Logo

नबिल एसएसईको पहिलो फेलोसिप सम्पन्न, उद्यम र उद्यमी बन्न चाहनेलाई सहयोग

नबिल बैंकले सामाजिक उद्यमशीलता विकासका लागि अघि बढाइएको नबिल एसएसईको पहिलो चरणको फेलोसिप कार्यक्रम सम्पन्न गरेको छ । बैंकले विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत स्कुल अफ म्यानेजमेन्टसँगको सहकार्य र स्कुल फोर सोसल आन्टरप्रेनर्स इन्डियाको प्राविधिक सहयोगमा गत वर्षदेखि यो कार्यक्रम सञ्चलनमा ल्याएको हो ।

शुक्रबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा कार्यक्रमको आयोजना गर्दै फेलोसिप कार्यक्रममा सहभागी भएका पहिलो ब्याचका १८ जनालाई बिदाइ गरेको हो । त्यसैगरी दोस्रो ब्याचका लागि छनौट भएका २० जनालाई पनि स्वागत गरेको हो । बैंकले पहिलो ब्याचमा विभिन्न क्षेत्रमा नवीनतम सोच भएका २० जनालाई छनौट गरेको थियो ।

तर, १८ जनाले मात्रै उक्त कार्यक्रमलाई पूर्णता दिएका थिए । जसमध्ये १३ जनाले आफ्नो व्यवसायलाई सञ्चालन गरी सेवा र सामाग्री बजारमा प्रवेश गरिसकेका छन् । कार्यक्रममा सहभागीले आफ्ना प्रोडक्टको स्टलमा प्रदर्शनी गरेका थिए । त्यसैगरी दोस्रो चरणको कार्यक्रम सञ्चालनका लागि नबिल बैंक र त्रिवीबीच फेरी सम्झौता भएको छ ।

सम्झौता पत्रमा बैंकका तर्फबाट सिइओ ज्ञानेन्द्र ढुंगाना र उपाध्यक्ष निर्वाण चौधरी तथा त्रिवीका तर्फबाट उपकुलपति प्राडा धर्मकान्त बास्कोटा र प्राडा डिन डिल्लीराज शर्माले हस्ताक्षर गरेका हुन् । कार्यक्रममा बैंकका उपाध्यक्ष चौधरीले नबिल बैंक उद्यम र उद्यमी बन्न चाहनेहरुको लागि सहयोग गर्न तत्पर रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्