इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ : १४ विधामा अवार्ड वितरण
लिभिङ विथ आइसिटीले हरेक वर्ष आयोजना गर्दै आएको सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्ड ‘आइसिटी अवार्ड’को ग्राण्ड फिनाले सम्पन्न भएको छ । शुक्रबार काठमाडौंमा आयोजना भएको ग्राण्ड फिनाले कार्यक्रममा १४ विधामा अवार्ड प्रदान गर्दै सातौं संस्करणको इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ उत्साहजनक सहभागितासहित सम्पन्न भएको हो ।
कार्यक्रमको उदघाटन प्रमुख अतिथि मुख्यसचिव शंकरदास बैरागीले प्रविधिमार्फत गरेका थिए । कार्यक्रममा आइसिटी अवार्ड संयोजक राजन लम्सालले नेपालमा डिजिटल इकोसिस्टम विकास गर्न विगत सात वर्षदेखि अवार्ड आयोजना गरिरहेका बताए । लम्सालले भने, “६ महिनादेखिको अथक मेहनत र परिश्रम पश्चात आइसिटी अवार्ड सफलतापूर्वक सम्पन्न गरेका छौं,’ उनले भने, ‘नयाँ नयाँ स्टार्टअप, आईडिया र इन्नोभेसनलाई प्रोत्साहन तथा अग्रजलाई सम्मान गर्ने हाम्रो अभियान निरन्तर जारी रहनेछ ।”
कार्यक्रमका प्रमुख अतिथि मुख्यसचिव बैरागीले आइसिटीको क्षेत्रमा केही फड्को मारेको तर गर्नुपर्ने धेरै रहेको बताए । “आईसिटी जिवन जिउने एउटा तरिका भइसकेको छ,” उनले भने, “हरेक क्षेत्रमा आइसिटीले नेतृत्वदायी भूमिका निर्वाह गरेको छ । आइसिटीबाट देशको विकास गर्नुपर्छ ।” सो अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. अर्यालले आइसिटी क्षेत्रको विकासका लागि आवश्यक सहयोग तथा सहकार्य गर्न मन्त्रालय सधैं तयार रहेको प्रतिबद्धता जनाए ।
आइसिटी अवार्डले नयाँ नयाँ इनोभेसनलाई प्रेरणा मिलेको बताउँदै आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले डिजिटल इकोसिस्टम विकास गर्न सरकारले पूर्वाधारमा लगानी गर्नुपर्ने बताए । त्यस्तै इन्फोडेभलपर्सका ग्रुप अध्यक्ष सञ्जिब राज भण्डारीले यस वर्ष आईसिटी अवार्ड ५५० बढीको आवेदन आउनु एकदमै राम्रो कुरा भएको बताए । नेपालले इन्टेलुक्चुअल पर्पटीमा पनि काम गर्नुपर्ने उनको भनाइ छ ।
यसैगरी काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिला डंगोलले स्थानीय तह पनि अब डिजिटल रूपमा अगाडि बढ्न पर्ने बताइन् । यसवर्ष अवार्डका लागि ५५० बढीको अनलाइन आवेदन प्राप्त भएको थियो भने ५ महिनासम्म छनौट प्रक्रिया सञ्चालन भएको थियो । यसवर्ष १४ विधामा आइसिटी अवार्ड प्रदान गरिएको छ भने सातै प्रदेशका उत्कृष्ट ७ स्टार्टअपलाई समेत सम्मान र प्रमाणपत्र गरिएको छ ।
यस वर्षको ह्वावे स्टार्टअप आइसिटी अवार्ड मोनाल टेकलाई प्रदान गरिएको छ । त्यस्तै प्रडक्ट आइसिटी अवार्ड गल्ली म्याप्सलाई र राइजिङ स्टार इनोभेसन आइसिटी अवार्ड कारोबार एपलाई प्रदान गरिएको छ । स्टार्टअप, प्रडक्ट र राइजिङ स्टार विधामा विभिन्न चरणको छनोट पश्चात पब्लिक भोटिङ समेत गरिएको थियो ।
त्यस्तै व्यक्तिलाई प्रदान गरिने आन्टरप्रेनर आइसिटी अवार्ड मंगेशलाल श्रेष्ठ, नेपाली डायस्पोरा आइसिटी अवार्ड डा. वेद काफ्ले, नेपाल टेलिकम पायोनियर आइसिटी अवार्ड विजय कृष्ण श्रेष्ठ र एनसेल वुमन आइकन आइसिटी अवार्ड शिला कंसाकार कार्कीलाई प्रदान गरिएको छ । संस्थाहरूलाई प्रदान गरिने डिजिटल एजुकेशन आइसिटी अवार्ड (पब्लिक सेक्टर) बाफलको ज्ञानोदय माध्यमिक विद्यालय, डिजिटल एजुकेशन आइसिटी अवार्ड (प्राइभेट सेक्टर) खोकनाको ज्ञानोदय बाल बाटिका स्कुल स्कुल, डिजिटल सर्भिसेस आइसिटी अवार्ड फोनपे र डिजिटल गभर्नेन्स आइसिटी अवार्ड वैदेशिक रोजगार विभागलाई दिइएको छ ।
यस्तै सबैभन्दा बढी पब्लिक भोट ल्याउने टिगलाई पब्लिक च्वाइस आइसिटी अवार्ड प्रदान गरिएको छ भने साउथ एशिया स्टार्टअप आइसिटी अवार्ड चिंगारीलाई प्रदान गरिएको छ । सार्क राष्ट्रका ५० बढी स्टार्टअपको प्रतिस्पर्धाबाट चिंगारीले अवार्ड हात पारेको हो । अवार्डको सिलसिलामा यस वर्ष स्टार्टअप एण्ड आईडिया फेस्ट, मेन्टरिङ सेसन, स्टोरी सेयरिङ सेसन, फिल्ड भिजिट, प्रिजेन्टेशन तथा स्पिड डेटिङहरू सञ्चालन भएका थिए ।