पहिरोबाट विस्थापितलाई घर «

पहिरोबाट विस्थापितलाई घर

दुई वर्ष अगाडि पहिरोबाट विस्थापित परिवारका लागि घर बन्ने भएको छ । पहिरो गए यता भत्किएको घर र पालमा आधा–आधा समय बिताइरहेका पाँचथरको फालेलुङ गाउँपालिका–३ र ४ का पहिरो पीडितले नयाँ घर पाउने भएका छन ।
२०७४ साउन पहिलो साता गएको पहिरोका कारण फालेलुङ–३ र ४ मा झरेको पहिरोमा परी घर छोड्न बाध्य बनेका दिउँसो पालमा र राती सोही पहिरोमा परी जीर्ण बनेको घरमा बस्दै आएका थिए ।
गाउँपालिकाको अगुवाइमा वडा नम्बर ६ मा रहेको सुरक्षित स्थानमा ती घर निर्माण भएका छन् । यी घरहरू पहिलो चरणमा निर्माण भएका हुन् । पहिरोले गाउँ नै विस्थापनमा परेपछि सुरु भएको निर्माणकार्य पहिलो चरणमा पूरा भएको हो । पीडित मध्येका पहिलो आवश्यकता भएकालाई ती घर दिन लागिएको छ ।
पहिरोमा परी ४८ परिवार विस्थापनमा परेका थिए । उनीहरूमध्ये करिब २५ परिवारलाई तत्काल घर आवश्यक छ । गाउँपालिकाका अनुसार फालेलुङ गाउँपालिकाको मांलेबुङ गाउँका ३ घर पूरै पालमा छन् भने खोलाघारी गाउँका २२ घर पाल र भत्किएको घर प्रयोग गर्दैछन् । आवश्यक प्रक्रिया पूरा गरेर औपचारिक कार्यक्रमको आयोजना गर्दै घर हस्तान्तरण गर्न लागिएको छ ।
उनीहरूमध्ये १५ परिवारका लागि घर तयार भएका छन् । उनीहरूले चिट्ठा तानेर घर पाउने भएका छन् । पहिलो चरणमा पहिरो पीडितको ब्यवस्थापनका लागि थालिएको एकीकृत बस्तीअन्तर्गत १५ परिवारले घर पाउँदैछन् । गाउँपालिकाका अध्यक्ष शञ्चकुमार केरुङले भने–कुन घर कसलाई दिने भन्ने विवाद हुने भएकाले एकदेखि १५ सम्मको चिट्ठा बनाएर सबैलाई उठाउन लगाउने तयारी गरेका छौं ।
एकीकृत बस्ती निर्माणका लागि हालसम्म ८७ लाख रुपैयाँ खर्च भइसकेको छ । पहिलो वर्ष गाउँपालिकाको १७ लाख विनियोजन पछि काम सुरु भएको हो । सोही वर्ष प्रदेश सरकारका तर्फबाट ५० लाख रुपैयाँ प्राप्त भएको प्रमुख प्रशासकीय अधिकृत मौसम ढुंगेलले जानकारी दिए ।
यो वर्ष थप १० लाख रुपैयाँ गाउँपालिकाले विनियोजन गरेको थियो । सोही बस्तीको ढल निकासका लागि विनियोजित १ लाख रुपैयाँसंगै हालसम्म ८७ लाख रुपैयाँ खर्च देखिएको हो । बस्ती अझै पूरा भने भएको छैन । पानी पर्न थालेपछि अहिले पनि स्थानीय त्रासमा हुने पदम राईले बताए । हामी पूर्ण सुरक्षित हुन सकिरहेका छैनौं । -दिपक बोहोरा

प्रतिक्रिया दिनुहोस्