जुस आयातमा भन्सार बढेपछि स्वदेशी उद्योगलाई फाइदा «

जुस आयातमा भन्सार बढेपछि स्वदेशी उद्योगलाई फाइदा

सरकारले आयातित जुसमा भन्सार बढाएपछि स्वदेशी उद्योगलाई फाइदा भएको छ । बढ्दो गर्मीसँगै फलफूलको रसलगायत चिसो पेय पदार्थको बजार माग बढिरहेका बेला सरकारले आयातलाई निरुत्साहित गरेपछि स्वदेशी उद्योगको बजार विस्तार हुने भएको हो ।
सस्तो मूल्यांकन र राजस्व छलेर भिœयाइएको बंगलादेशी उत्पादनसँग मूल्य प्रतिस्पर्धा गर्न नसक्दा बजार हिस्सा गुमाउँदै गएका स्वदेशी उद्योगले अब पुनः बजार विस्तारको अवसर पाउने भएका हुन् । विदेशी उत्पादनसँग मूल्य प्रतिस्पर्धाकै कारण १५ देखि २० प्रतिशतको दरले वृद्धि भइरहेको बजारबाट स्थानीय उद्योगले उचित लाभ पाउन सकेका थिएनन् ।
स्थानीय उद्योगीले जुसको आयात मूल्यलाई आधार मानेर भन्सार महसुल तोकिएकाले बंगलादेशी कम्पनीको जुस न्यून बिजकीकरणमा अत्यन्त थोरै भन्सार महसुल तिरेर नेपाल भित्रिने गरेको भन्दै पटक–पटक प्रधानमन्त्री र अर्थमन्त्रीसमेतको ध्यानाकर्षण गराएका थिए । न्यून विजकीकरणमार्फत् भन्सार राजस्व छलेर नेपाल भित्रिँदै आएको बंगलादेशी जुस निरुत्साहित गर्न आर्थिक वर्ष २०७६÷७७ को बजेट घोषणामार्फत् जेठ १५ देखि आयात परिमाणको आधारमा भन्सार राजस्व दर निर्धारण गरिएको छ ।
नयाँ प्रावधान अनुसार प्रतिलिटर जुसको भन्सार महशुल ६० रूपैयाँ कायम गरिएको छ । अन्तःशुल्क ११ रूपैयाँ छ । यसअघि जुसको आयात भन्सार महशुल दर मूल्यमा ३० प्रतिशत मात्र रहेको थियो । बंगलादेशी प्रान ब्राण्डको जुस प्रतिलिटर ०.३९ अमेरिकी डलर मूल्यांकनमा ३० प्रतिशत मात्र भन्सार महसुल कायम गरिएको थियो ।
अन्तःशुल्क समेत जम्मा ७० रूपैयाँमा एक लिटर बंगलादेशी जुस नेपाल भित्रिने गरेकोमा अहिले अन्तःशुल्क ११ रूपैयाँ र भन्सार महसुल ६० रूपैयाँसमेत राजस्व मात्र ७१ रूपैयाँ पर्न आउँछ ।
स्वदेशी उद्योग संरक्षण गर्न जुसको आयातमा भन्सार दर पुनरावलोकन गरेको संघीय सरकारले जुसको गुणस्तर नियन्त्रणमा समेत ध्यान दिनुपर्ने पेय पदार्थ उत्पादक उद्योगीको सुझाव छ ।
न्यून गुणस्तरीय जुस भिœयाएर उपभोक्ताको स्वास्थ्यसँग खेलवाड गर्ने कार्य भइरहेकाले जुसको बट्टामा लेखिएको फुड भ्यालु (खाद्य गुण) भए÷नभएको यकीन गरेर मात्र आयात गरिनुपर्नेमा उद्योगीको जोड छ ।

प्रतिक्रिया दिनुहोस्