पुल ठेक्का लिँदै, अलपत्र छोड्दै ठेकेदार «
Logo

पुल ठेक्का लिँदै, अलपत्र छोड्दै ठेकेदार

जुनीचाँदे गाउँपालिका–४ र छेडागाड नगरपालिका–६ जोड्ने कालेखोलामा पुल निर्माणमा ढिलाइ भएको छ । ठेकेदारको लापरबाहीका कारण पुल निर्माणमा ढिलाइ भएको हो । गत चैतदेखि नै पुल निर्माण गर्ने भनेको ठेकेदारले पुसको अन्तिम हुँदासम्म कामको सुरुवात गरेको छैन । जय बागेश्वरी बाँके नेपालगन्जले १८ चैत २०७८ मा पुल निर्माणको ठेक्का लिएको थियो ।

उक्त कम्पनीले आठ करोड ९० लाखमा सडक डिभिजन कार्यालय रुकुमपश्चिम चौरजहारीसँग ठेक्का लिएको हो । ७० मिटर लम्बाइ र साढे सात मिटर चौडाइको मोटरेबल पुल २१ महिना (१७ चैत २०८०) भित्र सम्पन्न गरिसक्नुपर्नेछ । तर ठेक्का लिएको नौ महिनासम्म ठेकेदारले पुल निर्माण सुरु गरेको छैन । नौ महिनासम्म पनि पुल निर्माणको काम सुरु हुन नसकेको सडक डिभिजन कार्यालय चौरजहारीले जनाएको छ ।

सडक डिभिजन कार्यालयले गत २० जेठमा नै इन्जिनियरको नेतृत्वमा ठेकेदार कम्पनीलाई साइट देखाउने काम गरिसकेको छ । त्यतिबेला ठेकेदार कम्पनीले तोकिएकै समयमा काम सुरु गर्ने बताएका थिए । तर समयमै पुल निर्माण सुरु गर्नुको सट्टा ठेकेदार नवीन श्रेष्ठ भने मंसिरदेखि सम्पर्कविहीन छन् । उनी सडक डिभिजन कार्यालय चौरजहारी र जुनीचाँदे गाउँपालिकाको सम्पर्कमा आएका छैनन् । सडक डिभिजन कार्यालय चौरजहारीले पुल निर्माणका लागि पटक–पटक ताकेता गर्दै आएको छ ।

“पटक–पटक पत्र काटेर काम सुरु गर्नु भनेका छौं,” सडक डिभिजन कार्यालय चौरजहारीका प्रमुख आशुतोष कर्णले भने, “तर ठेकेदार कम्पनी सम्पर्कमा आएको छैन ।” तोकिएकै समयमा पुल निर्माण सुरु नभएपछि स्थानीयवासी आक्रोशित बनेका छन् । “ठेक्का लाग्नसाथ पुल निर्माण सुरु गर्छु भनेको थियो,” जुनीचाँदे–४ का वडाध्यक्ष हरिबहादुर खड्काले भने, “तर नौ महिना बितिसक्दा पनि काम सुरु भएन ।” सुरुमा ठेकेदारले समयमै काम गर्ने भन्दै वडा कार्यालयले सहयोग गर्नुपर्ने बताएका थिए । “ठेकेदार स्वयंले नै आवश्यक सहयोग गर्नुपर्‍यो भन्थे, हप्ता दिनमा काम सुरु गर्छु भनेका थिए,” वडाध्यक्ष खड्काले भने, “तर सामानको चाँजोपाँजो मिलाउँदैछु भन्दाभन्दै नौ महिना कटाइसक्यो ।”

असोजपछि भने काम गर्न नसक्ने भन्दै ठेकेदार सम्पर्कविहीन भएको छ । असोजअघि ठेकेदारले वर्षामा आउने बाढीले पुल निर्माणका लागि खोलामा बिच्छ्याउने छड, पाइपलगायतका सामग्री बगाउँछ भन्दै काममा ढिलाइ गरेका थिए । असोजपछि भने पिल्लर निर्माण गर्ने स्थानमा समस्या भएको बहाना बनाउँदै आएका छन् । कालेखोलामा पक्कीपुल नहुँदा स्थानीयले सास्ती खेप्दै आएका छन् । पुल नभएकै कारण असारदेखि असोजसम्म सवारीसाधन खोला पार गर्न सक्दैनन् ।

दुईपटक पत्र काट्यौं अब सम्झौता तोड्छौं

समयमै कालेखोला पुल निर्माण सुरु नगरेपछि सडक डिभिजन कार्यालय चौरजहारीले जय बागेश्वरी बाँके नेपालगन्जसँग सम्झौता तोड्ने चेतावनी दिएको छ । दुईपटक पत्र काट्दा पनि बेवास्ता गरेका कारण छिट्टै सम्झौता तोडेर निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने तयारी भएको कार्यालयले जनाएको छ ।

“छिटो काम सुरु गर्नु भन्दै मंसिर र चैतमा गरेर दुई पटक पत्र काटिसक्यौं तर ठेकेदारले वास्ता गरेन,” सडक डिभिजन कार्यालय चौरजहारीका प्रमुख आशुतोष कर्णले भने, “अब सम्झौता तोडेर कालोसूचीमा राख्न सिफारिस गर्छाैँ ।” कार्यालयले मंसिरको पहिलो हप्तादेखि नै काम सुरु गर्न भन्दै पत्र काटेको थियो । पहिलोपटक मंसिरमा १० दिनको म्याद दिएर काम सुरु गर्न पत्र काटेको थियो । तर त्यतिबेला ठेकेदारलाई नै लिएर कार्यालयको टोली पुल निर्माणस्थल पुगको थियो ।

कार्यालयबाट इन्जिनियर प्रज्ज्वल सुनारको नेतृत्वमा प्राविधिक टोली पुल निर्माणस्थलमै पुगेर पुल बनाउनुपर्ने स्थान र अवस्थाबारे ठेकेदारलाई बुझाएर फर्किएको थियो । तर ठेकेदारले अर्को कामका लागि आएको जेसीबीलाई आफ्नो काम गर्न आएको भनी भ्रम पारेर ढाँट्ने काम गरेका थिए । पुससम्म कुर्दा पनि पुल निर्माणको काम सुरु नगरेपछि कार्यालयले पुनः पुसमा पत्र काटेर ताकेता गरेको छ ।

दश दिनको म्याद राखेर पत्र काटे पनि अहिलेसम्म ठेकेदार सम्पर्कमा आएका छैनन् । मंसिरपछि ठेकेदारले फोन नै रिसिभ नगरेको कार्यालयले जनाएको छ । ताकेता पत्रको म्याद गुज्रिसकेका कारण अब तत्काल ठेक्का तोड्ने र ठेकेदार कम्पनीलाई कालोसूचीमा राख्नका लागि प्रक्रिया अगाडि बढाउने कार्यालयको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्