प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मुलुकको प्रधानमन्त्री बनेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम आइतबार साँझ दाहाललाई प्रधानमन्त्री पदमा नियुक्त गरेकी हुन् ।
‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम पुष्पकमल दाहाल प्रचण्डलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्त गर्नु भएको छ,’ राष्ट्रपतिको कार्यालयले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
दाहाल नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र तीन जना स्वतन्त्र सांसदको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका हुन् । यो दाहालको तेस्रो कार्यकाल हो । यसअघि उनी २०६५ र २०७३ मा प्रधानमन्त्री बनेका थिए ।
दाहालले आइतबार प्रधानमन्त्री पदका लागि आफूलाई माओवादीसहित सात दल र तीन जना स्वतन्त्र सांसदको समर्थन रहेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष दाबी प्रस्तुत गरेका थिए । त्यसपछि राष्ट्रपति भण्डारीले दाहाललाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।
मंसिर ४ को प्रतिनिधिसभा निर्वाचनमा कुनै पनि राजनीतिक दलको स्पष्ट बहुमत नआएपछि राष्ट्रपति भण्डारीले एक साताअघि संविधानको धारा ७६ को उपधारा २ बमोजिम राजनीतिक दलहरुलाई सरकार गठन गर्न आह्वान गरेकी थिइन् । नवनियुक्त प्रधानमन्त्री दाहालले आज सोमबार दिउँसो ४ बजे राष्ट्रपति भवन शीतलनिवासमा शपथ ग्रहण गर्ने कार्यक्रम छ ।
फेरि आलोपालो
आमनिर्वाचन २०७४ ताका नेपाली राजनीतिमा एउटा शब्द निकै चर्चित थियो– आलोपालो प्रधानमन्त्री । बाम गठबन्धन बनाएर चुनावमा होमिएका नेकपा एमाले र नेकपा माओवादीले बहुमत ल्याएपछि पार्टी एकीकरण गरेर आलोपालो सरकार बनाउने सहमति गरेका थिए ।
अर्थात् प्रतिनिधिसभाको पाँच वर्षे कार्यकालमध्ये पहिलो साढे दुई वर्ष एकजना र पछिल्लो साढे दुई वर्ष अर्कोजना प्रधानमन्त्री बन्ने । त्यहीअनुसार केपी ओली सुरुमा प्रधानमन्त्री बने, प्रचण्ड पर्खिएर बसे । तर राजनीति सरल रेखामा कहाँ हिँड्छ र । प्रचण्ड पर्खेको पख्र्यै भए ।
पार्टी फुट्यो, सरकारबाट ओली बाहिरिए अनि सर्वोच्च अदालतको परमादेशबाट शेरबहादुर देउवा प्रधानमन्त्री भए । सत्ता साझेदार भए प्रचण्ड । पाँच वर्षपछि फेरि अहिले आलोपालो प्रधानमन्त्रीको अवस्था आएको छ । अनि पात्र पनि तिनै छन् ओली र प्रचण्ड । अहिले भने प्रचण्डले सुरुमा पालो पाएका छन्, ओली साढे दुई वर्ष पर्खिने छन् ।
नाटकीय समीकरण
आइतबार बिहानसम्म वर्तमान सत्ता गठबन्धन दलहरु कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादी सरकार गठनका लागि घनिभूत छलफलमा थिए । तर अड्किएको थियो पदको भागवण्डामा । माओवादीले प्रधानमन्त्री दाबी गरेको थियो भने कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुवैको अडान छाडेको थिएन ।
फलतः बालुवाटार गठबन्धन टुट्यो र प्रचण्ड उछिट्टिएर बालकोट पुगे । एमाले अध्यक्ष केपी ओलीले गठबन्धन छाडेर आए माओवादीसँग सहकार्य हुन सक्ने बताइसकेका थिए । प्रचण्ड सिधै बालकोट पुगे । त्यहीँ भेला भए अन्य साना पाँच दलका प्रमुख । बालकोट बैठकले प्रचण्डलाई पहिलो कार्यकाल प्रधानमन्त्री बनाउने निर्णय गर्यो । १६९ जना सांसदको समर्थनमा प्रचण्डले आइतबार पाँच नबज्दै राष्ट्रपतिसमिक्ष प्रधानमन्त्रीको दाबी पेश गरे ।
एकाध घण्टामै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डलाई संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्री नियुक्त गरिन् । यसरी सात ७ दल र तीन स्वतन्त्र सांसदको समर्थनसहित मुलुकको ४४ औं प्रधानमन्त्री बनेका छन् प्रचण्ड । यो उनको तेस्रो सत्ता यात्रा हो । यसअघि प्रचण्ड २०६५ र २०७३ सालमा ९–९ महिनाका लागि प्रधानमन्त्री बनेका थिए । २७५ जना सांसद रहेको प्रतिनिधिसभामा प्रचण्डलाई एमाले, माओवादी केन्द्र, रास्वपा, राप्रपा, जसपा, जनमत, नागरिक उन्मुक्ति पार्टी र केही स्वतन्त्र सांसदले समेत समर्थन गरेका छन् ।
