विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आइतबारदेखि विधिवत् रूपमा सञ्चालनमा आएको छ । विमानस्थल सञ्चालनमा आएसँगै यसका दुईवटा पक्ष सँगसँगै अगाडि आएका छन् । पहिलो हो, पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने यो क्षेत्रका बासिन्दाले पाँच दशकअघि देखेको सपना पूरा भएको छ । अर्को, विमानस्थललाई कसरी पूर्ण क्षमतामा सञ्चालन गरेर यसबाट सामाजिक–आर्थिक लाभ लिने भन्ने चुनौती पनि आजैबाट सुरु भएको छ ।
भर्खरै प्रधानमन्त्री बनेका नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले तामझामका साथ विमानस्थल उद्घाटन गरेका थिए । विमानस्थलमा पहिलो दिन सौर्य, बुद्ध, यती र गुण एयरलाइन्सका जहाज अवतरण गरेका थिए । अन्तर्राष्ट्रिय विमानस्थल बनेको खुसीयालीमा विमानस्थलवरपर उत्सवजस्तै थियो । सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई राष्ट्रिय गौरवको योजनामा राखेर निर्माण कार्य अगाडि बढाएको थियो ।
विमानस्थल निर्माणमा २१ अर्ब ४७ करोड लगानी गरिएको छ । यो सबै ऋण लिएर गरिएको लगानी हो । सन् २०२१ को जुलाई १० भित्र निर्माण कार्य सम्पन्न हुने गरी चाइनाको सीएएमसी कम्पनीले यसको जिम्मा लिएको थियो । यसबीच कोरोना महामारीका कारण निर्माण कार्य निर्धारित सीमाभित्र हुन सकेन । तैपनि मुलुकका अन्य आयोजनाको हबिगत हेर्दा यो विमानस्थल समयमा सकिएको मान्नुपर्छ ।
२०३२ सालमै अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने सपना देखेका पोखराका बासिन्दाले त्यसलाई पूरा गराउन धेरै पटक सरकारलाई दबाब दिएका थिए । उनीहरूकै पहलमा विमानस्थलका लागि ३ हजार १ सय ६ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । तर, २०७३ सालमा आएर मात्र विमानस्थल निर्माण सुरु भएको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७३ वैशाख १ मा यो विमानस्थल निर्माणको शिलान्यास गरेका थिए ।
विमानस्थल बनाउन सरकारले चीनको एक्जिम बैंकसँग २ प्रतिशत ब्याजदरमा ऋण लिएको हो । २० वर्षे अवधिका लागि लिएको ऋणको सुरुका सात वर्ष कुनै किस्ता तिर्नुपर्ने छैन भने बाँकी १३ वर्षमा २६ किस्तामा साँवा र ब्याज तिर्ने सम्झौता भएको थियो । लगानीको ७५ प्रतिशत रकममा मात्र ब्याज तिर्नुपर्नेछ । सरकारले एक किस्तामा ४७ करोड तिर्नुपर्नेछ ।
जे होस्, ढिला भए पनि पोखराले सबैभन्दा आवश्यकीय पूर्वाधार विमानस्थल पाएको छ । अब जतिसक्दो चाँडो यहाँबाट अन्तर्राष्ट्रिय उडानहरू सुरु गराउनुपर्छ ।
करिब ३ हजार ८ सय ९९ रोपनी जग्गामा बनेको यो विमानस्थलमा २ सय सिट क्षमताका न्यारोबडी एयरबस ३२० र बोइङ ७५७–२०० जहाज उडान तथा अवतरण गर्न सक्छन् । विमानस्थलमा ३ ठूला र ८ साना गरी ११ वटा जहाज पार्किङ गर्न सकिन्छ । विमानस्थलको धावनमार्ग २५ सय मिटर र चौडाइ ४५ मिटर तथा धावनमार्गको मोटाइ ३४ सेन्टिमिटर छ ।
