करको दायरा बढाइँदै

विभिन्न स्थानमा कारोबार गर्ने व्यवसायीलाई करको दायरामा ल्याएपछि पाल्पामा राजस्व संकलनसमेत बढेको छ । करदाता सेवा कार्यालय पाल्पाले करछलीसम्बन्धी कानुनी कारबाही, करदाता शिक्षा सञ्चालन, बजार अनुगमनलाई प्रभावकारी बनाएपछि करको संकलन वृद्धि भएको हो । सेवा कार्यालयका प्रमुख बासुदेव नेपालले व्यवसायीलाई करको दायरामा ल्याउने, जनचेतनामूलक कार्यक्रम, कार्यालय व्यवस्थापन, सरकारी कार्यालयको टीडीएसको नियमिततालगायतको काम गरेपछि राजस्व संकलन बढेको बताए । कार्यालयले गतआवको पुस मसान्तसम्ममा ७ करोड ७५ लाख ५५ हजार रुपैयाँ राजस्व असुल गरेको थियो भने चालू आर्थिक वर्षको सोही अवधिमा १२ करोड ९ लाख १२ हजार रुपैयाँ राजस्व असुली गरेको छ ।
घरजग्गा तथा सवारी बहालमा लगाउने व्यक्ति, संघ–संस्थाहरू अझै पनि करको दायरामा नआएको पाइएको र तिनीहरूलाई पनि करको दायरामा ल्याउने काम कार्यालयले गरेको छ । व्यक्ति वा संस्थाले व्यावसायिक कारोबार गर्दा अनिवार्य प्यान लिनुपर्ने, निजामती कर्मचारी, सेना, प्रहरी, शिक्षकहरूले व्यक्तिगत प्यान लिनुपर्ने भए पनि धेरै मानिस करको दायरामा नआएको कार्यालयले जनाएको छ । यस्तै घरजग्गा कारोबारी, ठेक्कापट्टा व्यवसायी, विद्यालय, क्याम्पस, गैरसरकारी संघ–संस्था, परामर्शदाता, शिक्षा स्वास्थ्य संस्थाले पनि अनिवार्य रूपमा प्यान दर्ता गरेर मात्रै कारोबार गर्नुपर्छ । यस्ता संघ–संस्था तथा व्यक्ति करको दायरामा अनिवार्य आउनुपर्छ र नियमित रूपमा राज्यलाई कर तिर्नुपर्छ । कार्यालय प्रमुख नेपालले भने करको दायरामा नआउने व्यक्तिलाई कारबाही गर्ने चेतावनी दिए ।
जिल्लाका ठूला करदाताहरू बाहिर जाने, करदाताहरू करको दायरामा नआउने गरेका कारण सेवा कार्यालय पाल्पालाई कर असुलीमा समस्यासमेत परेको छ । जिल्लाका ठूला करदाताका रूपमा रहेको लुम्बिनी मेडिकल कलेज, लुम्बिनी नेट तथा विभिन्न चुनढुंगा खानीले आफ्नो राजस्व ठूला करदाता कार्यालयमा बुझाउने गर्दा करदाता सेवा कार्यालयमा राजस्व असुलीमा समस्या देखिएको हो । कार्यालयले गत आवमा विभिन्न शीर्षकबाट २० करोड ९५ लाख राजस्व असुली गरेको छ भने आव २०७४/७५ का लागि करदाता कार्यालय वुटवलले २३ करोड लक्ष्य दिएको कार्यालय प्रमुख नेपालले बताए ।
यस वर्ष घरजग्गा व्यवसायमा आएको मन्दी, ठूला करदाताबाहिर जानुलगायतका कारणले कार्यालयमा कर असुलीमा केही समस्या भए पनि लक्ष्यभन्दा बढी नै राजस्व संकलन हुने गरी काम अघि बढेको कार्यालयले जनाएको छ ।
सेवा कार्यालयमा कर्मचारी अभाव भएका कारण थुप्रै उद्योगी, व्यवसायीलाई करको दायरामा ल्याउन नसकिएको कार्यालयका प्रमुख नेपालले बताए । कार्यालयले गत आवमा ४ करोेड रुपैयाँ घरजग्गा कारोबार बापतको पूँजीगत लाभ कर, शिक्षा स्वास्थ्य कर १ करोड ५० लाख असुली गरेको थियो । अहिले त्यो असुली घटेको छ । त्यसै घरजग्गा कारोबार गर्नेहरूबाट पुँजीगत लाभ करबापतको रकम पनि यस आवमा कारोबार न्यून भएकाले घटेको कार्यालयले जनाएको छ ।
०६९ साल वैशाख ११ गतेदेखि तानसेनमा सेवा दिँदै आएको कार्यालयमा ०७४ पुस मसान्तसम्ममा ६ हजार ५ सय ९० जनाले आयकर, ७ सय ३६ जनाले मूल्य अभिवृद्धि कर (भ्याट), ७ सय ९७ जनाले अन्तःशुल्क र ३ हजार ४ सय ९० जनाले व्यक्तिगत प्यान गरी ११ हजार ६ सय ६७ जनाले प्यान लिएका छन् । कार्यालयबाट अनलाइन सिस्टमको व्यवस्थापन भएकाले करदाताले अनलाइनबाटै आफ्नो मासिक, त्रैमासिक कारोबारहरूको विवरण बुझाउन सकिने, बैंकबाट समेत राजस्व तिर्न मिल्ने व्यवस्था भएपछि व्यवसायी तथा उपभोक्तालाई सहजता भएको प्रमुख नेपालको भनाइ छ ।
तानसेनमा करदाता सेवा कार्यालय स्थापना भएपछि व्यवसायीहरू कर तिर्न र विवरण बुझाउन बुटवल, भैरहवा जानुपर्ने समस्यासमेत हटेको छ । पाल्पा उद्योग वाणिज्य संघका उपाध्यक्ष शैलेन्द्र भट्टराईले भने करका बारेमा जानकारी नहुँदा केही समस्या भएको बताए । उनले जनचेतनामूलक र शिक्षामूलक कार्यक्रम सञ्चालन गर्न सुझाव दिए ।
–अमृत अधिकारी