संसद्मा एमालेका ७८, माओवादीका ३२, स्वतन्त्र पार्टीका २०, राष्ट्रिय प्रजातन्त्र पार्टीका १४, जनता समाजवादी पार्टीका १२, जनमत पार्टीका ६ र नागरिक उन्मुक्ति पार्टीका ४ सांसद छन् । सात दलबीच भएको सहमतिअनुसार एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्ड आधा–आधा कार्यकाल प्रधानमन्त्री हुनेछन् । उनीहरूले लिखित रूपमा भने सहमति गरेका छैनन् ।
सबैभन्दा ठूलो दल प्रतिपक्षी
प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी भएको छ । दोस्रो ठूलो दल नेकपा एमाले र तेस्रो दल माओवादी केन्द्रले राष्ट्रिय स्वतन्त्र पार्टी र अरु साना दलहरू समेटेर नयाँ सरकार बनाउने भएसँगै कांग्रेस प्रतिपक्षी भएको हो । २७५ सदस्यीय प्रतिनिधिसभामा कांग्रेसका ८९ जना सांसद छन् ।
आइतबार बिहानसम्म कांग्रेस सत्ता गठबन्धन जोगाउन प्रयासरत थियो । तर राष्ट्रपति र प्रधानमन्त्री दुवै छाड्न नचाहेपछि माओवादी गठबन्धन छाडेर एमालेको साथ खोज्न पुगेको हो । सरकार गठन गर्ने दलहरुले अब राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुख लगायत पद भागवण्डा गर्नेछन् । गठबन्धन जोगाउन नसक्दा कांग्रेसले ती कुनै पनि पद नपाउने स्थिति बनेको छ ।
कांग्रेससहित ३ वटा दलमात्र प्रचण्ड नेतृत्वको सरकारबाहिर रहने भएका छन् । नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सरकार बाहिर रहने भएका हुन् । एकीकृत समाजवादीको केन्द्रीय पदाधिकारी बैठकले पनि सरकारमा नजाने निर्णय गरेको छ । त्यसैगरी लोसपाले पनि कांग्रेसको साथ नछोड्ने भएको छ ।
को हुन् प्रचण्ड ?
कास्कीको ढिकुरपोखरीस्थित लेवाडेमा २०११ मंसिर २६ गते जन्मिएका पुष्पकमल दाहाल कास्कीकै ढिकुरपोखरीमा हुर्केका हुन् । प्रारम्भिक तहको शिक्षा पनि त्यहाँबाटै लिए । छविलाल नाम भएका उनको कक्षा १० मा अध्ययनरत हुँदा पुष्पकमल नामकरण भएको हो ।
२०२६ सालमा चितवनको नारायणी विद्यामन्दिर मावि शिवनगरबाट एसएलसी पास गरेका दाहालले २०२७–२०२९ मा पाटन बहुमुखी क्याम्पसबाट आईएससी पूरा गरे । उनले २०३१–२०३३ सालमा रामपुर कृषि क्याम्पसबाट कृषि विषयमा बीएससी गरेका छन् र एमपीएसम्मको अध्ययन पूरा गरेका छन् ।
२०३८ देखि २०६३ सम्म भूमिगत अवस्थामा रहँदा कल्याण, विश्वास, निर्माण र प्रचण्ड नाम राखेका उनी आफूलाई प्रचण्ड भनेर चिनाउन रुचाउँछन् । चितवनको भरतपुर बसाइँ सरेपछि २०२६ वैशाखमा सीता पौडेलसँग विवाह गरेका प्रचण्डका तीन छोरी छन् । एक छोरा प्रकाशको भने मृत्यु भइसकेका छ ।
उनी पनि राजनीतिमै सक्रिय थिए । प्रचण्डले भरतपुरकै नारायणी विद्या मन्दिर मावि, नवलपरासीको डन्डा मावि र गोरखाको आरूघाट माविमा अध्यापन पनि गरे । २०२८ सालमा नेकपाको पुष्पलाल समूहमा पार्टी सदस्यता लिएर राजनीतिक जीवन आरम्भ गरेका प्रचण्डले २०३१ सालमा माक्र्सवादी अध्ययन समूह गठन गरे ।
२०३४ सालमा चौथो महाधिवेशन, २०३५ सालमा पूर्णकालीन कार्यकर्ता र २०३६ सालमा चितवन जिल्ला समिति सदस्यमा उनी निर्वाचित भए । २०४१ सालमा नेकपा (मशाल)को केन्द्रीय सदस्य, २०४२ मा पोलिटब्युरो सदस्य, २०४६ मा महामन्त्री र २०४८ सालमा नेकपा (एकता केन्द्र)को महामन्त्री बने ।
२०५१ सालमा पार्टीको नाम फेरेर नेकपा (माओवादी) राखेपछि महामन्त्री बनेका प्रचण्डले २०५२ सालदेखि सुरु भएको जनयुद्धको नेतृत्व गरे । २०५७ मा नेकपा माओवादीको अध्यक्ष भएका प्रचण्ड त्यसयता निरन्तर अध्यक्ष नै छन् । २०५८ सालमा जनमुक्ति सेना नेपालको सर्वोच्च कमान्डर रहेका प्रचण्ड २०६३ साल असार २ गते भूमिगत जीवनबाट सार्वजनिक भए र २०६५ साल साउनमा गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्रीमा निर्वाचित बने ।
२०६४ सालमा सम्पन्न संविधानसभा निर्वाचनमा उनी काठमाडौं–१० र रोल्पा–२ बाट निर्वाचित भए । संविधानसभाको दोस्रो निर्वाचनमा सिरहा क्षेत्र नम्बर ५ बाट निर्वाचित प्रचण्ड २०७३ साल साउन १९ गते नेपाल सरकारको ३९ औं प्रधानमन्त्रीमा निर्वाचित भए । पछिल्लोपटक ४ मंसिर २०७९ मा भएको निर्वाचनबाट उनी गोरखा–२ बा निर्वाचित भएका हुन् ।