भैरहवाबाट जनवरीमा १३ हजार पर्यटक

भैरहवा । स्थलनाका भैरहवाको बेलहिया हुदै सन् २०१८को पहिलो महिना जनवरीमा नेपाल भ्रमणका लागि आउने विदेशी पर्यटकको संख्यामा २६ प्रतिशतले वृद्धि भएको छ । यो वर्षको जनवरी महिनामा १२ हजार ९ सय ९६ पर्यटक स्थलमार्गको बेलहिया नाका हुदै नेपाल भ्रमणका लागि आएका थिए ।
गत वर्षको जनवरी महिनामा १० हजार २ सय ७६ पर्यटक यो नाकाको प्रयोग गर्दै नेपाल आएका थिए । पर्यटक आगमन संख्यामा २६ प्रतिशतले वृद्धि भएको सिमानामा अवस्थित अध्यागमन कार्यालय बेलहियाका नायब सुब्बा पवन श्रेष्ठले जानकारी दिए । जनवरी महिनामा पर्यटक आगमन उच्च रहेको यो पहिलो पटक हो । सन् २०१३ को जनवरीमा १० हजार ७ सय २४, सन् २०१४ को जनवरीमा ६ हजार ७ सय ७८, २०१५को जनवरीमा ९ हजार ६ सय ३१ र २०१६मा १० हजार १ सय पर्यटक आएका थिए ।
चालू वर्षको जनवरीमा सबैभन्दा बढी थाई पर्यटकको आगमन भएको छ । थाईहरू ४ हजार ५ सय ९८ जना स्थलमार्ग हुदै नेपाल प्रवेश गरेका थिए । त्यस्तै गरी सोही महिनामा म्यान्मार (बर्मा)का ३ हजार ५ सय १४, दक्षिण कोरियाका २ हजार ३७, चीनका ५ सय ८, भियतनामका २ सय ८४, अमेरिकाका २ सय ४४, ताईवान र अष्ट्रेलियाका १७४ र १७४, जापानका १ सय ४१ पर्यटक स्थलनाका हुदै नेपाल आएका छन् । पर्यटक आगमन संख्या भारतीय पर्यटक बाहेकको हो । स्थलनाका हुँदै नेपाल आउने पर्यटकको मुख्य गन्तव्य बुद्ध जन्मस्थल लुम्बिनी हो । बुद्धिस्ट मुलुक थाइलैण्ड, म्यान्मार, दक्षिण कोरिया, भियतनाम, कम्बोडिया, चिन, जापान, लगायतका मुलुकका पर्यटकको मुख्य गन्तव्य लुम्बिनी हो । अन्य युरोपियन तथा अमेरिकन मुलुकका पर्यटक मध्ये केही लुम्बिनी जाने गरेको र धेरै सोझै काठमाडौँ , पोखरा, चितवन, मुस्ताङतर्फ जाने गरेको पर्यटन व्यवसायीहरू बताउँछन् ।
पर्यटक आगमन बढेसँगै भैरहवा लुम्बिनी क्षेत्रमा होटल व्यवसायमा लगानी समेत बढ्दै गएको छ ।