नमुना बस्ती अलपत्र «

नमुना बस्ती अलपत्र

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ बिजयखर्कमा निर्माण गरिएको एकीकृत नमुना बस्ती अलपत्र परेको छ । १ करोड १ लाख ४४ हजार बजेटमा निर्माण गरिएको रामनाथ एकीकृत नमुना बस्ती अलपत्र परेको हो । २०७२ सालको भूकम्पबाट पीडित लाभग्राहीको एकै ठाउँमा आवास निर्माण गर्दै एकीकृत बस्ती विस्तार गर्ने योजना सम्पन्न नहुँदै बस्ती अलपत्र परेको हो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट १९ जना लाभग्राहीले पाउने ३ लाखमध्ये २ लाख ५० हजार, तत्कालिन राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन), ओखलढुंगाबाट प्राप्त ५२ लाखमा, स्थानीय शारदाप्रसाद ढकाल र कृष्णकुमारी ढकालले ७ रोपनी जग्गा निःशुल्क उपलव्ध गराएपछि २०७५ सालदेखि पीडित लाभग्राहीलाई आवास घर निर्माण गरिएको हो । तर, शौचालय, खानेपानी, विद्युत विस्तार, रंगरोगन लगायतका पूर्वाधारको काम बाँकी नै छ । एउटा घरको कोठालाई बाख्रा खोर तथा कतिपय घरको कोठाभित्र दाउरा भण्डारण गरिएको छ ।

तत्कालिन राष्ट्रिय पुननिर्माण प्राधिकरणबाट प्राप्त ५२ लाखले एकीकृत बस्तीमा आवासबाहेक मेसिनरी पर्खाल, नाली, भ्यूटावर, मन्दीर, स्टेज, चिल्ड्रेनपार्क, सडक, पार्किङ, भोजनालय लगायतका संरचना निर्माण गरिएको र १९ जना लाभग्राहीको २ लाख ५० हजारले घर आवास निर्माण गरिएको हो । प्रथम किस्तावापतको ५० हजारले भने सम्बन्धित घरधनीले झ्याल ढोका हाल्ने, भुइँ ढलान गर्ने र शौचालय व्यवस्था गर्नुपर्ने सहमति भएको थियो ।

प्रतिक्रिया दिनुहोस्