अलैंचीको मूल्य नपाउँदा कृषक निराश

लमजुङमा व्यावसायिक अलैंची उत्पादनमा वृद्धि भए पनि मूल्यमा आएको गिरावटले कृषकहरू निराश भएका छन् । प्रत्येक वर्ष अलैंचीको मूल्यमा आएको गिरावटले कृषकहरूमा निराशा छाएको हो । जिल्लाको उत्तरी भेगमा अलैंचीको राम्रो सम्भावनासँगै उत्पादन पनि व्यापक हुन थालेपछि विदेसिएका युवा पनि गाउँमै व्यावसायिक अलैंची उत्पादन गर्दै आएका थिए ।
तर पछिल्ला वर्षमा अलैंचीको मूल्यमा आएको गिरावटले व्यवसायतर्फ नै आकर्षण घट्दै गएको मस्र्याङ्दी–५ सन्जापुका कृषक कामराशी गुरुङले बताए । सञ्जापुमा गत वर्षको तुलनामा यस वर्षमात्रै अलैंची उत्पादन दोब्बर वृद्धि भएको गुरुङको भनाइ छ । गत वर्ष ६५ क्विन्टलको हाराहारीमा अलैंची उत्पादन भएकोमा यस वर्षमात्रै १ सय १३ क्विन्टल अलैंची उत्पादन भएको थियो ।
गुणस्तरीय अलैंची उत्पादन वृद्धि भए पनि मूल्य गिरावटले व्यावसायिक कृषक उत्साहित हुन नसकेको कृषक समूहका अध्यक्षसमेत रहेका गुरुङले जानकारी दिए । अलैंचीको व्यावसायिक खेतीसँगै यसको प्रवर्द्धनका निम्ति जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाअन्तर्गत अलैंची जोन कायम भएको छ । तर उत्पादित अलैंचीको उचित मूल्य प्राप्ति र गुणस्तरीय अलैंचीका लागि परियोजनासँगै स्थानीय सरकारले समेत थप प्राथमिकता राख्नुपर्ने कृषकहरूको धारणा छ ।
अलैंचीको बजारीकरणसँगै अन्य स्रोत साधनको समेत व्यवस्थापनमा सहयोग जुटाउन सके मूल्य नपाएर निराश बनेका कृषकलाई राहत मिल्ने कृषकहरूले बताएका छन् । सञ्जापुसँगै जिल्लाका अन्य क्षेत्रमा पनि अलैंचीखेतीतर्फ पछिल्लो वर्ष कृषकको आकर्षण घट्न थालेको छ । अलैंचीको मूल्यमा आएको गिरावट, विभिन्न रोग प्रकोपको आक्रमणका कारण अलैंची कृषक निराश हुन थालेका हुन् ।
जिल्लामा उत्पादित अलैंचीको निश्चित बजार नहुँदा बजार खोज्नुपर्ने झन्झट, उत्पादनका बेला मूल्य घटाउने विचौलियाको चलखेल र रोग प्रकोप लागेका बिरुवामा उचित उपचार नपाएपछि व्यवसायीहरू पेसाबाटै पलायन हुन लागेका हुन् । कुनै समय लमजुङमा उत्पादित अलैंची नेपालकै नमुना अलैंचीको रूपमा चिनाउन सफल भए पनि पछिल्लो वर्षमा पहिलाकै तुलनामा अलैंची उत्पादन हुन नसकेको अलैंची व्यवसायी महासंघ लमजुङले जनाएको छ ।
अलैंची उत्पादनसँगै जिल्लामा व्यावसायिक रूपमा अलैंचीका बिरुवा पनि उत्पादन हुँदै आएको थियो । तर पछिल्ला वर्षमा अलैंची बिरुवा पनि खासै उत्पादन हुनसकेको छैन । अघिल्ला वर्षहरूमा जिल्लाका नर्सरीमा उत्पादित अलंैची बिरुवा अन्य जिल्लामा समेत निर्यात हुने गरेको थियो । तर अहिले निर्यात हुनेगरी अलैंची बिरुवा उत्पादन हुन छोडेको छ । लमजुङको १२ सय मिटरभन्दा माथिल्लो भागमा व्यावसायिक अलैंचीखेती हुने गरेको छ ।
जिल्लामा करिब १५ सय हेक्टर क्षेत्रफलमा व्यावसायिक अलैंचीखेती हुँदै आएकोमा पछिल्लो समय कृषकहरू अलैचीखेतीतर्फ आकर्षण कम हुँदै गएको छ । साविकका वर्षको तुलनामा गतवर्ष जिल्लामा अलैंची न्यून उत्पादन भएको थियो । मौसम अनुकूल नहुँदा उत्पादन कम भए पनि गत वर्षको तुलनामा यसवर्ष केही बढी उत्पादन भएको अनुमान गरिएको छ । दशकअघि प्रतिकेजी २५ सयसम्म रहेको अलैंचीको हालको मूल्य गिरावट भई प्रतिकेजी ६ सयसम्म झरेको छ ।