यस्तै विमानस्थलसँग व्यस्त समयमा प्रतिघण्टा ६ सय १० जना यात्रु व्यवस्थापनको क्षमता छ । १४ हजार वर्गमिटरको आन्तरिक र अन्तर्राष्ट्रिय टर्मिनल भवन बनाइएका छन् । मुलुकको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको झन्डै साढे सात दशकपछि गत जेठमा भैरहवामा अर्को गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको थियो ।
दोस्रो विमानस्थल थपिएको आठ महिनापछि तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ । तर, विमानस्थल सञ्चालनमा आउँदासम्म सरकारले अन्तर्राष्ट्रिय हवाई उडानका लागि कुनै पनि कम्पनीसँग सहमति गर्न सकेको छैन । कुनै पनि मुलुकले उडान अनुमति दिएको अवस्था छैन । यो सुखद पक्ष होइन । अहिले हवाई कम्पनी र गन्तव्य मुलुकहरूसँग छलफल मात्र भइरहेको अवस्था छ ।
आन्तरिक हवाई सेवा कम्पनीहरूले भने आइतबारदेखि यही विमानस्थलको प्रयोग गर्नेछन् । पोखराबाट करिब चार–पाँच घण्टाको हवाई उडान हुने गरी अलजजिरा, थाई, हिमालयन, कतार एयरलगायतका कम्पनीहरूले चासो दिएको अवस्था मात्र छ । पोखराजस्तो पर्यटकीय सहरमा यस्ता आयोजना धेरै पहिले बन्नुपर्ने हो । छिमेकी मुलुक चीन र भारतका साथै चार–पाँच घण्टाको हवाई यात्रा दूरीमा रहेका मुलुकबाट सोझै पर्यटक ल्याउने वातावरण धेरै पहिले नै गर्न सकिन्थ्यो ।
जे होस्, ढिला भए पनि पोखराले सबैभन्दा आवश्यकीय पूर्वाधार विमानस्थल पाएको छ । अब जतिसक्दो चाँडो यहाँबाट अन्तर्राष्ट्रिय उडानहरू सुरु गराउनुपर्छ । अन्तर्राष्ट्रिय उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणको जोडबलले मात्र पुग्नेछैन । यसका लागि सरकारको कूटनीतिक पहल हुनु अति जरुरी छ । प्रधानमन्त्री दाहाल चीनले अलि बढी मन पराएका नेता मानिन्छन् । उनले अनुरोध गरे चीनले पोखरासँगको उडानका लागि अनुमति दिने सम्भावना उच्च छ ।
चीनले अनुमति दिएपछि क्रमशः अन्य देशलाई पनि दिन कर लाग्नेछ । सरकारले पूर्वाधार बनाएर मात्र हुँदैन । यसको उच्चतम सदुपयोग भए मात्र सामाजिक-आर्थिक महत्त्व हुनेछ । त्यसै पनि प्रत्येक किस्तामा हामीले चीनलाई ४७ करोड रुपैयाँ तिर्नुपर्नेछ । सुरुका केही वर्षमा किस्ता मात्र तिर्ने गरी भए पनि विमानस्थल सञ्चालनमा आउनुपर्छ, नत्र यो आयोजना हात्तीजस्तै महँगो बन्न सक्नेछ ।
पोखराका जनताले विमानस्थल बनाउन मात्र सपना देखेका अवश्य होइनन् । विमानस्थल सञ्चालनमा ल्याएर पर्यटक आगमन बढाउने र यो क्षेत्रको आर्थिक विकास गर्ने सपना उनीहरूको हो । विश्वसँग हवाई यात्रामा जोडिएपछि त्यसबाट आर्थिक लाभ लिन सकिन्छ भन्ने आशा र भरोसा उनीहरूमा छ । पोखरेलीको यही आशा र भरोसालाई पूरा गर्न पनि विमानस्थल पूर्ण क्षमतामा सञ्चालनको विकल्प छैन ।