थप १ लाख नयाँ बजेट नआएसम्म दिन सकिँदैन: सीईओ भुसाल «

थप १ लाख नयाँ बजेट नआएसम्म दिन सकिँदैन: सीईओ भुसाल

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले भूकम्पपीडितलाई थप एक लाख दिने सरकारको निर्णय नयाँ सरकार र नयाँ बजेट नआएसम्म दिन नसकिने स्पष्ट पारेका छन् ।
प्राधिकरणका सीईओ भुसालले यस्तो बताएका हुन् । उनले भने, “एक लाख रकम थप्ने निर्णय भएको जुन कुरा बाहिर आएको छ, यसबारे हामीकहाँ हिजोको मितिसम्म कुनै जानकारी आएको छैन, यदि निर्णय गरेर हामीकहाँ आयो भने पनि यो रकम दिन यो आर्थिक वर्षभित्रै दिन सक्ने सम्भावना छैन, अर्को नयाँ सरकार नआएसम्म सम्भव छैन ।”
भुसालले आफू अर्थ मन्त्रालयमा बसेर काम गरिसकेको व्यक्ति भएकाले यो वर्ष थप रकम दिन नसकिने जिकिर गरे । उनले भने, “यो थप दिने भनिएको एक लाख रकम यो वर्ष दिनै सकिँदैन, नयाँ बजेट आएपछिमात्रै सम्भव छ, अहिले छैन, किनकि यो नन–बजेटरी रकम हो ।” उनले पुनर्निर्माण कार्य दु्रत गतिमा भइरहेको पनि जानकारी दिए । पीडितका आँशु पुछ्ने गरी आफूहरूले काम गरिरहेको उनले विश्वास दिलाए । उनले भने, “आउने वैशाख १२ गते भूकम्प दिवस पनि हो, त्यतिबेला अर्को नतिजा दिने गरी केही योजनासहितका काम गर्छौं ।”

