हरिनाश–३ मा घरघरमा धारा «

हरिनाश–३ मा घरघरमा धारा

कुनै बेला खानेपानीको जोहो गर्न घण्टौं बिताउनुपर्ने र सार्वजनिक धारामा पानीको पालो कुर्दै लाममा बस्नुपर्ने समस्याबाट हरिनाश गाउँपालिका–३ चिसापानीका स्थानीयले अब भने मुक्ति पाएका छन् । ‘एक घर, एक धारा’ कार्यक्रमअन्तर्गत गाउँमा सबैका घर–घरमा धारा जडान भएपछि स्थानीयलाई खानेपानी सहज भएको  छ ।
गाउँपालिका र पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनाको संयुक्त लगानी तथा प्राविधिक सहयोगमा धारा जडान गरिएको हो । खानीपानीको घर–घरमा धारा जडान भएपछि स्थानीयले सरसफाइदेखि करेसाबारीसम्म पानीको प्रयोग गरेका छन् ।
हरिनाश गाउँपालिका–३ चिसापानीकी जमुना शर्माले खानेपानी लिनका लागि धेरै टाढा जानु परेकामा अहिले घरमै पानी आएपछि खुसी लागेको बताइन् । “पहिले पहिले पानीका लागि एक घण्टा लगाएर कुवा, खोल्सा र सार्वजनिक धारामा धाउनुपथ्र्यो ।” उनले भनिन्, “अहिले घर–घरमै धारा भएपछि घरको काममा समेत सहज भएको छ ।”
“पानीको लागि खर्च गर्ने समय बचत हुँदा अन्य काम गर्न पनि सहज भएको छ ।” स्थानीय सोमनाथ लम्सालले भने, “घर–घरमा पानी आएपछि स्थानीयले अहिले सरसफाइ मात्र नभएर तरकारीसमेत लगाउन थालेका छन् ।” घरमै पानी आउँदा अन्य काम गर्न समय अभाव नभएको लम्सालले अनुभव सुनाए ।
गाउँपालिकाको ३२ लाख तथा परियोजनाकोे ५८ लाख आर्थिक तथा प्राविधिक सहयोग र स्थानीयको जनश्रमदान गरी १ करोड २६ लाख लागतमा निर्माण भएको हो । योजना सम्पन्न गर्न स्थानीयले ९३ दिन जनश्रमदान गरेका हुन् । चिसापानीका २ सय २ घरधुरीका १ हजार १ सय ५८ जनसंख्या पानीबाट प्रत्यक्ष लाभान्वित भएको गाउँपालिकाले जनाएको छ । चिसापानीबाट झण्डै ६ किलोमिटर टाढा रिपसुंवारा मूलबाट पानी ल्याएर चार ट्यांकी र चार च्याम्बरको सहायताले प्रत्येक घरमा पानीको धारा जडान गरिएको हो । स्थानीय कालिका प्राथमिक विद्यालय र वडा कार्यालयमा समेत सो पानी जडान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्