दस्तावेज सार्वजनिक गर्नु दुःखद: कोमी

अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रूसी हस्तक्षेपबारे विवादास्पद मानिएको ‘नुन्स मेमो’ (दस्तावेज) सार्वजनिक गरेको भनी अमेरिकी गुप्तचर निकाय (एफबीआई) का पूर्व प्रमुख जेम्स कोमीले दुःख व्यक्त गरेका छन् ।
चुनावी अभियानका क्रममा ट्रम्पका विदेश मामिला सल्लाहकार कार्टर पेजको टेलिफोन रेकर्डिङमाथि टिपोट केन्द्रित छ ।
एफबीआईले टिपोट सार्वजनिक गर्ने कदमप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसबाट मुख्य तथ्यहरू हटाइएको जनाएको छ । सो टिपोटमा न्याय मन्त्रालय र एफबीआईलाई पेजविरुद्ध जासुसी गर्न प्रमाणित नभएको प्रतिवेदनलाई आधार बनाएको आरोप लगाइएको छ ।
उक्त टिपोटमा गुप्त प्रतिवेदनका लेखक पूर्व ब्रिटिस जासुस क्रिस्टोफर स्टिलले न्याय मन्त्रालयका एक वरिष्ठ अधिकारीसँग आफू डोनाल्ड ट्रम्प चुनावमा पराजित भएको हेर्न व्याकुल रहेको बताएको जनाइएको छ ।
उक्त टिपोटलाई गोप्य नराख्न अनुमति दिएका राष्ट्रपति ट्रम्पले ती दस्तवेजमा उल्लेख भएका गतिविधि भयावह भएको प्रतिक्रिया दिएका थिए ।
रूसी हस्तक्षेपका विषयमा रहेको दस्तावेज सार्वजनिक गरेकोमा असन्तुष्टि जनाउँदै कोमीले ट्विट गरेका छन्, “गलत तथा भ्रामक टिपोट सार्वजनिक भएको छ । यसले अमेरिकी संसद्को अन्तर्राष्ट्रिय समिति, गुप्तचर सेवा तथा विदेशी गुप्तचर निरीक्षण कानुनी निकायको विश्वास गुमाएको छ । यसले अझ बढी अक्षम्य कुरा त एक अमेरिकी नागरिकले गरेको वर्गीकृत अनुसन्धानलाई विवादमा तानेको छ ।”
उनले थपे, “अमेरिकी न्याय विभाग र एफ्बीआईजस्ता गुप्तचर निकायले अब केका लागि आफ्नो सेवालाई निरन्तरता दिनुपर्ने ?”
कोमीलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत वर्ष अचानक बर्खास्त गरेका थिए । उनको बर्खास्तीसँगै अमेरिकी सञ्चारमाध्यममा ट्रम्प प्रशासनको व्यापक आलोचना भएको थियो ।