१३ अर्ब रुपैयाँ आवश्यक
त्यस्तै उनले यही माघ मसान्तभित्रै १ लाख घर निर्माण भइसक्ने र ३ लाख निर्माण जारी राख्ने विश्वास दिलाए । उनले प्राधिकरणलाई अझै १३ अर्ब रुपैयाँ आवश्यक पर्नसक्ने पनि जनाए । आफूहरू यो बीचमा आउने सबै खाले गाँठा फुकाउँदै अघि बढिरहेको उल्लेख गर्दै उनले भने, “हामी गाँठाहरू फुकाउने क्रममा छौं, प्राविधिकहरू सदरमुकाममा बस्न रुचाउँछन्, किनकि सुगम हुन्छ, यसले गर्दा पनि गाउँगाउँमा केही समस्या परेको छ, प्राविधिकहरूको अभाव छ, तर यसलाई पनि हल गर्नेगरी हामीले सबै प्राविधिकलाई स्थानीय तहसम्मै पु¥याउनका लागि त्यहीअनुसार बजेट विनियोजन गरेका छौं, अतिप्रभावित १४ जिल्ला र प्रभावित १८ जिल्लाका स्थानीय तहमा कर्मचारी खटाएका छौं ।”
प्राविधिकहरूले सिफारिस नगरेसम्म दोस्रो र तेस्रो किस्ता दिन नमिल्ने भएकाले उक्त समस्या हल गर्न आफूहरू गम्भीर भएको उनले बताए । त्यस्तै उनले विगतमा डकर्मीको काम गरेकाहरूलाई पनि आफूहरूले तालिम दिने व्यवस्था गरेको सुनाए । उनले भने, “करिब २१ हजार बढीलाई तालिम दिन्छौं, कतिपय स्थानमा सुरु भइसक्यो ।”
त्यस्तै उनले निजी आवास निर्माणका लागि ढुँगा, बालुवा, गिटीको कुनै अभाव नभएको पनि स्पष्ट पारे । उनका अनुसार काठको पनि कुनै अभाव छैन । भुसालले थपे, “यो बीचमा निर्माण सामग्रीको मूल्य वृद्धि भएको थियो, तर हामीले प्राधिकरणमा छलफल गरेर छुटको व्यवस्था गरेका छौं, अब उहाँहरूले भाउ घटाउनुभएको छ ।”
भुसालले यही माघ १ गतेको कार्यविधिले अशक्त, एकल महिला, टुहुराटुहुरीका लागि प्राधिकरणले आँफै घर निर्माण गरिदिने भएकाले सोहीअनुसार प्राधिकरणले काम गरिरहेको पनि सुनाए । उनले भने, “शारीरिक रूपमा अशक्त जो ७० वर्ष नाघेका छन्, उनीहरूलाई हामीले घर निर्माण गरिदिने हो, त्यस्तै ६५ वर्ष पुगेका एकल महिलाको पनि हामीले नै घर बनाउने हो, १६ वर्ष मुनिका टुहुराटुहुरीलाई पनि हामीले नै बनाउने हो, अहिले यसको हिसाब गर्ने हो भने ४ सयको संख्या आएको छ, यो संख्या अझै बढ्न सक्छ ।” उनले प्राधिकरणसँग अहिले ५३ अर्ब रकम रहेकाले अझै ४८ अर्ब अपुग रहेको सुनाए । उनले भने, “यसका लागि म आँफै लगातार अर्थ मन्त्रालय धाइरहेको छु, उहाँहरूले पनि हामीलाई चाहिने रकम खोज्छौं भन्नुभएको छ ।” उनले आफू एक्सन ओरियन्टेट भएको पनि सुनाए ।
त्यस्तै उनले धरहरा निर्माणको विषयमा डिजाइन स्टिमेट भइरहेकोले अब केही दिनभित्रै फाइनल गरिने जानकारी दिए । उनले भने, “धरहरा निर्माणका लागि फाइनल डिजाइन गर्छौं, यसको आउट लुक पुरानै हुन्छ, भित्र लिफ्ट हुन्छ, अन्डरग्राउन्ड पार्किङ पनि हुन्छ ।” काष्ठमण्डप पनि यही आर्थिक वर्षभित्रै सुरुवात गर्ने उनको भनाइ थियो ।
त्यस्तै उनले दरबार हाइस्कुल पनि यही आर्थिक वर्षभित्रै निर्माण सुरु गर्ने र ललितकला पनि बनाउने सुनाए । उनका अनुसार ललितकला ५ तले नै बन्नेछ । काठमाडौैंमा भूकम्पले भत्किएका एक लाख एक हजार घरमध्ये ८० हजार बन्न बाँकी रहेको उनले जानकारी दिए । गल्लीगल्लीमा रहेका घर निर्माणका लागि बैंकले लोन नदिने भएकाले यसबारेमा आफूहरूले प्राधिकरणभित्रै बैंकिङ युनिट खडा गर्ने उनको भनाइ थियो । उनले थपे, “यसबारेमा हामीले राष्ट्र बैंक र अर्थ मन्त्रालयका अधिकारी राखेर खडा गर्छौं, ऋण प्रवाह पनि हुन्छ ।”
पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठक यही माघ २६ गते बस्ने पनि उनले जानकारी दिए । सोही बैठकबाट दोस्रो किस्ता लिनेबारे पुस मसान्त सकिएको म्याद थप्ने वा नथप्नेबारे निर्णय लिइने पनि उनले जानकारी दिए । भुसालले यही आर्थिक वर्षभित्र करिब ६० प्रतिशत निजी आवास निर्माण भइसक्ने र सम्पदाका लागि भने समय लाग्ने स्पष्ट पारे ।
त्यस्तै उनले पैसा अभाव हुने भएकाले यही वर्ष अर्थात् सन २०१८ भित्रै मित्रराष्ट्र र अन्य साझेदार निकायसँग हामीलाई पैसा अभाव भयो भन्दै सहयोगका लागि दाता सम्मेलन आयोजना गरिने जनाए ।

प्रतिक्रिया दिनुहोस्