यो वर्ष ६ लाख १४ हजार पर्यटक

सन् २०२२ मा ६ लाख १४ हजार विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । तथ्यांक हवाई मार्गबाट आएका पर्यटकको हो । स्थलमार्ग हुँदै नेपाल घुम्न आएका पर्यटकको तथ्यांक यसमा समावेश छैन । नेपाल पर्यटन बोर्डका अनुसार यो आगमन संख्या कोरोना महामारी पछाडिको सबैभन्दा धेरै हो । महामारीका कारण लगभग शून्यमा झरेको पर्यटक आगमनमा यो वर्ष सुधार देखिएको हो ।
बोर्डका अनुसार सबैभन्दा बढी पर्यटक अक्टोबरमा आएका छन् भने सबैभन्दा कम जनवरीमा । जनवरीमा १६ हजार ९७५, फेब्रुअरीमा १९ हजार ७६६, मार्चमा ४२ हजार ६, अप्रिलमा ६१ हजार ५८९, मेमा ५३ हजार ६०८, जुनमा ४६ हजार ९५७, जुलाइमा ४४ हजार ४६२, अगस्टमा ४१ हजार ३०४, सेप्टेम्बरमा ५८ हजार ३१४, अक्टोबरमा ८८ हजार ५८२, नोभेम्बरमा ७२ हजार ६५३ र डिसेम्बरमा ६७ हजार ९३२ जना पर्यटक हवाई मार्ग हुँदै नेपाल भित्रिएका छन् ।
भारतबाट सबैभन्दा बढी २ लाख ९ हजार १०५, अमेरिकाबाट ७७ हजार ९, बेलायतबाट ४४ हजार ७८१, अस्ट्रेलियाबाट २६ हजार ८७४ र बंगलादेशबाट २५ हजार ३८४ जना पर्यटक आएका छन् । नेपाल आउने पर्यटकमध्ये सन् २०२२ मा सबैभन्दा धेरै सार्क मुलुकबाट आएका छन् । सार्क मुलुकका पर्यटकको संख्या २ लाख ४६ हजार जना छ । यस्तै युरोपेली मुलुकहरूबाट १ लाख ३३ हजार जना र अमेरिकी मुलुकका ८६ हजार जना नेपाल आएको पर्यटन बोर्डले जानकारी दिएको छ ।