फागुन २३ देखि इटहरीमा क्यान इन्फोटेक

सूचना प्रविधिलाई गाउँदेखि सहरसम्म जोड्न एक नम्बर प्रदेश स्तरीय क्यान इन्फोटेक मेला आयोजना गरिने भएको छ । आगामी फागुन २३ देखि २७ गतेसम्म इटहरीको जनता स्कुलको खेल मैदानमा मेला आयोजना हुने भएको हो ।
गाउँदेखि सहरसम्म सूचना प्रविधि भन्ने नाराका साथ विश्वभर आएका नयाँ प्रविधिका स्टलहरु मेलामा राखिनेछ । क्यान सुनसरीले बुधबार इटहरीमा पत्रकार सम्मेलन गरी मेलाबारे जानकारी दिएको हो । विश्व बजारमा आएका अत्याधुनिक प्रविधि र वस्तुहरुको बारेमा आम उपभोक्ता र स्कुल कलेजका विद्यार्थीलाई लक्षित गरी मेला आयोजना गरिएको क्यान सुनसरीका अध्यक्ष बलराम भण्डारीले जानकारी दिए ।
एक नम्बर प्रदेश स्तरीय क्यान इन्फोटेकमा पूर्वका कम्तिमा २ देखि ३ लाख मानिसले अवलोकनसँगै कारोबारमा गर्ने आयोजकको अपेक्षा छ । ५ दिनसम्म चल्ने मेलामा करिब ५ करोड बराबरको कारोबार हुने आयोजकको विश्वास छ । क्यान इन्फोटेकमा सूचना प्रविधिका ९८ वटा र २७ वटा प्रायोजनसम्बन्धी स्टल रहने बताइएको छ । मेलाको अवलोकनमा आएका दर्शकको सुविधाका लागि ३ वटा होटलका स्टलले विभिन्न खाद्य परिकार उपलब्ध गराउने कार्यक्रम संयोजक सन्देश राईले जानकारी दिए ।