सम्भावना ‘ताल पर्यटन’को «

सम्भावना ‘ताल पर्यटन’को

नेपाल प्राकृतिक सौन्दर्यको अनुपम उपहार हो । प्राकृतिक रूपमा नेपालमा धेरै महत्वपूर्ण स्थानहरू रहेका छन् । हिमाली क्षेत्र, पहाडी क्षेत्र र तपाई क्षेत्रमा प्राकृतिक रूपमा धेरै सम्पदाहरू रहेका छन् ।
सबै क्षेत्रलाई पर्यटन समेट्न सक्ने हो भने वार्षिक लाखौं पर्यटक भित्र्याएर अर्बौं विदेशी मुद्रा सजिलै आर्जन गर्न सकिन्छ । अहिले पनि नेपालमा केही हिमाली क्षेत्र र चितवन र पोखराबाहेक क्षेत्रलाई प्रर्वद्धन गर्न सकेका छैनौ ।
नेपालको पर्यटनमा धेरै सम्भावना बोकेको क्षेत्रमध्ये एक हो ताल पर्यटन । नेपालमा अहिलेसम्म पनि यति ताल छन् भन्ने अध्ययन हुन सकेको छैन् । शुक्रबार विश्वभर सिमसार दिवससमेत मनाइएको छ ।
ताललाई पर्यटनसँग जोड्ने हो भने संरक्षण र विकास पनि हुने दाबी सरोकारवालाहरू बताउँछन् । त्यहीमध्ये नेपालमा सौन्दर्यले भरिपूर्ण तालको संख्या धेरै छ । कति त प्रचारप्रसार नभएरै लोप भइसकेका छन् भने भएका जति केही तालहरू संरक्षणको अभावमा दूषित वा लोप हुने अवस्थामा छन् ।
नेपालको भौगोलिक नक्साअनुसार नेपालमा ५ हजार ३ सय ५८ ताल छन् । तर यसको संरक्षण र प्रवद्र्धन हुन नसक्दा अहिले ६० प्रतिशत ताल लोप भैसकेको राष्ट्रिय ताल संरक्षण विकास समितिका अध्यक्ष नानीकाजी थापा बताउँछन् । पहाडी क्षेत्र र तराई क्षेत्र तालको संख्या बढी लोप भएको पनि थापाले जानकारी दिए ।
विश्वका धेरै मानिसहरू समुन्द्री किनारलाई नै घुम्नका लागि राम्रो गन्तव्य बनाएका हुन्छन् । नेपाल भूपरिवष्ठित देश भएकाले पनि नेपालमा सीमित ताल नै पर्यटकीय गन्तव्य हुन् । पछिल्लो समय घुमफिर गर्ने परम्परा विकसित हुँदै गएको छ । अधिकांश समय जमिनमै रही रहने भएकाले तालमा घुम्दा बेग्लै आनन्द पनि आउँछ । प्राकृतिक सम्पदाले भरिपूर्ण देश नेपालमा केही त्यस्ता तालहरू अवस्थित छन्, जहाँ पुग्ने लालचा विश्वका पर्यटकलाई हुने गरेको छ । नेपालका १० वटा तालहरू रामसार क्षेत्रमा सूचीकृतसमेत भएको छ ।
रामसार क्षेत्रमा कोशी टपु ताल, पोखरा क्षेत्रका ९ वटा, घोडाघडी ताल, बिसहजारी ताल, गोसाइकुण्ड, शे–फोक्सुन्डो, रारा, तिलिचो, पाँचपोखरी तथा च्छो रोल्पा ताल रहेका छन् ।

रारा ताल
पछिल्लो समय स्वदेशी र विदेशी पर्यटकको आकर्षणको केन्द्र रारा ताल हुने गरेको छ । विगतमा सडक यातायातमा नाजोडिएका कारण जान समस्या भए पनि पछिल्लो समय भने सहज हुँदै गएको छ । नेपालमा भएका मध्ये सबैभन्दा ठूलो ताल हो यो । सूर्य अस्ताउँदा र उदाउँदा देखिने रारा तालको सुन्दरताले जोकोहीलाई मोहित तुल्याउँछ ।
समुन्द्री सतह भन्दा २९९० मिटर (९८१० फिट) को उचाइमा रहेको यस ताल जुम्ला र मुगु जिल्लास्थित रारा राष्ट्रिय निकुञ्ज अन्तर्गतको रामसार क्षेत्रभित्र पर्दछ । ५.१ किलोमिटरको लम्बाइ तथा २.७ किलोमिटरको चौडाइमा फैलिएको यस तालको पानीको सतह १.८ वर्ग किलोमिटर र १६७ मिटरको गहिराइ रहेको छ । रारा ताललाई सन् २००७ मा रामसार क्षेत्र घोषणा गरिएको हो ।

