माघ १ देखि मान्द्रेढुंगाबाट प्याराग्लाइडिङको व्यावसायिक उडान

पोखराको मान्द्रेढुङ्गाबाट आगामी माघ १ गतेदेखि प्याराग्लाइडिङको व्यावसायिक उडान हुने भएको छ । यही पुस १७ गतेदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएसँगै प्याराग्लाइडिङको उडान मान्द्रेढुंगाबाट हुने भएको हो । पोखरा महानगर-२४ मा पर्ने मान्द्रेढुंगाबाट अहिले प्याराग्लाइडिङको परीक्षण उडान भइरहेको छ ।
विमानस्थल सञ्चालन आएपछि नेपाल नागरिक उडड्यन प्राधिकरणले सराङकोट, तोरिपानी र तामागी क्षेत्रमा प्याराग्लाइडिङ उडानमा रोक लगाएको थियो । मान्द्रेढुङ्गा सराङकोटबाट करिब पाँच किलोमिटर पश्चिममा पर्छ । प्याराग्लाइडिङ साहसिक गतिविधिमा रुचि राख्ने आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्दै आएको छ ।
नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष सुनिल भट्टराईका अनुसार प्राधिकरणले सराङकोटलगायतका स्थानबाट प्याराग्लाइडिङमा रोक लगाएपछि विकल्पमा मान्द्रेढुंगाबाट उडानको तयारी गरिएको हो । यसअघि सराङकोटको एक हजार चार सय ५० मिटर उचाइबाट करिब सात हजार फिटको क्यापमा प्याराग्लाइडिङ उडान भइरहेकोमा मान्द्रेढुंगाबाट भने एक हजार सात सय ४० मिटर उचाइबाट छ हजार फिट क्यापमा उडान हुनेछ ।
यसअघि पनि मान्द्रेढुंगाबाट उडान भए पनि व्यावसायिक उडान भने भएको थिएन । मान्द्रेढुंगाबाट हुने उडान पामेमा अवतरण हुनेछ । अहिले परीक्षणका क्रममा पनि पामे फाँटमा अवतरण भइरहेको छ । मान्द्रेढुंगाबाट व्यावसायिक उडानअघि प्यारापाइलट र प्याराग्लाइडिङ व्यवसायीलाई सुरक्षा र अन्य आधारभूत विषयमा एकदिने प्रशिक्षण गोष्ठी सञ्चालन गरिसकेको छ ।
करिब एक दशकदेखि व्यावसायिक उडान गर्दै आएका प्यारापाइलट माधव तिवारीले नयाँ ठाउँमा सिधैँ उडान गर्दा हावाको वहावको दिशा, उडान सहजता र सुरक्षा अवस्था परीक्षण उडानबाट जानकारी लिइरहेको बताए । उक्त स्थानबाट पनि पोखरा र आसपासका सुन्दर हिमशृङ्खला, तालतलैया र प्राकृतिक सुन्दरतालाई अवलोकन गर्न सकिने छ ।
हाल पोखरामा करिब ६० वटा प्याराग्लाइडिङ कम्पनी छन् भने ५० वटा अहिले सञ्चालनमा छन् । त्यसैगरी तीन सय ७६ जनाले प्यारापाइलटले उडान अनुमति लिएका छन् भने व्यावसायिक रुपमा दुई सय ५० जनाले उडान गरिरहेका छन् । पोखराको प्याराग्लाइडिङमा एक अर्ब रुपैयाँ बराबरको लगानी रहेको बताइएको छ ।