वैदेशिक रोजगारीमा ८ प्रतिशत महिला

दुई वर्षअघिको तुलनामा वैदेशिक रोजगारीमा जाने महिलाको संख्या ३ प्रतिशतले वृद्धि भएर ८ प्रतिशत पुगेको छ । वैदेशिक रोजगारीका क्रममा ठगीमा परेका श्रमिकलाई निःशुल्क कानुनी सेवा दिँदै आएको पिपुल फोरमले गरेको अध्ययनले वैदेशिक रोजगारीमा जाने महिलाको संख्या ५ प्रतिशतबाट वृद्धि भएर ८ प्रतिशत पुगेको देखाएको हो ।
पिपुल फोरमका अध्यक्ष सोम लुइँटेलले विगत दुई दशकयता कामका लागि विदेशिने नेपाली महिलाको संख्या वृद्धि भएको बताए । यसअघि ५ प्रतिशतमात्र महिलाले श्रमस्वीकृति लिने गरेकोमा पछिल्लो आव २०७८/०७९ सम्ममा ५० लाख ८ हजार ३३१ कामदारले श्रमस्वीकृति लिएकोमा ८ प्रतिशत महिला रहेको वैदेशिक रोजगार विभागको तथ्यांक छ ।
केन्द्रीय तथ्यांक विभागले प्रकाशन गरेको राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार २१ लाख ६९ हजार ४७८ जना व्यक्ति नेपाल बाहिर बसोबास गरिरहेका छन् । जसमध्ये १८.७२ प्रतिशत अर्थात् ४ लाख ६ हजार १६३ महिला रहेका छन् । नेपालले औपचारिक रूपमा १११ राष्ट्रमा वैदेशिक रोजगारीका लागि खुला गरेको छ । अधिकांश महिला आप्रवासी कामदारहरू केयरटेकर, नर्स र घरेलु कामदारका रुपमा यूएई, कतार, साउदी अरेबिया, कुवेत, साइप्रस र जोर्डन जस्ता गन्तव्य मुलुकमा जाने गरेका छन् ।
जोखिम पनि बढयो
कोभिड–१९ को समयमा वैदेशिक रोजगारीको सिलसिलामा गएका नेपाली कामदारहरू विभिन्न देशमा अलपत्र परेका थिए । त्यसमध्ये पनि महिला आप्रवासी कामदार अझ बढी जोखिममा परेका थिए । उक्त विषयलाई मध्यनजर गर्दै नेपाल सरकारले महिला आप्रवासी कामदारहरूको सुरक्षाका लागि हाल प्रचलनमा रहेका कानुनको पालना गर्दै विभिन्न उपाय तथा कार्यहरू अवलम्बन गरिरहेको जनाएको छ ।
वैदेशिक रोजगार विभागका महानिर्देशक उमाकान्त आचार्यले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई विभिन्न बहनामा ठगी गर्ने क्रम बढेको बताए । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रको तथ्यांकअनुसार कोभिडका कारण असहज परिस्थितिमा विदेशमा अलपत्र परेका ५ लाख ७२ हजार ५७१ नेपाली नागरिकको उद्धार गरिएको थियो । कोभिड महामारीको समयमा महिला कामदार बढी जोखिममा परेका थिए ।
विशेषगरी घरेलु कामजस्ता अनौपचारिक क्षेत्रहरूमा रहेका महिला आप्रवासी कामदार शोषण र दुर्व्यवहारको शिकार भएका थिए । कोभिड महामारीको समयमा महिला आप्रवासीहरूले तलब नपाउने, आधा तलबमा काम गर्नुपर्ने समेत अवस्था थियो । घरेलु कामदारको रुपमा काम गरेका महिला आप्रवासी कामदार न्यूनतम कानुनी संरक्षणबाट वञ्चित हुनुका साथै महिला कामदारहरूप्रतिको नकारात्मक समाजिक दृष्टिकोण पनि मुख्य समस्याको रुपमा रहेको छ । महिला कामदारहलाई भाइरस क्यारियरको रूपमा लिने गरेको साथै गर्भवती भएर फर्किएका महिलाहरूलाई पनि हेलाको दृष्टिले हेर्ने गरेको अध्ययनमा उल्लेख छ ।
यसबाहेक अलेखबद्ध रुपमा वैदेशिक रोजगारमा गएका महिला कामदार अझ बढी जोखिममा पर्ने गरेका छन् । महिला कामदारको सुरक्षित र मर्यादित फिर्ती तथा पुनः एकीकरण ठूलो चुनौतीको रुपमा रहेको छ । ‘कोभिड–१९ का कारण महिला आप्रवासीहरूले रोजगारी र जीविकोपार्जन गुमाउँदा उनीहरूलाई मात्र संघर्ष गर्नुपरेको छैन, रेमिटेन्समा आश्रित देशका धेरै परिवारले आफ्नो आर्थिक जीवनरेखा गुमाउनु परेको छ,’ अध्ययन प्रतिवेदनमा भनिएको छ ।