Logo

२०९ अर्ब घट्यो वैदेशिक व्यापार

गत वर्षको तुलनामा चालू आर्थिक वर्षको पाँच महिनामा वैदेशिक व्यापार २ खर्ब रुपैयाँभन्दा बढीले घटेको छ । भन्सार विभागले बिहीबार सार्वजनिक गरेको मंसिरसम्मको तथ्यांकअनुसार पाँच महिनामा वैदेशिक व्यापार २ खर्ब ९ अर्बले घटेको हो । अघिल्लो आवको मंसिरसम्ममा ९ खर्ब ४१ अर्ब ३२ करोड रुपैयाँबराबरको वैदेशिक व्यापार भएकामा चालू आवमा ७ खर्ब ३२ अर्ब ५ करोडमा सीमित भएको छ ।

यो २२.२३ प्रतिशतको गिरावट हो । वैदेशिक व्यापारमा आयातको हिस्सा अघिल्लो आवमा ८९.०७ प्रतिशत रहेकोमा चालू आवमा बढेर ९०.८१ प्रतिशत पुगेको छ भने निर्यातको हिस्सा १०.९३ प्रतिशतबाट घटेर ९.१९ प्रतिशतमा झरेको छ । भन्सारको तथ्यांकअनुसार कुल वैदेशिक व्यापारमा कमी आएसँगै आयात र निर्यात दुवै घटेका छन् ।

वैदेशिक व्यापारका क्षेत्रमा भयावह समस्याका रुपमा देखिएको व्यापार घाटामा केही कमी आए पनि कुल व्यापारमा निर्यातको हिस्सा घटेको छ भने आयातको हिस्सा बढेको अवस्था छ । आयात व्यापारमा २०.७१ प्रतिशतले कमी आउँदा निर्यात व्यापार भने ३४.६१ प्रतिशतले घटेको छ । मंसिरसम्म ६ खर्ब ६४ अर्ब ७४ करोड रुपैयाँको आयात भएको छ भने निर्यात ६७ अर्ब ३० करोडमा सीमित छ ।

अघिल्लो मंसिरसम्म ८ खर्ब ३८ अर्ब ४० करोडको आयात र १ खर्ब २ अर्बको निर्यात भएको थियो । यसरी कुल व्यापारघाटमा १८.७७ प्रतिशतले कमी आएको छ । अघिल्लो मंसिरसम्म ७ खर्ब ३५ अर्ब ४८ करोडको व्यापारघाटा भए पनि चालू आवको मंसिरसम्म भने ५ खर्ब ९७ अर्ब ४४ करोड रुपैयाँ बराबरको व्यापारघाटा भएको छ ।

मंसिरसम्ममा सबैभन्दा बढी पेट्रोलियम पदार्थ आयात भएको छ । विभागका अनुसार यो अवधिमा २८ अर्ब ५९ करोडको पेट्रोल, ५५ अर्ब ४८ करोडको डिजेल, २३ अर्ब ७५ करोडको एलपी ग्यास तथा ९ अर्ब २० करोडको हवाई इन्धन र ५८ करोड २९ लाख रुपैयाँको मटीतेल आयात भएको छ । निर्याततर्फ भने १० अर्ब ८७ करोडको पाम आयल, ६ अर्ब ९८ करोडको भटमासको तेल तथा २२ करोड ३१ लाखको सनफ्लावर आयल निकासी भएको छ ।

तथ्यांकका आधारमा सबैभन्दा बढी व्यापार भारतसँग भएको छ । भारतबाट ४ खर्ब १७ करोडको आयात भएको छ भने भारततर्फ ४७ अर्ब ३७ करोड रुपैयाँ बराबरको निकासी भएको छ । यसरी पाँच महिनामा भारतसँग कुल ३ खर्ब ५२ अर्ब ८० करोड रुपैयाँ बराबरको व्यापारघाटा भएको छ । दोस्रो स्थानमा रहेको चीनसँग नेपालको व्यापारघाटा ९४ अर्ब ३३ करोड ६३ लाख रुपैयाँ रहेको छ । चीनबाट ९४ अर्ब ५८ करोड ११ लाखको वस्तु आयात भएकोमा निकासी भने २४ करोड ४७ लाख रुपैयाँमा सीमित रहेको छ ।

पूर्ववाणिज्य सचिव पुरुषोत्तम ओझा विश्वव्यापी आर्थिक मन्दीका कारण नेपालको वैदेशिक व्यापारमा स्वाभाविक असर परे पनि निकासीको क्षेत्र झन् कमजोर बन्दै गएको देखिएको बताउँछन् । उनका अनुसार भारतले वनस्पती तेल आयातमा भन्सार दर शून्यमा झारेसँगै नेपालको निकासी व्यापारमा प्रतिकूल असर परेको छ ।

यद्यपि, तेस्रो मुलुकबाट आयात गरी भारत निकासी हुने यस्ता वस्तुको निकासी घट्दा अर्थतन्त्रमा ठूलो असर नपर्ने बरु नेपालले बढी मूल्य अभिवृद्धि हुने स्वदेशी उत्पादनको निकासीमा जोड दिनुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्