पर्यटक तान्दै पातालभूमेश्वर

बैतडी । धार्मिक एव्म पर्यटकीय रूपमा परिचित सुदूरपश्चिमको बैतडी जिल्लामा थुप्रै पर्यटकीय सम्भावना बोकेका क्षेत्रहरू छन् । ती मध्येको एक हो पातालभूमेश्वर क्षेत्र । जिल्लाको सुर्नया गाउँपालिका र पाटन नगरपालिकाको बीचमा चारैतिर घना जंगल, बीचमा रमणीय ताल र एसियाकै लामो गुफाका रूपमा परिचित पातालभूमेश्वर क्षेत्रमा पछिल्लो समय पर्यटकहरू आउन थालेका छन् ।
मुख्यगरी उक्त क्षेत्र देशका विभिन्न जिल्लाहरूबाट शैक्षिक अवलोकन भ्रमण गर्ने आउने विद्यार्थीको आक्रषण केन्द्र बन्न थालेको छ । धार्मिक एवंं पुरातात्विक विषयलाई झल्काउने थुप्रै ठाउँ र वस्तुहरू भएकाले पनि उक्त क्षेत्र विद्यार्थीका लागि आकर्षणको केन्द्र बन्न थालेको होे । खासगरी पातालभूमेश्वर क्षेत्रमा रहेको एसियाकै गहिरो गुफा पर्यटकहरूको मुख्य रोजाइको केन्द्र बन्ने गरेको छ ।
फ्रान्सेली गुफाविशेषज्ञ मोरिस दुसेन नेतृत्वको टोलीले गरेको प्रारम्भिक अध्ययनअनुसार पातालभूमेश्वर गुफा १ सय ६५ मिटर गहिरो र ८ सय मिटर लामो छ । तीन वर्षअघि गुफाविशेषज्ञ दुसेन नेतृत्वको टोलीले गुफाको प्रारम्भिक अध्ययन गरेको थियो । दुसेनले पनि गुफाको अन्त्यसम्म जान नसकेकाले गुफा एसियाकै गहिरो भएको दाबी गरेका थिए । दुसेन ८ सय मिटरसम्म भित्र पसेका थिए । यो गुफाको लम्बाइ अझै धेरै हुन सक्ने गुफाविशेषज्ञ टोलीको अनुमान छ ।
गुफाको भित्र विभिन्न किसिमका मूर्तिहरू पनि छन् । यसअघि तनहुँको बन्दिपुरस्थित ६५ मिटर गहिराइको सिद्ध गुफालाई नेपालको सबैभन्दा ठूलो र गहिरो गुफाको रूपमा मानिँदै आएको थियो । दुसेनले पातालभूमेश्वर गुफाको अवलोकन गरेपछि यसैलाई एसियाको गहिरो गुफा मानिने गरिन्छ ।
गुफा संरक्षणमा विदेशिएका युवाको सक्रियता
पातालभूमेश्वर क्षेत्र र उक्त ठाउँमा रहेको प्रशिद्ध गुफा, ताल र मन्दिर संरक्षणका लागि रोजगारीका लागि विभिन्न देशमा रहेका नेपाली युवाहरूले सक्रियता देखाएका छन् । स्थानीय तह निर्वाचनपछि उक्त क्षेत्रको विकास हुने आश गरेका युवाहरूले कुनै निकायबाट पहल नभएपछि आफैं जुटेका हुन् ।
पछिल्लो समय यहाँका विदेसिएका युवाहरूले पातालभूमेश्वर युवा जनजागरण मञ्च गठन गरी विभिन्न सामाजिक सञ्जालमार्फत आर्थिक सहयोग संकलनमा जुटेका हुन् । “भारत, मलेसिया, दुबई, कतार लगायतका देशहरूमा रोजगारीका लागि आएका हामी युवाहरूले आफ्नो क्षेत्रको पर्यटकीय विकासमा जनप्रतिनिधिहरूले चासो नदेखाएपछि आफंै आर्थिक सहयोग सकलननमा लागेका हौं,” युवा जनजागरण मञ्चका सदस्य लोकेन्द्र विष्टले भने ।
पातालभूमेश्वर युवा जनजागरण मञ्चले अहिलेसम्म ४ लाख बन्दा बढी रकम संकलन गरी पठाएका छन् । उक्त रकमले पातालभूमेश्वर क्षेत्रको प्रवेशद्वारमा गेट बनाउन लागिएको छ । “हामै्र भाइ, छोरा, भतिजाहरूले विदेशमा दुःख गरी संकलन गरेको रुपैयाँबाट अहिले मूल गेट बनाउन लागेका छौँ,” स्थानीय बिरुवा टमाटाले भने । उक्त क्षेत्रमा विवाह, ब्रतबन्ध, यज्ञ लगायतका अन्य धार्मिक कार्य हुनुका साथै महाशिवरात्रीको अवसरमा यस क्षेत्रमा भव्य मेला पनि लाग्ने गर्दछ ।
यहाँको रमणीय ठाउँ अवलोकनका लागि विभिन्न जिल्लाहरूबाट विद्यार्थीहरू अवलोकन भ्रमणमा आउने गर्छन् । खासगरी गुफा र तालको करिब पाँच सय मिटरमाथि घना जंगलको बिचमा रहेको भ्यूटावर डाँडा विद्यार्थीको मुख्य रोजाइमा पर्ने गरेको छ । विद्यार्थीको शैक्षिक विकासका लागि भ्रमण अनिवार्य भएकाले बैतडीको पातालभूमेश्वर गुफा र देशका अन्य क्षेत्रमा रहेका यस्तै ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रका भ्रमण गराई उनीहरूलाई ज्ञान आर्जनमा सजिलो गराउनुपर्ने डडेल्धुराको जनता माध्यमिक विद्यालयबाट पातालभूमेश्वर क्षेत्र अवलोकनका लागि आएका शिक्षक भरतराज पाठकको भनाइ छ ।
-नरी बडु