कर्मचारीले गर्नु परेको छ । कृषि, महिला, पशु र स्वास्थ्य शाखामा पनि कर्मचारी कम छन् । एकजना कर्मचारीले सबै काम गरिरहेका छन् ।
यता फालेलुङ गाउँपालिकाको पनि समस्या उस्तै छ । गाउँपालिकाका ८ वटा वडामध्ये एउटा वडामा मात्रै सचिव छन् । अन्य वडामा अस्थायी सचिवले काम सम्हाल्दा स्थानीयलाई सेवा लिन समस्या भएको छ । फालेलुङ गाउँपालिकामा पनि विषयगत शाखामा कर्मचारी नहुँदा समस्या भइरहेको छ । शिक्षा, स्वास्थ्य, वन, कृषि कुनै पनि शाखामा कर्मचारीको व्यवस्थापन भएको छैन । भएका कर्मचारी पनि कामको चाप बढेपछि समस्यामा पर्ने गरेको गाउँपालिका अध्यक्ष सन्चकुमार केरुङले बताए । पुरै गाउँपालिका भर एकजना मात्रै सचिव छन् । गाउँपालिका अध्यक्ष केरुङले भने, “हामीले कर्मचारी ल्याउने विषयमा पहल गरिरहेका छौ ।”
उत्तरी पाँचथरको हिलिहाङ, दक्षिणी पाँचथरको तुम्बेवा गाउँपालिकाको अवस्था पनि उस्तै छ । कर्मचारी अभावकै करण तोकिएको समय काम गर्न नसकिने अवस्था देखिएको गाउँपालिका अध्यक्ष भुवानीप्रसाद लिङदेनले बताए । पाँचथरका यी तीन गाउँपालिका उदाहरणमात्रै हुन् । फिदिम नगरपालिकासहितका जिल्लाका आठवटै स्थानीय तहमा कर्मचारी अभाव छ ।

प्रतिक्रिया दिनुहोस्