‘डिजिटल कारोबार पारदर्शिताको मेरुदण्ड’

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले डिजिटल कारोबार ‘पारदर्शिताको मेरुदण्ड’ भएको बताएका छन् । शुक्रबार सुदूरपश्चिम प्रदेशको दार्चुलाबाट डिजिटल वित्तीय साक्षरता कार्यक्रमको शुभारम्भ गर्दै गभर्नर अधिकारीले पछिल्लो समयमा विद्युतीय भुक्तानी कारोबारमा उल्लेख्य वृद्धि भएको बताए । गभर्नर अधिकारीले डिजिटल कारोबारलाई थप प्रवर्द्धन र प्रोत्साहन गर्न उक्त कार्यक्रमको सुरूवात गरिएको जानकारी दिए ।
उनका अनुसार क्यूआरबाट मात्र एक महिनामा ४२ लाखभन्दा बढी कारोबार भएको पाइएको छ । “यो आफैंमा उत्साहजनक अवस्था हो” उनले भने । गभर्नर अधिकारीले डिजिटल कारोबारबाट भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रवर्द्धनमा समेत टेवा पुग्ने बताए । नेपाल सरकारको ‘डिजिटल नेपाल फ्रेमवर्क’लाई कार्यान्वयन गर्दै डिजिटल अर्थतन्त्रको विकासक गर्न विद्युतीय भुक्तानी कारोबारलाई थप प्रभावकारी बनाउनुपर्ने उनले बतए । डिजिटल कारोबारमा आउन सक्ने जोखिमप्रति सचेत रहनसमेत उनले सबैलाई अनुरोध गरे ।
कार्यक्रममा भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले डिजिटल वित्तीय साक्षरता कार्यक्रमको उद्देश्य र औचित्यबारे प्रकाश पारे । साथै नेपालमा विद्युतीय भुक्तानी कारोबारको वर्तमान अवस्था र सूचकका बारेमा समेत उनले जानकारी दिए । गभर्नर कार्यालयका निर्देशक अजित रेग्मीले डिजिटल वित्तीय साक्षरताको सान्दर्भिकता, यसका आधारभूत पक्ष, नेपालमा उपलब्ध डिजिटल वित्तीय सेवा, यसको फाइदा, कारोबारमा अपनाउनुपर्ने सावधानीलगायतबारे जानकारी दिए ।
विद्युतीय भुक्तानी कारोबारलाई प्रवर्द्धन र प्रोत्साहन गर्ने उद्देश्यका साथ नेपाल राष्ट्र बैंकले पछिल्ला वर्षहरूमा यससम्बन्धी नीतिगत व्यवस्थालाई अवलम्बन गर्दै आएको छ । आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीतिमा चालु आर्थिक वर्षलाई ‘विद्युतीय भुक्तानी कारोबार प्रवर्द्धन वर्ष’ को रूपमा मनाउन आवश्यक संस्थागत समन्वय गरिनेसमेत उल्लेख गरिएको छ ।
यसैबीच, गभर्नर अधिकारीले शुक्रबारै बैंक तथा वित्तीय संस्था, दार्चुला उद्योग वाणिज्य संघ र कृषि ज्ञान केन्द्र, दार्चुलाका प्रतिनिधिसँग छुट्टाछुट्टै भेटवार्ता गरी विविध विषयमा छलफल गरे । यस क्रममा उनले सुदूरपश्चिम प्रदेशस्थित वाणिज्य बैंकका प्रदेश प्रमुख र दार्चुलास्थित बैंक तथा वित्तीय संस्थाका शाखा प्रमुखसँग यस क्षेत्रको वित्तीय कारोबारको अवस्थाबारे प्रभावकारी सेवा प्रवाह गर्न उनीहरूलाई निर्देशन दिए ।