विमानस्थल सञ्चालनमा सरकारी सहयोग «

विमानस्थल सञ्चालनमा सरकारी सहयोग

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आगामी जनवरीमा सञ्चालनमा आउने भएसँगै यसको भविष्यलाई लिएर उत्पन्न आशंका एक हदसम्म हटेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले जनवरी १ देखि विमानस्थल व्यावसायिक रूपमा सञ्चालन गर्ने घोषणा गरिसकेको छ । प्राधिकरणले उडान सुचारु गर्न आवश्यक सम्पूर्ण तयारी पूरा गरेको अवस्था छ ।

बिहीबार बुद्ध एयर र यती एयरलाइन्सले यो विमानस्थलमा डेमो उडान गरेका छन् । यसअघि मंसिरको पहिलो साता यहाँ परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) गरिएको थियो । क्यालिब्रेसन उडानबाट विमानस्थलमा जडान भएका राडरलगायतका विभिन्न यन्त्र तथा उपकरणको परीक्षण भएको छ । क्यालिब्रेसन फ्लाइटको प्रारम्भिक रिपोर्टले विमानस्थल उडानयोग्य भएको जानकारी दिएको छ भने सम्पूर्ण रिपोर्ट चाँडै आउँदै छ । बिहीबारको डेमो उडान सफल भएकाले नयाँ विमानस्थलबाट वायुयानहरूले उडान भर्न सक्ने भएको छ ।

पहिलो दिन बुद्ध एयरले पोखराबाट भारतको बनारसमा उडान भर्दै छ । यो पोखरा विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय उडान हुनेछ । यसअघि नै बुद्ध एयरले भारतका तीन गन्तव्यमा उडान भर्ने घोषणा गरिसकेको छ । पहिलो चरणमा भारतको बनारसमा सीधा उडान गर्नेछ भने अर्को चरणमा पोखरा–दिल्ली र पोखरा–देहरादूनमा उडान गर्नेछ । बुद्धले दिल्लीमा दैनिक २ र देहरादूनमा सातामा तीन उडान गर्नेछ । उडानका लागि रुट र स्लटको स्वीकृति लिन भारतीय सरकारसँग पहल भइरहेको छ ।

मुलुकको अर्को लोकप्रिय वायुसेवा कम्पनी यती एयरलाइन्सले पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सुरु गर्ने तयारी गरेको छ । यसका लागि यतीले पहिलो पटक प्रदर्शन उडान गर्न लागेको छ । यतिले अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै नियमित उडानको संख्या थप गर्ने र पोखराबाट अन्य विमानस्थलमा क्षेत्रीय उडान गर्ने भनेको छ ।

पोखरा मुलुकको सबैभन्दा ठूलो पर्यटकीय गन्तव्य हो । यहाँ छिमेकी मुलुक भारत र चीनका पर्यटक बढी आउने गर्छन् । त्यसैले पोखराबाट भारत र चीनका विभिन्न प्रान्तहरूमा सीधा हवाई उडान गराउन सरकारले भूमिका खेल्नुपर्छ ।

सरकारले यो आयोजनालाई राष्ट्रिय गौरवका आयोजनाभित्र पारेर निर्माण अगाडि बढाएको हो । तर पनि लक्षित समयमा विमानस्थलको निर्माण पूरा हुन सकेन । सन् २०२१ को १० जुलाईसम्म निर्माण पूरा गर्ने लक्ष्य सरकारको थियो । यो विमानस्थल बनाउने ठेक्का चिनियाँ कम्पनी सीएएमसी इन्जिनियरिङले पाएको थियो । सुरुमा यसको लागत थोरै लाग्ने भनिए पनि अहिले करिब २२ अर्ब रुपैयाँ खर्च भएको छ । यो विमानस्थल सञ्चालनका लागि रनवे एप्रोचमा पर्ने रिट्ठे डाँडाको जग्गा कटान गर्ने काम भइरहेको छ ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को मापदण्डलाई अनुसरण गर्दा यो डाँडा कटान गर्नु आवश्यक थियो । डाँडा कटानको काम आगामी चैतसम्म सक्ने लक्ष्य सरकारको छ । सरकारले काठमाडौं उपत्यकामा रहेको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल साँघुरो बन्दै गएको र एउटा मात्र अन्तर्राष्ट्रिय विमानस्थल हुँदा समस्या आएको भन्दै मुलुकका विभिन्न स्थानमा नयाँ विमानस्थल बनाउन सुरु गरेको धेरै भइसकेको छ ।

सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पमा बाराको निजगढमा अर्को ठूलो विमानस्थल बनाउने निर्णय गरेको पनि धेरै समय बितेको छ । यहाँ ठूलो आकारको विमानस्थल बनाउने सरकारको निर्णयप्रति धेरै विवाद आएको थियो । लगानी, वातावरणलगायतका विषयले विवाद आएपछि अहिले सरकारले सानो आकारको विमानस्थल बनाउने भनेको छ । यसका लागि केही जग्गा अधिग्रहण गरिएको र बाँकी हुँदै रहेको अवस्था छ । यो विमानस्थल कहिले निर्माण पूरा हुने निश्चित छैन ।

त्यसैले सरकारले काठमाडौंको विकल्पमा भैरहवा र पोखरामा निजगढको तुलनामा सानो आकारमा विमानस्थल बनाएको हो । सरकारले रुपन्देहीको भैरहवामा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बनाएर सञ्चालनमा ल्याएको केही समय भएको छ । अर्बौं रुपैयाँ खर्चेर बनाएको यो विमानस्थल सञ्चालनमा आएको धेरै भएको छैन । अहिलेसम्मको अवस्था हेर्दा यसप्रति अन्तर्राष्ट्रिय हवाई सेवा कम्पनीहरूले खासै चासो राखेको देखिएको छैन । मध्यपूर्वका केही हवाईसेवा कम्पनीहरूले यहाँबाट उडान भर्न सुरु गरेका मात्र छन् ।

नेपालकै वायुसेवा कम्पनीहरू नेपाल वायुसेवा निगम र हिमालयन एयरलाइन्सले यहाँबाट उडान भर्न इच्छुक देखिएका छैनन् । सरकारले उडान भर्न ताकेता गरे पनि विभिन्न बहाना बनाएर अहिलेसम्म पन्छिने काम भएको छ । यस अर्थमा यो विमानस्थल पूर्ण सञ्चालनमा ल्याउन सरकारले थप कसरत गर्नुपर्ने देखिन्छ । कम्तीमा गौतम बुद्धलाई जोडेर लुम्बिनीमा पर्यटक ल्याउन श्रीलंका, भुटानजस्ता बौद्ध धर्मावलम्बी बढी रहेका मुलुकहरूमा उडान गर्न सके यो विमानस्थललाई केही राहत पुग्ने देखिन्छ ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको यस्तो अवस्था भएका बेला सञ्चालनमा आउन थालेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भविष्य कस्तो हुने हो ? अहिल्यै केही भन्न सकिने अवस्था छैन । सरकारले चीनबाट चर्को ब्याजदरमा कर्जा लिएर यो विमानस्थल निर्माण गरेको हो । त्यसैले विमानस्थल पूर्ण रूपमा सञ्चालनमा आउन सकेन भने सरकार नराम्रोसँग ऋणमा फस्ने निश्चित छ ।

पोखरा मुलुकको सबैभन्दा ठूलो पर्यटकीय गन्तव्य हो । यहाँ छिमेकी मुलुक भारत र चीनका पर्यटक बढी आउने गर्छन् । त्यसैले पोखराबाट भारत र चीनका विभिन्न प्रान्तहरूमा सीधा हवाई उडान गराउन सरकारले भूमिका खेल्नुपर्छ । धेरैको संख्यामा पर्यटक आए हवाई सेवा कम्पनी, विमानस्थलका साथै मुलुकलाई पनि फाइदा पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्