पथलैया–वीरगन्ज ६ लेन सडक «

पथलैया–वीरगन्ज ६ लेन सडक

पथलैया—वीरगन्ज औद्योगिक करिडोरमा निर्माणाधीन वीरगन्ज पथलैया ६ लेनको व्यापारिक सडक मार्गमा १० वटा आकासे पुल निर्माण गरिने भएको छ । ट्राफिक प्रहरी, सरोकारवाला, जनप्रतिनिधि र उद्योगीले सर्वसाधारण यात्रुको सुरक्षालाई ध्यानमा राख्न माग गरेपछि आयोजनाले आकासे पुल निर्माणमा चासो देखाएको हो ।

१० वटा आकासे पुल बनाइने

करिडोरभित्र पर्ने बजारका ६ लेनको व्यापारिक मार्ग सञ्चालनमा आएपछि उद्योगका मजदुर र बजारको चापलाई ध्यान लिँदै आकासे पुलबारे अध्ययन गर्न सर्वे थालेको छ । आगामी आर्थिक वर्षको भदौदेखि नै पुल निर्माणका लागि कागजी प्रक्रिया अघि बढ्ने पथलैया—वीरगन्ज व्यापारिक मार्ग योजनाले जनाएको छ । सडक विभागका दुई प्राधिधिकले पथलैयादेखि वीरगन्जसम्मको सडकको सुक्ष्म अध्ययन र सर्भे गर्ने काम सुरु गरेको आयोजनाका प्रबन्धक सञ्जयकुमार मिश्रले बताए ।
मुलुकको मुख्य नाका वीरगन्जबाट हुने आयात–निर्यात र औद्योगिक उत्पादनको सहज ढुवानीका लागि बाराको पथलैयादेखि वीरगन्जसम्म २७ किलोमिटर ६ लेनको व्यापारिक मार्ग विस्तार गरिएको हो । व्यापारिक मार्ग ५० मिटर फराकिलो र सडकको बीचबाट ११ र ११ मिटर दायाँबायाँ ६ लेनको मुख्य सडक निर्माण हुने छ भने दुवैतर्फ साढे ३ मिटरको ग्रिन बेल्ट र साढे ५ मिटरमा दुईतर्फी सर्भिस लेन रहने डिजाइनअन्तर्गत काम भइरहेको छ ।
मिश्रले बढी चाप हुने पथलैया, सिमरा, जितपुर, परवानीपुरसहित मजदुरले प्रयोग गर्ने ठाउँमा अध्ययन भइरहेको बताए । उनले पहिलो चरणमा सडकको काम सम्पन्न भएपछि आकासे पुलको काम दोस्रो चरणमा हुने जानकारी दिए ।
करिडोरको मुख्य सडकमा जोडिएका उद्योगबाट उत्पादित सामानहरू लोड गर्न करिब १ हजार सवारी साधन दैनिक प्रवेश गर्ने र उद्योगको कच्चा पदार्थ बोकेर भारत तथा नेपालका विभिन्न स्थानबाट आएका सयौं सवारीले निर्माणाधीन व्यापारीक मार्गनै प्रयोग गर्ने भएकाले सवारी साधनको अत्यधिक बेग हुने गर्दा मानवीय क्षती रोक्न योजनाले पछिल्लो चरण आकाशे पुल आवश्यक पर्ने महसुस गरी सोहीअनुसारको तयारी गरेको हो । आगामी साउनसम्म स्थान, संख्या र डिजाइन सम्पन्न हुने र अन्य प्रक्रियामा जानेसमेत योजनाले जनाएको छ ।
उद्योगका लागि आयोजनाले ठाउँठाउँमा प्रवेश स्थान बनाउने भए पनि उद्योगीले भने जस्तो प्रत्येक गेटैपिच्छे व्यवस्था मिलाउन सम्भव नहुने र सडकको नालामा उद्योगको रसायनयुक्त पानी प्रयोगमा ल्याउन पूर्ण बन्देज लगाइने मिश्रले बताए । वीरगन्ज उद्योग वाणिज्य संघले गत बिहीबार आयोजना गरेको सरोकारवालासँगको अन्तक्र्रिया कार्यक्रममा उद्योगीले सडक र नालाको डिजाइनमा देखिएको त्रुटी तत्कालै सम्बोधन गर्नुपर्ने आग्रह गरेका थिए ।
पथलैयादेखि वीरगन्जसम्मै पुरै करिडोरमा मुख्य सडकसँगै जोडिएका १ हजारभन्दा बढी उद्योग सञ्चालनमा छन् । व्यापारिक मार्ग भएकाले मुख्य लेन र सर्भिस लेनको बीचमा अवरोध नराख्दा सहज हुने उद्योगीहरू बताउँछन् । पथलैया वीरगन्ज व्यापारिक मार्ग निर्माण २०७३ असारमा सुरू भएको थियो । दुई वर्षभित्रै बन्नुपर्ने ६ लेनको व्यापारिक मार्ग तीन वर्ष बित्दा पनि ४० प्रतिशत मात्र काम भएको र यही गतिमा काम भए अझै ५ वर्ष लाग्ने सरोकारवालाले चासो राख्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्