Logo

बूढीगण्डकी निर्माण अघि बढेको छ : ऊर्जा मन्त्री

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले १२ सय मेगावाटको बूढीगण्डकी जलविद्युत् आयोजनाको निर्माण कार्य अघि बढेको बताएका छन् ।
मंगलबार बसेको संसद्को सार्वजनिक लेखा समितिको बैठकमा ऊर्जामन्त्री पुनले बूढीगण्डकी जलविद्युत् आयोजनाको मुआब्जा वितरणलगायतका काम अघि बढेको बताएका हुन् । चिनियाँ कम्पनी गेजुवासँग सरकारले सम्झौता गरे पनि काम अघि नबढेको र आयोजना बनाउनका लागि प्रतिलिटर पेट्रोलमा लगाएको ५ रुपैयाँ उठाएर जम्मा भएको करिब ३० अर्ब रकमबारे प्रश्न उठेपछि लेखा समितिको बैठकमा उनले सोही रकमनै बूढीगण्डकीको मुआब्जामा खर्च गरेको बताए । उनले हालसम्म बूढीगण्डकीको मुआब्जाका लागि २५ अर्ब रूपैयाँ खर्च भइसकेको जानकारी दिए । मन्त्री पुनका अनुसार २०७३ जेठ १६ देखि हालसम्म ५ रुपैयाँका दरले ३० अर्ब रुपैयाँ संकलन भएको छ ।
बैठकमा सांसदहरूले डेडिकेटेड÷ट्रंकलाइनको विद्युत् बक्यौताबारे पनि प्रश्न उठाएका थिए । मन्त्री पुनले यसबारे प्राधिकरण सञ्चालक समितिले यसबारे छानबिनका लागि समिति बनाएको भन्दै प्रतिवेदन आएपछि थप बोल्ने बताए । वक्यौता उठाउनमा मन्त्रालय र प्राधिकरणको गल्ती भएको स्वीकार्दै उनले पहिलाका मन्त्री, प्राधिकरण प्रमुखलगायतले पनि यसमा वास्ता नगरेकाले अहिले समस्या आएको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्