व्यापारयुद्धको लाभ लिँदै भारत «

व्यापारयुद्धको लाभ लिँदै भारत

नयाँ दिल्ली, अमेरिका र चीनबीच चलिरहेको व्यापारयुद्ध भारतका लागि निर्यात बढाउने एउटा ठूलो अवसरका रूपमा देखिएको छ । यो अवसरको फाइदा उठाएर भारतले अमेरिका र चीन दुवै मुलुकमा रसायन तथा ग्रेनाइटसहित ३ सय ५० उत्पादन निर्यात गर्न सक्ने वाणिज्य मन्त्रालयको एक अध्ययनले देखाएको छ ।
मन्त्रालयले अमेरिका–चीन व्यापार युद्धका बीच भारतले यी मुलुकमा निर्यात गर्न सक्ने वस्तुको पहिचान गरेको वाणिज्य मन्त्रालयले जनाएको छ । अमेरिका र चीन दुवै मुलुकले एक–अर्काको उत्पादनमा ठूलो परिमाणमा आयात शुल्क लगाउदै आएका छन् । यसकारण व्यापारयुद्धको स्थिति बनेको छ ।
वाणिज्य मन्त्रालयको अध्ययनअनुसार जारी व्यापारयुद्ध भारतका लागि अमेरिका तथा चीनमा निर्यात बढाउने ठूलो अवसर हो । डिजेल, एक्स–रे ट्युब तथा केही रसायनसहित १ सय ५१ उत्पादनलाई भारतले चीनमा निर्यात गर्न सक्ने मन्त्रालयले जनाएको छ ।
हालसम्म चीनले यी वस्तु अमेरिकाबाट आयात गर्दै आएको छ । यसैगरी ग्रेफाइट इलेक्ट्रोडस तथा रबरजस्ता २ सय ३ भारतीय उत्पादन अमेरिकामा निर्यात हुन सक्छ । हाल अमेरिकाले यी वस्तु चीनबाट आयात गर्दै आएको छ ।
निर्यात बढाएर भारतले चीनसँगको आफ्नो व्यापार घाटामा कमी गर्न सक्ने बताइएको छ । २०१८–१९ को अप्रिलदेखि फेब्रुअरीसम्म चीनसँग भारतको व्यापारघाटा ५०.१२ अर्ब डलरको थियो ।
प्रमुख निर्यातक संगन फेडरेसन अफ इन्डियन एक्सपोर्ट अर्गनाइजेसनका अध्यक्ष गणेश कुमार गुप्ताले भनेका छन्, “अमेरिका–चीनबीच चलेको व्यापारयुद्धका कारण भारतलाई फाइदा भइरहेको छ ।”
उनका अनुसार गत वर्ष अमेरिका र चीनमा भारतको निर्यातमा क्रमशः ११.२ प्रतिशत र ३१.४ प्रतिशतको वृद्धि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्