 

तिलिचो ताल
नेपालको सबैभन्दा उच्च स्थानमा रहेको ताल हो । समुन्द्री सतह भन्दा ४९१९ मिटर (१६,१३८ फिट) को उचाइमा रहेको तिलिचो ताल मनाङ जिल्लामा अवस्थित अन्नपूर्ण संरक्षित क्षेत्रमा पर्दछ । ४.८ वर्ग किलोमिटरको समतल क्षेत्रफलमा फैलिएको यस ताल ८५ मिटर (२८७९ फिट) गहिरो छ भने ४ किलोमिटर लम्बाइ तथा १.२ किलोमिटर चौडाइ रहेको छ । यसको प्रमुख विशेषता भनेको यहाँ कुनै पनि जलचर प्राणी छैनन् । यो तालको वरपर देखिने पहाडको दृष्यले सौन्दर्यता थपिएको छ ।

से–फोक्सुन्डो ताल
डोल्पा जिल्लामा अवस्थित फोक्सुन्डो ताल समुन्द्री सतहबाट ३६१५ मिटर उचाइमा छ । करिब ४.९४ वर्ग किलोमिटरको क्षेत्रफलमा फैलिएको यस तालको लम्बाइ ५.१५ किलोमिटर तथा चौडाइ ८०० मिटर रहेको छ । यस ताललाई सन् २००७ मा रामसार क्षेत्र घोषणा गरिएको हो । नेपालको सबैभन्दा गहिरो ताल हो यो । यसको गहिराइ १४५ मिटर (४७६ फिट) रहेको छ ।

गोसाइँकुण्ड
समुन्द्री सतह भन्दा ४,३८० मिटरको उचाईमा रहेको गोसाइँकुण्ड रसुवा जिल्लामा अवस्थित छ । लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्ने यस तालको क्षेत्रफल १३.८ हेक्टर रहेको छ । यस क्षेत्रमा जनै पूर्णिमाको दिन विशेष मेला लाग्ने गर्दछ ।

पाँच पोखरी
सिन्धुपाल्चोकमा पर्ने लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्ने यहाँ पाँच तालहरू छन् । एकै ठाउँमा प्राकृतिक रुपमा बनेको पाँच वटा ताल हेर्नलायक छ । विश्वकै उच्च अल्टिच्युडमा रहेको यस ताल समुन्द्र सतहबाट ४१०० मिटर माथि छ । यस तालमा जनै पूर्णिमाको अवसरमा मेला लाग्ने हुँदा सो समयमा यहाँ पर्यटकहरूको घुइँचो लाग्ने गर्दछ । यस स्थलबाट जुगल, लाङटाङ, रोलवालिङ लगायतका हिमालहरूको दृष्य राम्रोसँग देख्न सकिन्छ ।
जनैपूर्णिमामा त्यहाँ ठूलै मेला लाग्छ । मेलामा सिन्धुपाल्चोक तथा आसपासका जिल्लाका साथै राजधानीबाट पनि थुप्रै मानिस पुग्छन् । फाट्टफुट्ट विदेशी पनि उकालो चढिरहेका भेटिन्छन् । बाटोको अधिकांश भागमा ढुंगा ओछ्याइएकाले हिँड्न त्यति गाह्रो हुँदैन । प्राकृतिक सुन्दरता र संस्कृतिले भरिपूर्ण टे«किङ गन्तव्य हो पाँचपोखरी । यात्राभरि इन्द्रावतीले पछ्याइरहन्छ । जति माथि गयो, ईन्द्रावती त्यति कञ्चन सेतो देखिँदै जान्छ । इन्द्रावतीको मुहान नै पाँचपोखरी हो ।
इन्द्रावतीको उद्गमस्थलका रूपमा रहेका यी पाँच पोखरी सबैका बेग्लाबेग्लै नाम छन्– भैरव कुण्ड, सरस्वती कुण्ड, गणेश कुण्ड, सूर्य कुण्ड र नाग कुण्ड । यसको धार्मिक पक्ष खोतल्दै जाने हो भने स्कन्ध पुराणको हिमवत् खण्डमा पञ्चपोखरी नामको महान् तीर्थस्थलको वर्णन छ, जसलाई तीर्थराज प्रयाग र बाँडगंगा (कुरुक्षेत्र) समानका तीर्थस्थल भनिएको छ ।
मौसम सफा भएका बेला सबै पोखरीमा निलो आकाश र त्यसका बादलहरू ऐनाजस्तै सजिएका देखिन्छन् । पूरै पोखरी घुम्न झन्डै एक घण्टा लाग्छ । पोखरीबाट करिब आधा घण्टा हिँडेर माथि डाँडामा पुगेपछि आँखैअगाडि हिमालहरु देखिन्छन् ।
पाँचपोखरीमा भगवान शिवको मन्दिर छ । त्यहाँको ढुंगामा बयान गरिएको किंवदन्ती निकै रोचक छ ।

