मिडिया काउन्सिल विधेयक फिर्ता गर्न माग «

मिडिया काउन्सिल विधेयक फिर्ता गर्न माग

धनगढी-नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशको प्रथम साधारणसभाले नेपाल सरकारले संघीय संसद्मा दर्ता गराएको मिडिया काउन्सिल विधेयक अविलम्ब खारेज गर्न जोडदार माग गरेको छ । मुलुक संघीय संरचनामा गएसँगै पत्रकार महासंघ समेत संघीय ढांचामा प्रवेश गरेपछि असार ६ र ७ गते धनगढीमा पहिलो साधारणसभा भएको छ ।
साधारण सभामा सुदूरपश्चिम प्रदेशका सबै जिल्लाका प्रदेश पार्षद, जिल्ला अध्यक्ष, केन्द्रिय महासचिव रमेश विष्ट, केन्द्रिय कोषाध्यक्ष राजेश मिश्र, महासंघको सुदूरपश्चिम प्रदेशवाट प्रतिनिधित्व गर्ने केन्द्रिय सदस्यहरु, महासंघका पूर्व पदाधिकारीहरु समेतको उपस्थितिमा सो घोषणापत्र जारी गरिएको छ । महासंघको प्रथम सुदूरपश्चिम साधारणसभाले सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने गरी संघीय संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयक तत्काल खारेज गर्न माग गरेको छ । त्यस्तै, संविधानको मर्म र भावना विपरित प्रेस स्वतन्त्रता र अभिव्यक्ती स्वतन्त्रता कुण्ठित गर्ने कुनै पनि प्रकारका नीति तथा कानुन नल्याउन चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्