वैदेशिक रोजगारीका सबै सेवा अब सातै प्रदेशबाट «

वैदेशिक रोजगारीका सबै सेवा अब सातै प्रदेशबाट

करिब दुई दशकदेखि राजधानी काठमाडौं केन्द्रित वैदेशिक रोजगारसम्बन्धी सम्पूर्ण सेवा आइतबारदेखि देशका सातै प्रदेशबाट दिन सुरु भएको छ । वैदेशिक रोजगारीमा जाने श्रमिकले लिने नयाँ, वैधानिकीकरण, व्यक्तिगत र संस्थागत श्रमस्वीकृति अहिलेसम्म काठमाडौंस्थित कार्यालयहरूले मात्र दिँदै आएका थिए । यस्तै, मेनपावरलाई दिने सेवा पनि काठमाडौं केन्द्रित थियो । आइतबारदेखि यी सबै सेवा काठमाडौंसँगै बाँकी ६ प्रदेशबाट दिन सुरु गरिएको हो ।

वैदेशिक रोजगार विभागका महानिर्देशक उमाकान्त आचार्यले सबै किसिमका श्रमस्वीकृति, मेनपावर तथा अभिमुखीकरण संस्थाका सबै काम काठमाडौंसहित सातवटै प्रदेशबाट सुरु भएको जानकारी दिए । आचार्यका अनुसार प्रदेशमा रहेका कार्यालयहरूका लागि आवश्यक कानुन बनाएर त्यसअनुसार अधिकार प्रत्यायोजन गरेपछि ६ वटै प्रदेशबाट आइतबारदेखि सेवा दिन सुरु भएको छ । यो व्यवस्थाले वैदेशिक रोजगारीमा जाने कोही पनि व्यक्ति काठमाडौं आउनुपर्ने बाध्यता अन्त्य गराएको छ ।

यसअघि नै प्रदेशस्तरका ६ वटा श्रम कार्यालयबाट पुनः श्रमस्वीकृति दिने सेवा भने सुरु भइसकेको थियो । अब नयाँ, वैधानिकीकरण, व्यक्तिगत र संस्थागत श्रमस्वीकृति र मेनपावरले गर्ने छनोट, भर्ना र कारवाही प्रक्रियाका सबै काम काठमाडौं बाहिरबाट पनि हुनेछन् । यो निर्णयसँगै हजारौं खर्च गरेर वैदेशिक रोजगारीका लागि व्यवस्था मिलाउन काठमाडौं आउनुपर्ने झन्झट हटेको छ । सरकारले वैदेशिक रोजगारीमा जाने युवा र छनोट प्रक्रियामा सहभागी मेनपावरको सहजताका लागि काठमाडौं उपत्यका बाहिरबाट समेत श्रमस्वीकृतिसहित सबै काम हुने गरी अधिकार दिएको हो ।

२०७५ देखि धनगढी, सुर्खेत, बुटवल, पोखरा, जनकपुर र विराटनगरबाट पुनः श्रमस्वीकृतिको काममात्र हुँदै आएको थियो । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि काठमाडौंबाहेक बुटवलको श्रम कार्यालयबाट श्रमस्वीकृतिका सबै काम हुँदै आएको थियो । यसबाहेक अहिलेसम्म नयाँ श्रमस्वीकृति, वैधानिकीकरण श्रमस्वीकृति र मेनपावरको अनुगमनको काम वैदेशिक रोजगार विभाग बुद्धनगर र ताहाचल कार्यालयबाट मात्र हुँदै आएको थियो ।

विभागले कात्तिकबाट धनगढी, सुर्खेत, पोखरा, जनकपुर र विराटनगमा रहेका श्रम तथा रोजगार कार्यालयलाई वैदेशिक रोजगार सम्बन्धी कार्य गर्ने गरी अधिकार प्रत्यायोजन गरेको थियो । तर, अहिलेसम्म ती स्थानबाट सबै काम हुन सकेको थिएन । वैदेशिक रोजगारीमा जाने नेपाली युवा र सोसँग सम्बन्धित सरोकारवालाको सहजताका लागि नयाँ व्यवस्था गरिएको र यसले सेवा प्रवाह सरल हुने विभागको अपेक्षा छ । यो निर्णयसँगै श्रमस्वीकृतिको काम गर्दै आएको विभागको ताहाचल कार्यालयको कार्यभार आधा घट्ने महानिर्देशक आचार्यको अनुमान छ ।

