पश्चिमसेती जलविद्युत् आयोजना यथाशीघ्र कार्यान्वयन गर्न दबाब

सुदूरपश्चिमाञ्चल सरोकार मञ्चले पश्चिमसेती जलविद्युत् योजना यथाशीघ्र सञ्चालन गर्न सरकारलाई दबाब दिने भएको छ । सरकारले आयोजना निर्माणमा तदारुकता नदेखाए ७ नं. वासी आफैंले सो आयोजना निर्माणतर्फ कदम चाल्ने सरोकार मञ्चले जनाएको छ ।
सरोकार मञ्चका उपाध्यक्ष बहादुर विष्टको नेतृत्वमा सरोकार मञ्चका संस्थापक अध्यक्ष तथा पूर्वप्रहरी महानिरीक्षक मोतीलाल बोहरा, पूर्वअध्यक्ष तथा पूर्वस्वास्थ्य महानिर्देशक डा. बीडी चटौत, सरोकार मञ्चका कार्यकारी समिति सदस्य तथा पदाधिकारीले आइतबार लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतलगायतका पदाधिकारीलाई भेटेर उपरोक्त योजना सम्पन्न गर्न अनुरोध गरेको छ ।
भेटमा १९९४ देखि पश्चिमसेती जलविद्युत् योजनाबाट लाभ लिन लालायित ७ नं. प्रदेशका ३० लाख जनता र नेपालका ३ करोड नेपालीको जीवनस्तर उकास्ने सपनाको परियोजना यथाशीघ्र निर्माण गरी देशमा व्याप्त गरिबी तथा पछ्यौटेपन हटाउन मञ्चले आग्रह गरेको छ ।
७ नं. प्रदेशका जनताको जीवनस्तर उकास्ने बहुप्रतीक्षित परियोजना निर्माण गर्न अझै केही समय ढिलाइ हुने भन्ने बुझिएकाले यदि विदेशी लगानीबाट सम्पन्न हुन नसक्ने अवस्था सिर्जना भए स्वदेशी लगानीबाट बनाउन लगानी बोर्डलाई मञ्चले आग्रह गरेको छ । स्वदेशी स्रोत जुटाउने कार्यमा स्थानीय निकाय, जनतालगायत बैंक तथा वित्तीय स्रोतसमेतको उचित परिचालन गरी निजी क्षेत्रको समेत सहभागी गराउन सकिने भएकाले सोअनुसार योजनाको निर्माण प्रक्रिया यथाशीघ्र सुरु गर्न सरोकार मञ्चले आग्रह गरेको कार्यकारी सदस्य पुष्पराज भट्टे बताए ।