मलेसियामा यो वर्ष नेपालीको ओइरो

वैदेशिक रोजगारीमा जाने नेपाली युवाका लागि मध्यपूर्वका मुलुक र मलेसिया पहिलो गन्तव्य बन्दै आएका छन् । यी मुलुकमा हाराहारीको जस्तै संख्यामा नेपाली कामदार जाने गरेका थिए । तर यो वर्ष मलेसियामा भने नेपालीको ओइरो लागेको छ ।
मध्यपूर्वका कतार, साउदी, यूएईलगायतका देशमा जाने नेपालीको संख्या ५० हजार नपुग्दा मलेसियामा जानेको संख्या १ लाख ३० हजार नाघेको छ । यी श्रम गन्तव्यमा विगतका वर्षहरुमा यस्तो धेरै फरकमा नेपालीहरु जाने गरेका थिएनन् । यो फराकिलो अन्तर पहिलो पटक बनेको हो । पछिल्लो समय मलेसियामा नेपालीको आकर्षण बढेपछि कतार र साउदी अरब जाने युवाको संख्या घट्दै गइरहेको छ ।
वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार यो कात्तिकसम्म एक लाख ३० हजार ३०९ जना नेपाली मलेसिया गएका छन् । गत वर्ष कात्तिकसम्म २७ हजार १ सय ३२ जनामात्र नेपाली मलेसिया गएका थिए । गत वर्षको तुलनामा यो ३७९.१३ प्रतिशत वृद्धि हो । मलेसियामा नेपालीको ओइरो लागेपछि साउदी अरब र कतार जाने नेपालीको संख्या घटेको छ ।
विगतमा पनि हावापानीका कारण मध्यपूर्वका मुलुकभन्दा मलेसिया रोजाइमा थियो । मध्यपूर्वका मुलुकमा उच्च गर्मी हुने तर मलेसियाको हावापानी काठमाडौं उपत्यकाको जस्तै भएकाले धेरैको रोजाइमा मलेसिया पर्ने गरेको थियो । तर, यो वर्ष मलेसियामा नेपालीको ओइरो लाग्ने कारण भने भिन्दै छ । मलेसियाले एकै वर्षमा लगभग २५ प्रतिशत तलब बढाएको छ ।
विगतमा न्यूनतम तलब १२ सय रिंगेट रहेकामा त्यसलाई बढाएर १५ सय पुर्याइएको हो । यो वृद्धिपछि त्यहाँ काम गर्ने नेपालीको तलब ९ हजार रुपैयाँभन्दा बढीले बढेको छ । अहिले मलेसियामा कार्यरत नेपालीको न्यून्तम पारिश्रमिक मासिक ४५ हजारभन्दा बढी पुगेको छ । मलेसियामा साधारणतयाः दैनिक २ घन्टा अतिरिक्त काम पाइन्छ ।
अतिरिक्त कामको कमाइले खान पुग्ने हुँदा न्यूनतम पनि तलब बचत ६० देखि ७० हजारसम्म हुने व्यवसायीको भनाइ छ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष रोहन गुरुङले पारिश्रमिक वृद्धि, मौसम तथा खाडी राष्ट्रको तुलनामा इनडोर कार्यस्थल धेरै भएका कारण पछिल्लो समय मलेसिया जाने नेपालीको संख्या बढेको बताए ।
वैदेशिक रोजगार विभागका महानिर्देशक उमाकान्त आचार्यले पछिल्लो समय साउदी अरब जाने नेपाली विभिन्न बहानामा स्वदेश फर्कने र मलेसिया जाने प्रवृत्ति देखिएको बताए । यो अवधिमा विभागमा साउदी अरबबाट उद्धार गरीपाउँ भन्ने निवेदन धेरै आउने गरेको उनको भनाइ छ । फर्किएका मध्ये साउदी अरबमा वास्तविक रुपमै अलपत्र पर्नेको संख्या भने न्यून रहेको देखिएको छ ।
मलेसियास्थित नेपाली राजदूतावासले नेपाली श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि भएर १ हजार ५ सय रिंगेट भएको जनाउँदै सोहीअनुसार नयाँ श्रमिकको मागपत्र प्रमाणीकरण गर्दै आएको छ । यसले सम्झौताअनुसारको पारिश्रमिक पाउने कानुनी आधार बलियो बनाएको छ । दूतावासले मलेसिया जाने नेपाली श्रमिकको न्यूनतम पारिश्रमिक १ हजार ५ सय रिंगेट नभए मागपत्र प्रमाणित गर्दैन । राजदूतावासले गत मे महिनाबाट लागू हुने गरी नेपाली श्रमिकको न्यूनतम पारिश्रमिक बढेको जनाएको थियो ।
मलेसियाको मानव संशाधन मन्त्रालयले सन् २०२० मा स्वदेशी तथा विदेशी श्रमिकहरुको तलब १ हजार १ सय रिंगेटबाट २०२१ मा बढाएर १ हजार २ सय र हाल १ हजार ५ सय कायम गरेको छ । मलेसियाले राजधानी क्वालालम्पुरसहित देशका ५७ वटा सहरमा विदेशी श्रमिकको पारिश्रमिक लागू गरेको छ । अर्कोतिर पछिल्लो समय मलेसियाले त्यहाँको श्रम कानुनलाई आप्रवासी श्रमिकमैत्री बनाउँदै सेवा–सुविधा, सामाजिक सुरक्षा राम्रो दिनुका साथै अन्य सुरक्षाको प्रत्याभूत गरेको छ ।
गत वर्षदेखि मलेसियाको सामाजिक सुरक्षा कोष (सोक्सो) मा नेपाली श्रमिकसमेत सूचीकृत हुँदै आएका छन् । यस्तो व्यवस्था अन्य श्रम गन्तव्यमा हालसम्म लागू गरिएको छैन । विगतमा मलेसियामा वर्षेनी चार लाख ५० हजारको हाराहारीमा नेपाली युवा जाने गरेका थिए । दूतावासले बढाएको तलब पुराना कामदारको हकमा समेत लागू हुने जनाएको छ ।
दूतावासले निर्धारण गरेको नयाँ पारिश्रमिक नदिने रोजगारदातालाई कारवाहीको प्रक्रियामा ल्याउन मलेसिया सरकारसँग अनुरोध गर्दै आएको छ । हाल मलेसियामा कार्यरत नेपाली सुरक्षा गार्डले त्यहाँ निर्धारण गरिएभन्दा बढी पारिश्रमिक पाउँदै आएका छन् । गत आर्थिक वर्षको पहिलो ५ महिनाको तुलनामा वैदेशिक रोजगारीमा जान श्रमस्वीकृति लिने युवाको संख्या बढेको छ । गत वर्षभन्दा यो वर्ष एक लाख १८ हजार ६ सय ७२ जना बढी कामका लागि विदेश गएका हुन् ।
विभागले सार्वजनिक गरेको मंसिरसम्मको तथ्यांकअनुसार ३ लाख ४९ हजार ८२ जना कामका लागि विदेश गएका छन् । गत वर्ष मंसिरसम्म २ लाख ३० हजार ४ सय १० युवाले श्रमस्वीकृति लिएका थिए । यो अवधिमा समग्रमा श्रमस्वीकृति लिनेको संख्या निरन्तर उकालो लाग्दै गएको छ । यहीअनुसार श्रमस्वीकृतिको संख्या बढ्दै हो भने चालू आवको अन्त्यसम्म ९ लाख नेपाली कामका लागि विदेश जाने देखिन्छ ।