हाल काठमाडौंबाट दैनिक करिब ११ सय र अन्य कार्यालयबाट ५ देखि ६ सयको हाराहारीमा श्रमस्वीकृति जारी गर्ने क्षमता छ । वैदेशिक रोजगारीमा जाने श्रमिकका सबै प्रकारका श्रमस्वीकृति गरेर विभागले महिनाको करिब ७४ हजार जनालाई श्रमस्वीकृति दिने गरेको तथ्यांक छ । वैदेशिक रोजगार ऐन २०६४ को दफा १६ अनुुसार तोकिएको संख्यामा नबढ्ने गरी श्रमस्वीकृतिको निस्सा (स्टिकर) का लागि निवेदन लिने र श्रमस्वीकृति दिने काम प्रदेश कार्यालयबाटै हुनेछ ।

यसैगरी अब तोकिएका कार्यालयले काठमाडौंबाहिर रहेका मेनपावरको अनुगमन तथा निरीक्षणसमेत गर्नेछन् । यसअघि यस्तो कार्य वैदेशिक रोजगार विभागको बुद्धनगरमा रहेको कार्यालयले मात्र गर्दै आएको थियो । स्वास्थ्य संस्थाहरूको अनुगमन तथा नियमन भने केन्द्रले नै गर्नेछ । भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि पूर्व र अन्तिम श्रमस्वीकृतिसहित सबै सेवा काठमाडौंपछि पहिलो पटक भैरहवाबाट सुरु भएको थियो ।

यसअघि भैरहवा क्षेत्रबाट मासिक २ हजारदेखि २५ सय श्रमिकले पुनः श्रमस्वीकृतिको सेवा लिन काठमाडाैं नै आउनुपर्ने बाध्यता थियो । संस्थागत पूर्व तथा अन्तिम र व्यक्तिगत श्रमस्वीकृतिको सेवा विस्तार भएसँगै सेवा लिनेको संख्या बढ्ने विभागको अनुमान छ । विभागले श्रमस्वीकृति लिएर गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै रोजगारीका लागि विदेश जाने श्रमिकको सहजीकरणका लागि विमानस्थलभित्र वैदेशिक रोजगार सूचना तथा व्यवस्थापन कक्षसमेत खडा गरिसकेको छ ।

सरकारले ०७५ माघ २३ बाट वैदेशिक रोजगारीबाट बिदा आएका कामदारले पुनः श्रमस्वीकृति सेवाका लागि काठमाडौं आउनुपर्ने बाध्यता अन्त्य गर्न ६ प्रदेशमा सेवा विस्तार गरेको थियो । श्रम मन्त्रालयले ०७५ पुस १५ बाट प्रदेश २ र ५ बाट सुरु गरेको पुनः श्रमस्वीकृति सेवा माघसम्म सबै प्रदेशमा विस्तार गरेको थियो । प्रदेश तहमा नै सेवा विस्तार गरेपछि श्रमस्वीकृति र बिमाबाहेक नै प्रतिकामदार औसत १० हजारभन्दा बढी बचत हुँदै आएको विभागको दाबी छ ।

वार्षिक औषत ६ लाख ३० हजार नेपालीले आवेदन दिने श्रमस्वीकृतिको सेवा प्रदेश स्तरमा विस्तार भएसँगै वैदेशिक रोजगार विभाग काठमाडौं कार्यालय ताहाचलमा भिडभाड कम हुनेछ । प्रदेशमा रहेका श्रम कार्यालयबाट श्रमस्वीकृति प्रदान गर्ने बाहेक वैदेशिक रोजगारीसम्बन्धी इजाजत पाएका संस्था र तालिम एवं अभिमुखीकरण संस्थाको अनुगमन तथा नियमनको कार्यसमेत हुनेछ ।

प्रतिक्रिया दिनुहोस्