‘धेरै विदेशी हवाई कम्पनीले यहाँबाट उडानको चासो देखाएका छन्’ «

‘धेरै विदेशी हवाई कम्पनीले यहाँबाट उडानको चासो देखाएका छन्’

पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएको छ । सडक मार्गभन्दा पहिला हवाईमार्गले कनेक्टिङ हुँदै अघि बढेको पोखरामा करिब ४७ वर्षपछि क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुनुले पोखरेलीको सपना पूरा भएको छ । २०३२ सालदेखि पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बन्नुपर्छ भन्दै पोखरेलीहरूले जग्गा अधिग्रहण मात्र गरेनन्, पटक–पटक सडक आन्दोलन हुँदै रिले अनशनसम्मको आन्दोलन गर्नुपर्‍यो ।

पोखरा–१४ मा रहेको पोखरा विमानस्थलमा हाल करिब तीन हजार ८ सय ९९ रोपनी जग्गा छ, जसमध्ये ९९ प्रतिशत आयोजनाको नाममा आएको छ । २०३२ सालमा पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने भन्दै स्थानीयले जग्गा अधिग्रहण गरी तीन हजार १ सय ६ रोपनी जग्गा व्यवस्थापन गरेका थिए । अन्य थप जग्गा आयोजनाले चरणबद्ध रूपमा अधिग्रहण गरेको हो । राष्ट्रिय गौरवको योजना पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न करिब २२ अर्ब रुपैयाँ खर्च भएको छ ।

यो परियोजनाका लागि २ प्रतिशत व्याजदरमा २० वर्षे अवधिमा २६ किस्ता तिर्ने गरी ऋण सम्झौता भएको थियो । २ प्रतिशत व्याजबाहेक शेवा शुल्क नाममा अन्यपनि तिर्न पर्नेछ । सुरुको सात वर्ष (ग्रोस अवधि) मा भने कुनै किस्ता तिर्नु पर्दैन । त्यसपछि १३ वर्षसम्म ६/६ महिनामा किस्ता तिर्नुपर्नेछ । सन् २०२१ को जुलाई १० मा पोखरा विमानस्थल निर्माण कार्य सम्पन्न हुने गरी चाइनाको सीएएमसी कम्पनीले जिम्मा लिएको थियो ।

तर, कोरोनाका कारणले गर्दा कम्पनीले ६ महिना समय सीमा थप्न माग गर्‍यो । १ वैशाख २०७३ मा उक्त विमानस्थलको तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख दलका नेताहरू कांग्रेस महामन्त्री सशांक कोइराला, एमाओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, तत्कालीन उपप्रधानमन्त्री विजयकुमार गच्छदार र कमल थापाले संयुक्त रूपमा इँटा राखेर शिलान्यास गरेका थिए ।

करिब चार वर्ष नौ महिनापछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज १७ पुस (जनवरी १ तारिख) मा पोखरा विमानस्थल उद्घाटन गर्ने तयारी छ । पोखरेली र गण्डकी प्रदेशवासीको ४७ वर्षको सपना पूरा भएसँगै विमानस्थलको लगानीसमेत ठूलो भएकाले त्यसलाई अब कसरी सञ्चालन गर्ने ? विमानस्थल निर्माणले यस क्षेत्रको आर्थिक विकास र पर्यटनमा कस्तो प्रभाव पर्ला ? लगायतका विषयमा पोखरा विमानस्थलका प्रमुख विक्रम गौतमसँग कारोबारकर्मी दीननाथ बरालले गरेको कुराकानीको सार:

पोखरा विमानस्थलको उद्घाटन हुँदै गर्दा अब पोखराबाट सीधै अन्तर्राष्ट्रिय हवाई उडानको बाटो खुलेको हो ?

