उम्मेदवारले खर्च विवरण बुझाएनन्

पहिलो चरणको स्थानीय तहको चुनावमा भाग लिएका गोरखाका राजनीतिक दलहरूले खर्च विवरण बुझाउन ढिलाइ गरेका छन् । निर्वाचन सम्पन्न भएको मितिले ३० दिनभित्र खर्च विवरण बुझाउनु पर्ने प्रावधान छ ।
वैशाख ३१ गते चुनाव भएको एक महिना अर्थात् गएको जेठ ३१ गतेसम्ममा खर्च विवरण बुझाइसक्नु पर्ने थियो । तर तोकिएको समयभित्र चुनाव लडेकामध्ये आधाजति उम्मेदवारले मात्रै विवरण पेश गरेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
जिल्लामा विभिन्न पदका लागि १ हजार ८९२ जनाले चुनावमा प्रतिस्पर्धा गरेकामा अझै ५९० उम्मेदवारले खर्च विवरण बुझाउन बाँकी छ । हालसम्म जम्मा १३ सय २ जनाले मात्रै खर्च विवरण बुझाएका जिल्ला निर्वाचन कार्यालयका प्रमुख राजेन्द्र पोख्रेलले जानकारी दिए । कार्यालयका अनुसार हालसम्म काग्रेसका ४७०, एमालेका ४०४, माओवादी केन्द्रका ३५१, नयाँ शक्ति ६९, राप्रपा ३ र नेकपा मालेका ५ जना उम्मेदवारले मात्रै चुनावको खर्च विवरण बुझाएका छन् ।
म्याद नाघेर खर्च विवरण पेश गरेकाहरूको पनि विवरण संकलन गरेको र सोही ब्यहोराको जानकारी निर्वाचन आयोगलाई गराएको पोख्रेलको भनाइ छ । विवरण नबुझाउनेलाई कालोसूचीमा राख्ने, आगामी निर्वाचनका लागि अयोग्य ठहर गर्ने, जरिवानासम्मका कारबाही हुनसक्ने जिल्ला निर्वाचन अधिकारी पोख्रेलले बताए ।
विवरण बुझाउनेहरूले भने आयोगले तोकेको सीमाभित्रैको खर्च देखाएको कार्यालयले जनाएको छ । ठूला दलका नगर–गाउँपालिका प्रमुख र उपप्रमुखले तोकेभन्दा दसौं गुणा बढी खर्च गरे पनि विवरणमा भने कम देखाएका छन् ।
निर्वाचन आयोगले नगरपालिकाको मेयर र उपमेयरका लागि साढे ४ लाख, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षका लागि साढे ३ लाख रुपैयाँ खर्च सीमा तोकेको थियो । यस्तै नगरपालिकाका वडाअध्यक्ष र सदस्य पदका उम्मेदवारका लागि दुई लाख र गाउँपालिकाका वडाअध्यक्ष र सदस्यका उम्मेदवारले डेढ लाख रुपैयाँभन्दा बढी खर्च गर्न नपाउने गरी सीमा तोकिएको थियो ।