च्छो रोल्पा
दोलखा जिल्लामा रहेको च्छो रोल्पा ताल ४,५८० मिटरको अल्टिच्युडमा अवस्थित छ । १५४ हेक्टर क्षेत्रफलमा फैलिएको यस ताल गौरीशंकर संरक्षित क्षेत्र अन्तर्गत पर्दछ । २७० मिटर अधितम गहिरो रहेको यस तालको लम्बाइ ३.४५ किलोमिटर छ ।

फेवा ताल
समुन्द्री सतहभन्दा ७४२ मिटर (२४३४ फिट) को उचाइमा अवस्थित यस तालको बीचमा ताल बाराही मन्दिरले यस तालको झन सुन्दरता बढाएको छ । ४.४३ वर्ग किलोमिटरको क्षेत्रफलमा अवस्थित यस तालको लम्बाई १७ किलोमिटर छ भने अधिकतम गहिराई २४ मिटर रहेको छ । पोखरामा अवस्थित फेवा सबै भन्दा धेरैले अवलोकन गर्ने तालको रुपमा पर्दछ । पोखरा क्षेत्रमा ९ वटा तालहरू रहेका छन् ।
त्यस्तैगरी बझाङको सुर्मा सरोवर, खप्तड ताल, बाजुराको बुढी नन्दा र छेडे दह र रुकुमको बाह्रकुने ताल कैलालीको घोडाघोडी ताल पनि चर्चित तालहरूमा पर्दछन् ।

ताल संरक्षणमा समस्यै समस्या
नानीकाजी थापा
अध्यक्ष, ताल संरक्षण विकास समिति
आर्थिक अभाव र प्रयाप्त जनशक्ति अभावका कारण ताल संरक्षणमा चाहे अनुरुप काम गर्न सकिएको छैन । तालको राम्रो संरक्षण हुँदा कतिपय स्थानमा आन्तरिक र बाह्य पर्यटकको आवतजावत पनि राम्रै छ । यसले गर्दा त्यो क्षेत्रको पर्यटन विकास र आय आर्जनमा पनि सघाउ पुगेको छ । नेपालमा अहिले जति पनि ताल छन्, ती मध्ये कतिपय तालको बजेट अभाव र अन्य उच्च स्तरिय प्राविधिक स्रोतको अभावमा अभिलेख राख्न सकिएको छैन ।
३ हजारदेखि मिटरदेखि तल्लो तटिय क्षेत्रका चार विकाश क्षेत्रका तालहरूको अभिलेख राखिसकेको र सूदुरपश्चिमाञ्चल विकाश क्षेत्रमा यो काम बाँकी रहेको छ । नेपालको पर्यटन क्षेत्रमार्फत देशको आर्थिक क्षेत्रमा राम्रो सम्भावना बोकेका तालहरूको स्थानीय स्तरदेखि केन्द्रीय स्तरसम्मले समयमै यसको संरक्षण र प्रवद्र्धनका लागि आवश्यक पहल गर्न जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्