एनसेलले घटायो ‘पेएजयूगो’ भ्वाइस कल शुल्क

एनसेलका प्रिपेड ग्राहकहरुले थप सुलभ दरमा आफ्नो मेन ब्यालेन्सबाटै भ्वाइस कल सेवाको लाभ लिन पाउने भएका छन् ।
एनसेल आजियाटा लिमिटेडले आफ्नो नेटवर्कभित्र तथा नेपालका अन्य कुनैपनि दूरसञ्चार सेवाप्रदायकको नेटवर्कमा कल गर्दा लाग्ने भ्वाइस कलको महसुल दर कर बाहेक प्रतिमिनेट १ रुपैयाँ ६२ पैसा कायम गरेको छ । प्रिपेड ग्राहकका लागि भ्वाइस सेवामा मेन ब्यालेन्सबाट कल गर्दा अर्थात् ‘पेएजयूगो’ को नयाँ महसुल दर पुस १७ गते (आइतबार)देखि लागू भएको एनसेलले जनाएको छ ।
एनसेलका अनुसार यसअघि कुनै पनि नेटवर्कमा लोकल कल गर्दा कर बाहेक १ रुपैयाँ ९९ पैसा रहेको थियो । एनसेलले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘नयाँ शुल्क लागू भएसँगै ग्राहकले अब नेपालभर जुनसुकै नेटवर्कमा एकै दर करसहित प्रति मिनेट २ रुपैयाँ ५ पैसामा कल गर्न सक्छन्, यसअघि यो शुल्क करसहित २ रुपैयाँ ५२ पैसा थियो ।’