हो, पोखरा विमानस्थल निर्माणले पोखरा र समग्र नेपालकै अर्थतन्त्र तथा पर्यटन प्रवर्द्धन गर्नेमा हामी विश्वस्त छौं । पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएसँगै हाल बुद्ध एयरलायन्सले छिमेकी मुलुक भारतको वनारससम्म सीधा हवाई उडान गर्ने गरी आन्तरिक तयारी गरेको छ भने अन्य विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय एयरलायन्स कम्पनीहरूले चासो दिएका छन् ।

अंग्रेजी नयाँ वर्ष २०२३ को जनवरी १ तारिखकै दिनबाट हालै निर्माण भएको विमानस्थलबाट हवाई उडान हुनेछ । पोखरा–जोमसोम उडान गर्ने साना जहाज, हेलिकप्टर र अल्ट्रालाइटबाहेक सबै हवाई उडान हामीले क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट गर्नेछौं । पोखरादेखि हामीले विदेशसम्म हवाई उडान गर्ने सम्पूर्ण तयारी पूरा गरे पनि हामीलाई विदेशबाट समेत रुटको अनुमति चाहिन्छ ।

त्यसका लागि हामी र एयरलायन्स कम्पनीहरूले पहल गरेको अवस्था छ । सायद अब छिट्टै पोखरादेखि भारतका विभिन्न सहरसम्म जोडिनेछ । त्यसपछि तीन–चार घण्टाको उडान हुने छोटो अन्तर्राष्ट्रिय उडानका लागि केही विदेशी एयरलायन्स कम्पनीहरूले समेत हाल चासो र सोधपुछ गरेको अवस्था छ । नयाँ विमानस्थलबाट सञ्चालन हुने हुँदा त्यसको भौतिक पूर्वाधारदेखि प्राविधिक रूपमा सबैजसो तयारी पूरा गरेका छौं । विमानस्थलको एयर रुटको प्रमाणीकरण (सर्टिफिकेसन) समेत प्राप्त गर्ने अन्तिम चरणमा छौं ।

पोखरा विमानस्थल उद्घाटनको सँघारमा आउँदा केही अत्यावश्यक जस्तै ल्यान्डफिल साइट व्यवस्थापनलगायतका विषय कसरी व्यवस्थापन हुँदै छ ?

कुनै पनि विमानस्थलको निर्माण कार्य सधैं जारी रहने प्रक्रिया हो । यात्रुको चाप र यात्रुको मागअनुसार विमानस्थलमा निर्माण कार्य भइरहन्छ । पोखरामा हालै निर्माण भएको विमानस्थलमा अत्यावश्यक भौतिक संरचना निर्माण भए पनि मूल गेट, शौचालयलगायतका केही काम अन्तिम चरणमा पुगेको छ । सानातिना कामबाहेक तत्कालको कुरा गर्दा मुख्य कामहरू भने हामीले सम्पन्न गरेका छौं ।

पोखरा विमानस्थलदेखि करिब १३ किलोमिटर दूरीमा ल्यान्डफिल साइट हुनुपर्छ भन्ने मान्यतालाई सार्थक पार्न पोखरा महानगरले त्यसको व्यवस्थापन गर्दै छ । पोखराका मेयर धनराज आचार्यले केही समयअघिदेखि पुरानो पोखराको ल्यान्डफिल साइटमा फोहोर फाल्न रोक्दै उक्त क्षेत्रमा फोहोर पुर्न थालेकाले अब यसले हामीलाई कुनै असर पार्दैन । रिट्ठेपानीको डाँडा कटान अन्तिम चरणमा पुगेको छ भने अन्य कामहरू हुँदैछन्, तर त्यसले हवाई उडानमा हाल प्रत्यक्ष असर पर्दैन ।

करिब तीन किलोमिटर क्षेत्रमा दुईवटा विमानस्थल सञ्चालनमा आउँदा प्राविधिक रूपमा केही समस्या आउँछ कि आउँदैन ?

