अमेरिका र मेक्सिको द्विपक्षीय सुरक्षा योजनामा सहमत «

अमेरिका र मेक्सिको द्विपक्षीय सुरक्षा योजनामा सहमत

संयुक्त राज्य अमेरिका र मेक्सिको द्विपक्षीय सुरक्षा योजनालाई संयुक्त रूपमा अघि बढाउन सहमत भएका छन् ।
हाल मेक्सिकोको भ्रमणमा रहेका अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सन र मेक्सिकोका विदेशमन्त्री लुइस विदेगारीबीच सो सहमति भएको हो ।
हालै मात्र मेक्सिको पुगेका अमेरिकी विदेशमन्त्री टिलर्सनले मेक्सिकोका विदेशमन्त्री लुइससँग द्विपक्षीय भेटवार्ता गरेका थिए ।
सो भेटका क्रममा उनीहरूबीच विशेष गरी दुई देशको सुरक्षा चासोका विषयमा कुराकानी भएको थियो । यी दुई देशको सिमाना जोडिएकाले सुरक्षा चासोमा वार्ता केन्द्रित हुनु स्वाभाविकै हो ।
सन् २०१६ मा भएको अमेरिकी राष्ट्रपति निर्वाचनका बेला पनि वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँगको सीमाक्षेत्रमा अमेरिकाले पर्खाल लगाउने कुरा आफ्नो चुनावी एजेन्डाका रूपमा अघि सारेका थिए ।
ट्रम्प राष्ट्रपति भएको पनि एक वर्ष पूरा भएको छ, तर पर्खाल लगाउने भन्ने उक्त एजेन्डाको सुरुवात भने भएको छैन । त्यसो त उनी राष्ट्रपति भएपछि पनि पहिलो पटक मेक्सिकोमा उच्चस्तरको भ्रमण भइसकेको छ ।
भेटवार्ताका क्रममा अमेरिकी विदेशमन्त्री टिलर्सनले नै दुई देशबीचको एकीकृत सुरक्षा योजनाको कुरा उठाएका थिए ।
त्यस योजनालाई द्विपक्षीय रूपमा अघि बढाइने र एकसाथ कार्यान्वयनमा ल्याइने सहमति सो वार्तामा भएको बताइएको छ ।
त्यस भेटका क्रममा उनीहरूबीच अन्य द्विपक्षीय हित र मध्य अमेरिकी देश मेक्सिकोको विकासका बारेमा पनि आवश्यक मात्रामा कुराकानी भएको बताइएको छ ।
अमेरिकी विदेशमन्त्री टिलर्सन विभिन्न पाँचवटा ल्याटिन अमेरिकी देशको भ्रमणको सिलसिलामा शुक्रबार मेक्सिको पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस्