नेपाली कामदारमा बढ्दो कोरिया आकर्षण «

नेपाली कामदारमा बढ्दो कोरिया आकर्षण

नेपालमा बर्सेनि १० खर्बभन्दा बढीको व्यापारघाटा हुने गरेको तथ्यांक सार्वजनिक भएपछि देशको नाजुक अर्थतन्त्रको तस्बिर प्रस्टै देखिन्छ ।

नेपालमा बेरोजगारी बढेपछि विगत दुई दशकभन्दा अघिदेखि वैदेशिक रोजगारी युवाहरूको बाध्यता हो । विश्वका १ सय १० श्रमगन्तव्य मुलुकमा यतिबेला ४५ लाखभन्दा धेरै नेपाली युवायुवतीको उपस्थिति छ । नेपालमा बर्सेनि ४ लाख शिक्षित बेरोजगार उत्पादन हुने र स्वदेशमै रोजगारीको सम्भावना भने नगन्य नै रहने गरेपछि कुन देशमा जाँदा राम्रो भन्दै युवाहरू दैनिक रूपमा म्यानपावर कम्पनीतिर धाइरहेका छन् । हरेकजसो सरकार र राजनीतिक दलहरूले स्वदेशमै रोजगारी दिने मीठो आश्वासन दिने गरेका भए पनि कामभन्दा कुरा बढी नेपालको विशेषता नै हो । यस्तै श्रमगन्तव्यमध्ये दक्षिण कोरिया पछिल्ला दिनहरूमा युवाहरूको रोजगारीको भरपर्दो श्रमगन्तव्यका रूपमा रहेको छ ।
सन् २००८ देखि कोरियाले नेपाली कामदार लिन थालेपछि त्यसयता हालसम्म ५८ हजारभन्दा बढी नेपाली त्यहाँ रोजगारीका लागि पुगिसकेका छन् । कोरियामा रोजगारीका लागि जान अरू देशमा गएजस्तो सजिलो छैन । यहाँ रोजगार अनुमति प्रणालीअन्तर्गत भाषा परीक्षा पास गरेपछि मात्र जान पाइन्छ । यसरी भाषा परीक्षा पास गरेर काम गर्न जानेमध्ये सन् २००८ मा २ हजार ८ सय १४ जना नेपाली कोरिया पुगेका थिए । त्यस वर्ष ३१ हजार ५ सय २५ जनाले परीक्षा दिएकोमा ६ हजार ७ सय ८६ जना उत्तीर्ण भएका थिए । त्यस्तै सन् २००९ मा भाषा परीक्षा भएन र अघिल्लो वर्षकै उत्तीर्ण भएकामध्ये १ हजार ९ सय ११ जना कोरिया गएका थिए । २०१० मा ३६ हजार २ सय ३ जनाले परीक्षा दिए पनि ४ हजार १ सय ८० जनाले मात्र परीक्षा पास गरेका थिए । यो वर्ष २ हजार ३ सय ३९ जना कोरिया पुगे ।
इपिएस कोरिया शाखाले दिएको एक तथ्याङ्कअनुसार सन् २०११ मा ५० हजार ४३ जनाले भाषा परीक्षा दिएका थिए, जसमध्ये १५ हजार ६ सय ७८ जना उत्तीर्ण भएका र ३ हजार ९ सय ८३ जना मात्र कोरिया गएका थिए । अघिल्लो वर्ष उत्तीर्ण भएकाहरू नै जान बाँकी रहेकाले सन् २०१२ मा भाषा परीक्षा स्थगित गरियो । यो वर्ष ६ हजार ३ सय ३२ जना कोरिया गए । यसैगरी सन् २०१३ मा ४४ हजार १ सय १२ जनाले परीक्षा दिएकोमा ८ हजार ५१ जना पास भए र ५ हजार ४६ जना कोरिया गए । २०१४ मा ५७ हजार ७ सय ४६ जना परीक्षामा सामेल भए । ३ हजार ६ सय ६३ जना उत्तीर्ण भएका र यस वर्ष ६ हजार २८ जना कोरिया गएका थिए । २०१५ मा ५१ हजार १ सय ३७ ले परीक्षा दिएर ८ हजार ४ सय ९० जना पास भए । यो वर्ष ५ हजार ८ सय ६६ जना कोरिया पुगेका थिए । सन् २०१६ मा ६० हजार ६ सय २६ जना परीक्षामा सामेल भएकामध्ये ३ हजार ५ सय १७ जना मात्र सफल भए र यस वर्ष ६ हजार ६ सय २६ जना कोरिया उडेका थिए । सन् २०१७ मा भने कोरियाले कामदारको कोटा बढाएर १२ हजार १ सय ८ पु¥यायो । आवेदन दिनेहरूको संख्या पनि ७५ हजार ५ सय ८३ जना पुगेको थियो ।
गत वर्ष (२०१८ मा) ८२ हजार २ सय ६४ जनाले भाषा परीक्षाका लागि आवेदन दिएका थिए । यीमध्ये ६८ हजार ४ सय ६९ जना मात्र परीक्षामा सम्मिलित थिए । परीक्षामा सम्मिलितमध्ये १० हजार २ सय जनाले कोरियामा गई काम गर्ने अवसर पाए । यस वर्ष पनि ईपिएसले आगामी जेठको अन्तिम साता भाषा परीक्षा गर्ने गरी १० हजार ५० जनाको कोटा निर्धारण गरेको छ, जसमध्ये उत्पादनमूलक क्षेत्रमा ७ हजार ५० र कृषितर्फ ३ हजार तोकिएको छ । परीक्षाका लागि चैत ८ देखि १७ गतेसम्म आवेदन माग गरिएमा ९२ हजार २ सय ४ जनाको आवेदन परेको छ । यस वर्ष कति जना उत्तीर्ण हुने हुन्, त्यो अहिले नै केही भन्न सकिने अवस्था छैन ।
यसरी हेर्दा २००८ देखि २०१६ सम्म भाषा परीक्षा दिनेहरूको संख्या ३ लाख ३२ हजार ४ सय २ छ, जसमध्ये ५० हजार ३ सय ६५ जनाले परीक्षा पास गरे पनि ४० हजार ९ सय ४५ जना मात्र कोरिया पुगेका छन् । रोजगार अनुमति प्रणाली लागू हुनुभन्दा पहिले कोरिया जानेहरूले निकै ठूलो रकम खर्च गर्नुका साथै झन्झट पनि बेहोर्नुपरेको थियो । यो प्रणाली लागू भएपछि केही सहज त भएको छ, तर कोरियाले युवा चाहनाअनुरूप कोटा नदिएपछि भने नेपालीहरूमा केही निराशा जागेको पनि पाइएको छ ।
कोरियाले अहिले नेपालबाट उत्पादनमूलक क्षेत्र र कृषिक्षेत्र गरी दुई प्रकारबाट श्रमिक लैजाने गरेको छ । कृषि र पशुपालनभन्दा धेरै औद्योगिक क्षेत्रतिर काम गर्न जानेहरूको संख्या अधिक छ । यहाँ पुगेका श्रमिकले न्यूनतम मासिक १ लाख २५ हजार नेपाली रुपैयाँदेखि बढीमा ३ लाखसम्म पारिश्रमिक पाउने गरेका छन् । अहिले कोरिया जान पहिले जस्तो लागत पनि धेरै पर्दैन । अन्य खाडी मुलुकहरूमा जाँदा ३ वर्षसम्मको करार अवधि भए पनि कोरियाको हकमा भने यो अवधि ४ वर्ष १० महिना छ । पछि समयावधि थप्न पनि मिल्ने भएकाले नेपाली युवाहरूको आकर्षण कोरियामा बढेको हो ।
एकातिर यस्तो अवस्था छ भने अर्कातिर युवायुवतीहरूले भाषा परीक्षा तयारीका लागि भन्दै प्रतिव्यक्ति २५ हजारभन्दा बढी खर्च गर्ने गरेको पनि पाइएको छ । एक वर्षमै ७५ हजारसम्मले परीक्षा तयारी गर्ने तर १० हजारजति मात्र उत्तीर्ण हुने गरेपछि भाषा परीक्षाकै लागि कति समय र पैसाको खर्च भएको छ यसको हिसाब नै छैन । तैपनि बेरोजगार युवाहरूको यो बाध्यता हो । यतिबेला देश पूरै रेमिट्यान्सले मात्रै चलेको छ भन्दा फरक पर्दैन । वार्षिक रेमिट्यान्स ७ खर्ब भन्दा धेरै भित्रिने गरेको नेपालमा बर्सेनि १० खर्बभन्दा बढीको व्यापारघाटा हुने गरेको तथ्यांक सार्वजनिक भएपछि देशको नाजुक अर्थतन्त्रको तस्बिर प्रस्टै देखिन्छ ।