यो प्राविधिक विषय हो, हाम्रो आकाश (एयरस्पेस) एउटै र नजिक पनि छ । प्राविधिक रूपमा कुन कसरी सञ्चालन गर्दा सुरक्षित हुन्छ भनी त्यसको स्वरूप (स्ट्रक्चरिङ) अध्ययन गरी सञ्चालन गर्छौं । आमनागरिकले बुझ्ने गरी भन्नुपर्दा कुनै द्विविधा नहुने गरी दुवैतर्फको उडान सञ्चालनका लागि व्यवस्थित पार्छौं । त्यसका लागि काम भइरहेको छ भने यसमा हालै प्रशिक्षणसमेत गराएका छौं । पाइलटहरू र एयर ट्राफिक कन्ट्रोलरहरूसँग बसेर छलफल भएकाले यसले कुनै समस्या नहुनेमा हामी विश्वस्त छौं ।

विकाससँगै विनाश पोखरामा विमानस्थल सञ्चालन हुनु खुसी तर पोखरामा साहसिक खेलको केन्द्र नै बनेको प्याराग्लाइडिङ के कसरी सञ्चालन हुने भएको छ ?

आकाशलाई छुट्टै हेर्ने र त्यसको व्यवस्थापन गर्ने एयर ट्राफिक विभाग छ । त्यसले जे निर्णय गर्छ त्यसअनुसार हामी चल्नुपर्छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले यो विषयमा पोखराको पर्यटनको आकर्षणको केन्द्र प्याराग्लाइडिङलाई समय–तालिका मिलाएर भए पनि सञ्चालन गर्नुपर्छ भन्ने मान्यता राख्दै आएको छ ।

पोखरा विमानस्थल सञ्चालन भएसँगै अब कुन–कुन रुटबाट अन्तर्राष्ट्रिय उडानका लागि के भइरहेको छ ?

अहिलेको अवस्थामा धेरै एयरलायन्स कम्पनीहरूले चासो देखाएका छन्, जस्तै– जजिरा, थाई स्माइल, कतार, फ्लाई दुबई, बुद्धलगायतका छन् । बुद्धले सार्वजनिक रूपमा प्रेस विज्ञप्ति प्रकाशित गरेर भारतसम्म सञ्चालनको तयारी गरेको छ । यो कम्पनी अनुमतिको पर्खाइमा छ । विस्तारै समयले यसको क्षेत्र विस्तार हुँदै जान्छ भन्नेमा हामी पूर्ण आशावादी छौं ।

नामअनुसारको काम गर्न हामी १७ पुस अर्थात् जनवरी १ मा पोखराबाट कुनै अन्तर्राष्ट्रिय हवाई उडान गर्न सक्छौं कि प्रयासरत मात्रै ?

यो विषयमा धेरैको चाहना जनवरी १ बाटै कम्तीमा पनि एउटा हवाई उडान हुनुपर्‍यो भन्ने माग छ । तर, यसमा धेरै कुरा हुन्छ, हामीले मात्र चाहेर हुँदैन, अन्तर्राष्ट्रिय उडानका लागि विदेशबाट समेत अनुमति चाहिने भएकाले त्यसको हाल पहल भइरहेको छ । यो हाम्रो प्रतीक्षाको विषय हो ।

पोखरा र पोखराको पर्यटन क्षेत्रमा विमानस्थलले कस्तो प्रभाव पर्ला ?

पहिलो कुरा, हामीले पोखरालाई पर्यटनको राजधानी मानेका छौं । एयर ट्रान्सपोर्टेसन पर्यटनको पहिलो रोजाइको यातायातको साधन हो । यसलाई हामीले जति सुरक्षित र व्यवस्थित पार्न सक्छौं, हाम्रो जस्तो पर्यटनको राजधानी पोखरामा धेरै पर्यटक भित्र्याउन सक्छौं । यसमा हामीले अन्तर्राष्ट्रिय कनेक्टिभिटी गर्न सक्नुपर्छ ।

यसले हाम्रो समग्र पोखरा र पोखरा आसपास तथा सिंगो देशलाई नै आर्थिक गतिविधिमा ठूलै हलचल ल्याइदिन्छ भन्ने हाम्रो बुझाइ छ । विदेशबाट पोखरामा सीधै आउन सकियो भन्नका खातिर यो विमानस्थल निर्माण भएको हो । ग्रेटर र स्मार्ट पोखरा बनाउनमा पोखरा विमानस्थलसँगै अन्य भौतिक संरचनासमेत निर्माण गर्न जरुरी देख्छु ।

विश्वका दुई शक्तिशाली देश चीन र भारतको बीचमा पर्ने नेपालको पर्यटकीय महत्त्व रहेको पोखराबाट सीधै हवाई उडानका लागि केही पहल भएको छ कि ?

