Logo

भूकम्पको जोखिममा पश्चिम

पश्चिम क्षेत्रसहित बाँकेको नेपालगन्ज भूकम्पको उच्च जोखिममा रहेको एक अध्ययनले देखाएको छ । बेलायतको डरहम विश्वविद्यालयले गरेको एक अध्ययनले भूकम्पीय विपद्को उच्च जोखिममा बाँकेको नेपालगन्जसहित पश्चिम क्षेत्र रहेको देखाएको हो ।

रेडक्रसद्वारा सञ्चालित सहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजनाका अनुसार नेपालगन्ज उपमहानगरपालिकाको वडा नं ३ र ७ मा निर्माण भएका परम्परागत र पुराना घरका कारण सात रेक्टर स्केलमाथिको भूकम्प गए त्यसले ठूलो जनधनको क्षति बेहोनुपर्ने उक्त विश्वविद्यालयले गरेको अध्ययनले देखाएको हो ।

अध्ययनअनुसार रुकुम क्षेत्रमा ७.८ रेक्टर स्केलको भूकम्प गएमा नेपालगन्जका २ सय १८ घर पूर्णरूपमा क्षति हुने आकलन गरिएको छ । त्यस्तै बझाँङको जयपृथ्वी नगरपालिकामा १ सय ९९ घर, धनगढीमा ३९ घर र डढेलधुराको अमरगढी नगरपालिकामा १९ घरमा क्षति हुने अनुमान गरिएको अध्ययनले देखाएको छ ।

परियोजनाका परामर्शदाता गेहन्द्र बमले पश्चिमको कुनै पनि क्षेत्रमा ८.६ रेक्टर स्केलको भूकम्प गए नेपालगन्जका तीन हजार घरमा क्षति पुग्नसक्ने प्रक्षेपण गरिएको जानकारी दिए । “अध्ययनअुनसार नेपालमा विगतमा ४ सय ८५ वर्षयता पश्चिम नेपालमा ठूलो भूकम्प नगएकाले त्यसको जोखिममा पश्चिम क्षेत्र रहेको बताइएको छ,” उनले भने, “नेपालगन्जमा मात्रै ११ हजार ८ सय बढी मानिस विपद्को जोखिममा रहेको प्रक्षेपण गरिएको छ । यसबाट सबैभन्दा बढी ज्येष्ठ नागरिक, बालबालिका, अशक्त प्रभावित हुने अनुमान गरिएको छ ।”

भूकम्पको उच्च जोखिममा रहेको पाइएपछि नेपालगन्ज र आसपासका सहरी क्षेत्रमा भूकम्पीय विपद्को पूर्वतयारी तथा प्रतिकार्यका लागि योजना निर्माणमा सरोकारवाला जुटेको नेपाल रेडकस सोसाइटी, नेपालगन्जका सभापति गोवद्र्धनसिंह सम्झनाले बताए । हामीले योजना निर्माणमा सहयोग गरे पनि भूकम्पीय जोखिमलगायतका विपद्को सामना गर्न स्थानीय सरकार आफै सकृय हुनुपर्ने उनको भनाइ छ ।

रेडक्रसद्वारा सन्चालित सहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजनाअन्तर्गत विभिन्न आठ वटा कलस्टर बनाएर विपद् जानुअघि र गइसकेपछि गर्नुपर्ने गतिविधिका साथै विपद्को क्षति न्यूनीकरणका लागि स्रोत साधनको व्यवस्थापनमा समेत प्रतिकार्य योजना फलदायी हुने जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताए ।

सबै सरोकारवालाको सहयोगमा सुझाव संकलन गरी प्रतिकार्य योजना बनाउने कार्य अन्तिम चरणमा रहेको उनको भनाइ छ । सरोकारवालाले गरिरहेको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माणमा स्थानीय सरकारले समेत सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले विपद् जानुअघि र गइसकेपछि गर्नुपर्ने सबै किसिमको खोज, उद्धारलगायत समन्वय र सहयोग गर्ने कार्यमा उपमहानगरपालिका सबैसँंग हातेमालो गर्न तयार रहेको बताए । सहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजनाअन्तर्गत नेपालगन्जका संकटासन्न क्षेत्रहरूको जीआईएस म्यापिङ गर्नुका साथै त्यहाँका घरहरूको भौतिक अवस्था पनि परीक्षण गरिएको छ । यी सबै अध्ययनका आधारमा उपमहानगरपालिकाको प्रतिकार्य योजना बनाउन लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्