स्थानीय तहमा अझै पुगेनन् बैंक «

स्थानीय तहमा अझै पुगेनन् बैंक

जिल्लाका आधाभन्दा बढी स्थानीय तहमा अझैसम्म बैंक पुग्न सकेको छैन । राष्ट्रिय बैंकले सबै स्थानीय तहसम्म बैंकको शाखा खोल्न निर्देशन दिए पनि हालसम्म पनि जिल्लाका आधाभन्दा वढी स्थानीय तहसम्म शाखा सञ्चालनमा आउन सकेका छैनन् । जिल्लाको बजारी क्षेत्रमा रहेको उप–महानगरपालिका तथा नगरपालिकामा मात्र ‘क’ वर्गका बैंक छन् । राजपुर गाउँपालिका, गढवा गाउँपालिका, दंगिशरण गाउँपालिका, बंगलाचुली गाउँपालिका, बबई गाउँपालिका र शान्ति नगरपालिका गाउँपालिकामा ‘क’ वर्गका बैंकका शाखा खुल्न नसकेको स्थानले तहले जनाएका छन् । घोराही उप–महानगरपालिका, तुलसीपुर उप–महानगरपालिका, लमही नगरपालिका र राप्ती गाउँपालिकामा मात्र ‘क’ वर्गका बैंक छन् ।
स्थानीय तहहरूमा बैंक नहुदा सेवाग्राहीहरूलाई भने समस्या भएको छ । विशेष गरेर सरकारी कामका लागि ‘क’ वर्गको बैंकको व्यवस्था राज्यले गरेको छ । अधिकांश कारोबार बैंक मार्फतहरू गर्नुपर्ने भएका कारण सर्वसाधारण कर्मचारी र जनप्रतिनिधिहरूलाई समस्या भएको हो । सुविधा सम्पन्न ठाउँहरूमा सरकारी र निजि बैंकहरूको संख्या धेरै भए पनि विकट र दुर्गम क्षेत्रका स्थानीय तहमा भने बैंकविहीन छन् ।
नेपाल राष्ट्र बैंकले सबै स्थानीय तहहरूमा अनिवार्य रूपमा बैंक खोल्ने प्रावधान ल्याए पनि बैंकहरूले अझै गाउँ जान त्यति चासो दिएका छैनन् । सुरक्षा र भौतिक पूर्वाधारको अभाव देखाउँदै गाउँ जान मन नगरेका बैंकका एक कर्मचारीले बताए । गाउँपालिकामा अझै पनि पूर्वाधार र सुरक्षाको अभाव छ । त्यो कारण पनि गाउँतहमा जान अझै समय लाग्छ ती कर्मचारीले भने । कारोबार बढी हुने स्थानमा बैंकहरू धमाधम शाखा स्थापना भई रहँदा पनि विकट र दुर्गम मानिने कतिपय स्थानीय तहहरूमा बैंकिङ सुविधा पुग्न सकेको छैन । स्थानीय तहमा ‘क’ वर्गका बैंक नहुँदा सेवाग्राही तथा गाउँपालिकालाई समेत समस्या भएको शान्तिनगर गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीले बताए ।
“स्थानीय तहमा ‘क’ वर्गको बैंक नहुदा सेवा लिन स्थानीय नागरिकलाई सास्ती छ,” डाँगीले भने, “गाउँपालिकामा हुने आर्थिक काम सबै बैंकमार्फत गराउनुपर्छ तर शान्तिनगर गाउँपालिकाबाट बैंकको काम गर्नेका लागि तुल्सीपुर आउनुपर्ने बाध्यता छ ।” उनका अनुसार तुलसीपुर आउनुपर्दा एक दिन नै खर्च गर्नुपर्ने बाध्यता छ । स्थानीय तहमा बैंक स्थापना भएमा नागरिकलाई सहज हुने अध्यक्ष डाँगी बताए । राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसीले पनि गाउँपाकिलामा ‘क’ वर्गको बैंक हालसम्म स्थापना हुन नसकेको बताए । गाउँपालिकाले हाल अन्य बैकबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्ने गरेको छ ।
स्थानीय तहमा बैंक स्थापना नहुँदा लमही आएर कारोबार गर्नुपर्ने बाध्यता रहेको अध्यक्ष केसीले बताए । “लमही गएर कारोबार गर्नुपर्दा समस्या भोग्नु परेको छ,” केसीले भने, “लमही आएर काम गराउनु पर्दा एक दिनको समय नै बित्ने गरेको छ ।” त्यसैगरेर बबई गाउँपालिकामा पनि बैंक स्थापना हुन सकेको छैन । बबई गाउँपालिका उपाध्यक्ष सावित्रा विकका अनुसार गाउँपालिकामा हालसम्म सरकारी तथा ‘क’ वर्गका बैंक स्थापना हुन सकेको छैन । गाउँपालिकामा बैंक स्थापना हुन नसक्दा बैंकबाट गर्नुपर्ने कारोबारका लागि तुलसीपुर आउनुपर्ने बाध्यता भएको उनले बताइन् ।

अमरराज आचार्य

 

प्रतिक्रिया दिनुहोस्