चीन र भारतको बीचमा हाम्रो देश नेपाल हुनु हाम्रो लागि ठूलो गौरवको विषय हो । यसलाई हामीले व्यावसायिक रूपमा प्रयोग गर्न सके ठूलो अवसरको रूपमा लिन सकिन्छ । यति धेरै जनसंख्या रहेको मुलुकका १ प्रतिशतको पनि केही प्रतिशत मात्र नेपाल र पोखरा भित्र्याउन सके हामीले लाखौं पर्यटक भित्र्याउन सक्छौं ।

दुवै देशमा नेपालको राम्रो प्रमोसन गरी पर्यटक आउने वातावरण तय गर्न सके नेपाल र पोखराको पर्यटन प्रवर्द्धनमा धेरै फाइदा पुग्छ । दुई देशबीच कनेक्टिङ हुन जरुरी छ । राम्रोसँग दुई देशका पर्यटकहरू नेपाल तथा पोखरा आउने वातावरण सिर्जना गर्न सके पोखरा विमानस्थल पोखरेलीका लागि विकासको कोसेढुंगा सावित हुनेछ ।

यहाँले भनेजस्तो हामीले पोखरामा पर्यटकहरूका लागि राम्रो ब्रान्ड पोखरा विमानस्थल निर्माण गरेका छौं । अब यसलाई सञ्चालन गर्ने जिम्मा राज्य र निजी क्षेत्रको हो, यसमा केही विदेशी मुलुकका कम्पनीहरूले समेत चासो दिएको अवस्था हो । कनेक्सन गर्ने विषयमा हङकङ, दोहा, ढाका, बैंककलगायतको क्षेत्रमा एयर कनेक्सनका लागि कुरा गरिरहेका छौं ।

पोखरा विमानस्थलको करिब २२ अर्बको लगानी अब कसरी व्यवस्थापन गर्न सकिन्छ, कहिलेसम्म र कसरी तिर्न सकिएला त ?

यस विषयमा राज्यले दुई ढंगले हेर्नुपर्‍यो, लगानी भौतिक संरचनाले तत्काल प्रतिफल हुने विषय होइन । यसलाई पूर्णमात्र भनेर सम्झनु गलत हुन्छ । जसरी सडक बनाउँदा सडकले कति आर्थिक चलायमान र मानवको जीवनयापनमा सहज बनायो भन्ने कुरा सडकको लगानीसँग मात्र जोडिँदैन, त्यसैगरी विमानस्थल निर्माणले विमानस्थलको लगानी मात्र नभई त्यसबाट सिंगो क्षेत्र र समग्र देशलाई नै आर्थिक रूपमा पारेको प्रभाव हेर्नुपर्छ ।

विमानस्थल भनेको गेट हो, यसले कनेक्सन गर्छ, कनेक्टिभिटी गराउँछ, यसले अर्थव्यवस्थालाई चलायमान बनाउँछ । नागरिक उड्डयन कार्यालयले हाल सञ्चालन भइरहेको पुरानो विमानस्थलबाट वार्षिक रूपमा २५ करोड आम्दानी गर्ने गरे पनि पोखरामा नयाँ विमानस्थलबाट दोब्बर बढी आम्दानी गर्ने लक्ष्य छ ।

नयाँ विमानस्थलबाट अब केही समयमै १८ घण्टा हवाई उडान गर्ने हुँदा वार्षिक रूपमा करिब ५० करोडको आम्दानी सहज ढंगले गर्न सक्नेछ । यसमा अन्तर्राष्ट्रिय कनेक्सन जोड्न सकेको अवस्थामा हामीले वार्षिक रूपमा १ अर्ब आम्दानी गर्न सक्छौं । यो दीर्घकालीन योजना हो । यो ५० वर्षको परियोजना हो । विमानस्थलको घरले आर्थिक रूपमा कति सहयोग गर्‍यो भन्नुभन्दा पनि घरबाट कतिलाई फाइदा पुग्यो, त्यो ठूलो कुरा हो ।

नयाँ विमानस्थल सञ्चालन भएसँगै आन्तरिक हवाई उडानमा केही परिवर्तन हुन्छ कि ?