गत वर्ष देशमा सबै खाले निर्वाचनहरू सकिएको छ । गत वर्ष सकिएको यिनै निर्वाचनका लागि विभिन्न राजनीतिक दलले आफ्ना घोषणापत्रहरूमा देशमा रोजगारी दिलाउने मीठा आश्वासन पनि अटाएका थिए । विगतमा पनि यस्ता आश्वासनहरू आएको तर सोअनुसार काम नभएको जनताले भोगिसकेका छन् । अहिले पनि ती घोषणापत्रहरू कर्मकाण्ड पूरा गरेजस्तै मात्र देखिएको छ । कार्यान्वयन गर्न सके थोरै मात्र बाँकी रहेका खोरिया बेचेर कोरियालगायतका अन्य मुलुकहरूमा जानु नपर्ने बेरोजगार युवाको माग भए पनि उनीहरूका आवाज कसैले पनि सुनिरहेका छैनन् । त्यसैले काम गर्नकै लागि विदेश धाउनु नै परेपछि उनीहरू कहाँ राम्रो कमाइ हुन्छ भनेर खोजी गरिरहेको अवस्थामा यतिखेर कोरिया नै पहिलो रोजाइको गन्तव्य बनेको पाइएको छ ।
पछिल्ला दिनहरूमा जुनसुकै सरकार आए पनि रोजगारी दिलाउने मीठा आश्वासन बाँड्ने तर कामचाहिं केही नगर्ने खराब परिपाटीको पनि विकास हुन थालेपछि नेपाली युवाहरू भरपर्दो श्रमगन्तव्य खोज्दै कोरिया लगायतका अन्य देशहरूमा दैनिक १ हजार ७ सयको हाराहारीमा बाहिरिने गरेको वैदेशिक रोजगार विभागले जनाएको छ । वैदेशिक रोजगारीमा जानु युवाहरूको रहर नभएर बाध्यता भएको र यसरी बाहिरिएको जनशक्ति स्वदेशमै परिचालन गर्ने वातावरण मिलाउने हो भने आगामी केही वर्षमै नेपाल समृद्धिको बाटोमा अघि बढ्ने निश्चित छ । तर, सोचेअनुसार र कुरा गरेअनुसार काम हुन सकेको छैन । नेपालमा कामका भन्दा धेरै हावा खालका कुरा गर्नेहरूको जमात बढेको छ । सरकार स्वदेशमै रोजगारी दिने मन्त्र त जपिरहेको छ, तर रोजगारी शून्यको निराशाजनक अवस्थाको सामना गर्न नागरिक बाध्य छन् ।
सरकारले आफ्ना अमूल्य निधिका रूपमा रहेका युवा जनशक्तिलाई विदेश पठाउने नीति बनाउनुभन्दा पनि कसरी स्वदेशमै रोजगारी दिलाउन सकिने र बाहिरिएको जनशक्तिलाई कसरी स्वदेश फर्काउने भन्ने कार्यक्रम ल्याउन जरुरी छ । तर, यस्ता कुरामा न विगतका सरकार लागे, न अबका सरकारहरूले नै सक्रियता देखाउन सके; जसका कारण दैनिक रूपमा हजारौं युवा विदेश पलायनको बाटोमा छन् । देश चलाउने युवाहरू विदेश पठाएर नेपालमा बुढेसकालमा आराम गर्नुपर्ने उमेरका नेताहरूले देश चलाइरहेका छन् । देशको भिजन पूरै पुरानै सोचबाट सञ्चालित छ । यसरी देशको विकास कसरी सम्भव होला ? यतातिर पनि सोच्नु अहिले सरकार र सम्बन्धित नागरिकको टड्कारो आवश्यकता हो ।

प्रतिक्रिया दिनुहोस्