२६ वर्षपछि माझीटारमा काठे डुंगा
पाँचथर र तेह्रथुम हुँदै बग्ने तमोर नदीमा पर्ने माझीटारमा २६ वर्षपछि स्थानीय माझी युवाले डुंगा सञ्चालन गरेका छन् । तमोर नदीमा २०५३ सालमा झोलुंगे पुल बनेपछि माझीटारका माझीहरू पुरानो पेसाबाट विस्थापित भएका थिए । माझीटारका युवा र माझी अगुवाले पुख्र्याैली पेसालाई निरन्तरता दिँदै तमोरमा पर्यटक तान्ने लक्ष्यका साथ काठे डुंगा सञ्चालन गरेका हुन् ।
माझीटारमा घुम्न आउने आन्तरिक पर्यटकलाई जलयात्रा गराउँदै तमोरमा घुमाउने उद्देश्यले फलेदोको काठबाट काठे डुंगा निर्माण गरिएको र जलयात्राका लागि आवश्यक पर्ने सुरक्षाका सामग्रीसहित डुंगा सञ्चालन गरिएको स्थानीय अगुवा राम माझीले बताए । स्थानीयको एक लाख रुपैयाँमा तयार गरिएका डुंगाबाट माझीहरूको संस्कृति संरक्षण गर्ने र तमोर नदीमा परम्परागत तरिकाले पर्यटकलाई तमोरमा सयर गराउने लक्ष्य रहेको राम माझीले जानकारी दिए ।
माझीटारमा विगतमा माछा मार्ने, डुंगा चलाउने तथा परम्परागत खेतीपाती गर्ने माझी समुदाय अहिले नयाँनयाँ पेसा तथा स्वरोजगारमूलक व्यवसायमा जोडिँदै गएको छ । माझीटारका माझी समुदायले अहिले माछा मार्न त छाडेका छैनन् तर उनीहरूले माछामा आधारित व्यवसाय पनि थालेका छन् । विकास निर्माणका कार्य आँगनमै आइपुगेपछि उनीहरू कामदार तथा सीपमूलक पेसामा जोडिन थालेका हुन् ।
माझीटार हुँदै पुष्पलाल मध्यपहाडी लोकमार्ग विस्तार भएको छ भने तमोर करिडोर सडक निर्माणका क्रममा छ । दशकअघि माझीटारमै पक्की पुल निर्माण भएको छ । विकाससँगै यहाँका माझी समुदायका मानिस सीपमूलक पेसामा जोडिन थालेका छन् । आन्तरिक पर्यटन चलायमान हुँदै गएपछि माझी समुदायले त्यसबाट लाभ लिने माध्यम खोज्न थालेका छन् । यस क्रममा माछा मारेर बिक्री गर्नेमात्रै होइन, माछाका परिकार बिक्री गर्न व्यवसाय पनि थालेका छन् ।
व्यवस्थित र व्यावसायिक रूपमा माझी समुदायले होटल, रेस्टुराँ नचलाए पनि ग्राहकको समस्या छैन । माझीटारमा माझी समुदायबाटै आधा दर्जन बढी होटल सञ्चालनमा ल्याइएका छन् । फिदिम आइपुग्ने धेरै पर्यटक माझीटारका माछाको स्वाद लिन यहाँ आइपुग्छन् । अहिले विकासको गतिसँगै नयाँनयाँ पेसा व्यवसायमा जोडिने क्रमले आर्थिक अवस्थामा पनि सुधार आएको छ ।