हो, यसमा अवश्य रूपमा परिवर्तन हुन्छ, पोखराको पुरानो विमानस्थलमा साँघुरो क्षेत्र मानव बस्ती नजिकै थियो भने यहाँ धेरै फराकिलो भएकाले हवाई उडानको उपयुक्त स्थान छ । यसमा हामीले रात्रिकालीन सेवा सुरु गरी पोखरादेखि देशका सातवटै प्रदेशका मुख्य सहरहरू जोड्ने योजनामा छौं, यसमा विभिन्न एयरलायन्स कम्पनीहरूले चासो दिएको अवस्था छ ।

हाल पोखरा–काठमाडौंबाहेक अन्य पोखराबाट सञ्चालन भएका भैरहवा, भरतपुर, विराटनगरमा जानका लागि टिकट पाउनै मुस्किल हुन थाल्यो । विराटनगर, भद्रपुर, चन्द्रगढी, धनगढी, नेपालगन्जलगायतका क्षेत्रमा कनेक्सन जोड्ने तयारी भएको छ । भैरहवा, भरतपुर, जनकपुरको सीधा हवाई सेवा सञ्चालन भइरहेकै छ । सिमराको कुरासमेत आएको छ ।

पोखराबाट हाल बुद्ध, यती, सिम्रिक र श्री एयरलायन्स कम्पनीहरूले पोखरा–काठमाडौं सीधा हवाई उडान गर्दै आएका छन् भने तारा र समिट एयरलायन्स कम्पनीले भने पोखरा–जोमसोम उडान गर्दै आएका छन् । पोखराबाट बुद्ध र यतीले भने भैरहवा र भरतपुर सीधा हवाई सेवा सुरु गरेका छन् । बुद्धले विराटनगरसम्म पोखराबाट सीधा हवाई गर्दै आएको छ ।

पुरानो विमानस्थलभन्दा नयाँ विमानस्थलसम्म जान सडक यातायातबाट कसरी व्यवस्थापन हुन्छ, यात्रुको ?

यो हामीलाई सोच्न बाध्य बनाएको विषय हो । यसको व्यवस्था पोखरा महानगरपालिकाले गरेको छ । पोखरा विमानस्थलदेखि विमानस्थलको मुख्य गेटसम्मको करिब १२ सय मिटरको दूरीका लागि उपयुक्त बसको व्यवस्था पोखरा महानगरले गर्ने तयारी गरेको छ ।

अन्त्यमा केही भन्नु छ ?

अन्त्यमा सम्पूर्ण जग्गादाता, पोखरेली, मिडिया, आम नागरिकहरूप्रति नेपाल नागरिक उड्डन प्राधिकरण र पोखरा विमानस्थलको प्रमुख भएको नाताले हार्दिक कृतज्ञता र आभार व्यक्त गर्छु । सम्पूर्णको योगदानले गर्दा विमानस्थल निर्माण कार्य सम्पन्न भएसँगै सञ्चालनमा आउन लागेको हो । उहाँहरूको सहयोगबिना यो सम्भव थिएन । यो अभियान सफल पार्न प्रत्यक्ष एवं अप्रत्यक्ष रूपमा सहयोग गर्ने विभिन्न संघसंस्था एवं व्यक्तिहरूप्रति हार्दिक धन्यवाद दिन चाहन्छु । आगामी दिनमा उहाँहरूको साथ र सहयोगको समेत अपेक्षा गर्छौं ।

प्रतिक्रिया दिनुहोस्