क्षेत्रफल घट्दा पनि धान उत्पादन बढ्यो
यस वर्ष धान उत्पादन बढेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार गत वर्षको तुलनामा यस वर्ष साढे ३ लाख मेट्रिकटनले धान उत्पादन बढेको हो ।
मन्त्रालयले बिहीबार सार्वजनिक गरेको प्रारम्भिक अनुमानअनुसार यस वर्ष ५४ लाख ८६ हजार ४७२ मेट्रिकटन धान उत्पादन भएको अनुमान छ । आर्थिक वर्ष २०७८/०७९ मा ५१ लाख ३० हजार ६२५ मेट्रिकटन उत्पादन भएको थियो । यो उत्पादन गत वर्षभन्दा ३ लाख ५५ हजार ८४७ मेट्रिकटन धेरै हो । यो वर्ष प्रतिहेक्टर उत्पादकत्व ३.७९ प्रतिशतले वृद्धि हुँदा समग्र धान उत्पादन वृद्धिदर गत वर्षको भन्दा ६.९४ प्रतिशत बढी रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले गत वर्षभन्दा धान रोपाइँ हुने क्षेत्रफल घट्दा पनि धान उत्पादन भने वृद्धि भएको बताए । “यो वर्ष २० हजार हेक्टर कम क्षेत्रफलमा धान रोपाइँ भएको थियो । गत वर्ष १४ लाख ७७ हजार ३७८ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएकोमा यस वर्ष १४ लाख ४७ हजार ७८९ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको थियो,” उनले भने, “गत वर्ष असोज ३० देखि कात्तिक २ सम्मको बेमौसमी वर्षाका कारण विशेषगरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका १ लाखभन्दा बढी हेक्टरमा लगाइएको धानबालीमा क्षति हुँदा करिब ८.७४ प्रतिशत उत्पादनमा कमी आएको थियो ।”
तर, यस वर्ष मौसम औषत रहेको, केही ढिलो गरी भए पनि विशेषगरी तराईका जिल्लामा रासायनिक मलको उपलब्धता रहेको, उन्नत बीउको प्रयोग एवं हाइब्रिड जातको प्रयोगमा भएको वृद्धि र स्थानीय तहसम्म कृषि प्राविधिकको पहुँचमा केही वृद्धि भएका कारण धान उत्पादनमा सामान्य वृद्धि भएको सञ्जेलको भनाइ छ । तर यो उत्पादन गत वर्ष बाहेकका विगतका अन्य वर्षहरुको तुलनामा भने कम नै हो ।
भन्सार विभागको तथ्यांकअनुसार आव २०७८/०७९ बाट धान/चामल/कनिकाको आयात घट्दो क्रममा रहेको देखिन्छ । आव २०७७/०७८ को तुलनामा २०७८/०७९ मा धान/चामल/कनिकाको आयात करिब ४ अर्ब रुपैयाँ अर्थात् ६.३ प्रतिशत कमी भएको थियो भने आव २०७८/०७९ को छ महिनाको तुलनामा ३८.२ प्रतिशतले कमी आएको देखिन्छ । आयात भएको धान/चामलमध्ये बासमतीको हिस्सा उल्लेख्य (करिब रु. २ अर्ब) रहेको छ । धानको उत्पादन वृद्धिसँगै बजारमा चामल केही सस्तो हुन सक्ने अनुमान गरिएको छ ।
कुन प्रदेशमा कति धान उत्पादन ?
मन्त्रालयका अनुसार प्रदेश १ मा १३ लाख ३६ हजार ५७ मेट्रिकटन, मधेश प्रदेशमा १३ लाख ८८ हजार ८४१ मेट्रिकटन र बागमती प्रदेशमा ५ लाख ४४६ मेट्रिकटन धान उत्पादन भएको छ । गण्डकी प्रदेशमा तीन लाख ९१ हजार १२१ मेट्रिकटन, लुम्बिनीमा ११ लाख ५१ हजार ३१३ मेट्रिकटन, कर्णालीमा एक लाख २९ हजार ४७३ र सुदूरपश्चिम प्रदेशमा ५ लाख ८९ हजार २२१ मेट्रिकटन धान उत्पादन भएको छ । प्रारम्भिक अनुमानअनुसार प्रदेशगत रुपमा गत आर्थिक वर्षको तुलनामा सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा करिब ३३.३३ प्रतिशतले धान उत्पादन वृद्धि भएको देखिएको मन्त्रालयले जनाएको छ ।
गत वर्ष बेमौसमी वर्षाका कारण सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुर जिल्लामा धानबालीमा क्षति भई उत्पादनमा कमी आएको मन्त्रालयको दाबी छ । सुदूरपश्चिम प्रदेशका अलावा गत वर्षको तुलनामा लुम्बिनी प्रदेशमा १५.२ प्रतिशत, प्रदेश एकमा ५.७२ प्रतिशत र कर्णालीमा ३.४६ प्रतिशत र मधेश प्रदेशमा ०.१८ प्रतिशत उत्पादन वृद्धि भएको मन्त्रालयले जनाएको छ । बागमती र गण्डकी प्रदेशमा गत वर्षको तुलनामा क्रमश १.४५ र ३.७४ प्रतिशत उत्पादनमा कमी आएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
४० लाख मेट्रिक टन चामलको माग
नेपालमा ४० लाख मेट्रिकटन चामलको आवश्यकता रहेको कृषि मन्त्रालयले बताएको छ । खाद्यान्न (चामल, मकै, गहुँ, कोदो, फापर लगायत) को आवश्यकताका हिसाबले प्रतिव्यक्ति प्रतिवर्ष करिब १ सय ८१ केजी आवश्यक पर्ने र यस हिसाबले चामलको उपभोग करिब १ सय २१ केजी प्रतिव्यक्ति प्रतिवर्ष हुने देखिन्छ । तर नेपालमा औषत प्रतिव्यक्ति प्रतिवर्ष करिब १ सय ३७ केजी उपभोग भइरहेको छ । यस हिसाबले चामलको आवश्कता करिब ४० लाख मेट्रिकटन रहने देखिन्छ ।
उत्पादनका हिसाबले करिब ५५ लाख धानमा ६४ प्रतिशत, ३५ लाख २० हजार मेट्रिक टन चामल उपलब्ध हुने देखिन्छ । नेपालमा करिब ४ लाख ८० हजार मेट्रिकटन चामल कमी भएको मन्त्रालयको भनाइ छ । धानमा आत्मनिर्भरता हासिल गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहे पनि आत्मनिर्भर बन्न सकिरहेको छैन । स्थानीय तह र प्रदेशको समन्वयमा मन्त्रालयले कृषिमा आत्मनिर्भरता अभियान अन्तर्गत धान उत्पादन प्रवर्द्धनका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।