कोरियाकोे छवि राम्रो बनाउन नेपालमा लगानी गर्नुपर्छ : कोरियाली राजदूत

नेपालका लागि कोरियाली राजदूत पार्क योङ्ग सिकले नेपालमा विदेशी लगानी बढाउन वैदेशिक लगानीमैत्री वातावरण तयार गर्न अनुरोध गरेका छन् । उनले नेपालको वैदेशिक लगानी सम्बन्धी कानुनमा परिमार्जन गर्नु पर्ने भए पनि कोरियाको उद्योगहरू नेपालमा प्रवेश गरेर कोरियाको छवि राम्रो बनाउनु पर्ने बताए ।
महाराजगंजस्थित कोरियाली लगानीमा संचालित एसवाई प्यानल कम्पनीको मोडल हाउसको अवलोकन गर्ने क्रममा राजदूत सिकले मंगलबार सो कुरा बताएका हुन् । सो अवरमा एसवाई प्यानल नेपालका प्रबन्ध निर्देशक जोङ सियोक पार्कले एसवाइको मोडल हाउसमा पुगेका कोरियाली राजदूत सिकलाई स्वागत गरेका थिए ।
एसवाई प्यानल नेपालका प्रबन्ध निर्देशक पाकसँगको छलफलको क्रममा राजदूत सिकले विदेशी लगानीको लागि नेपालको कानुनमा केही समस्या भए पनि कोरियाको उद्योगहरू नेपालमा प्रवेश गरेर कोरियाको छवि राम्रो बनाउनु पर्ने धारणा राखेका थिए ।राजदूत सिकले भूकम्प प्रतिरोधी भवन निर्माणका लागि विश्वकै उत्कृष्ट प्यानल उत्पादन गर्ने एस वाई कम्पनीका विभिन्न सामग्रीहरू अवलोकन गरेका थिए ।
सन् १९९४ मा दक्षिण कोरियामा स्थापना भएको एसवाई प्यानल कम्पनी आज विश्वको १९ देशमा फैलिएको कम्पनीले जनाएको छ । उक्त कम्पनी भवन निर्माणको लागि आवश्यक प्यानल उत्पादनमा एसियाको पहिलो तथा विश्वको दोस्रो ठूलो कम्पनी हो । नेपालमा २०७२ सालको महाभूकम्पपश्चात् भूकम्पप्रतिरोधी भवन निर्माणमा तीव्र वृद्धिका कारण हालै एस वाई प्यानल नेपालको स्थापना गरी असोज २५ गते उद्योगमन्त्री सुनिल कुमार थापाले महाराजगंजमा मोडल हाउसको उद्घाटन गरेका थिए ।
त्यस्तै असोज २६ गते चितवनको रत्ननगरमा प्यानल निर्माणको लागि कारखानाको शिलान्यास गरेका छन् । एसवाई नेपालका प्रबन्ध निर्देशक पार्कले चितवनको कारखानामा नेपाललगायत दक्षिण एसियामा आवश्यक पर्ने स्यान्डबिच प्यानल, युपिभिसी झ्याल, स्टिल ढोकालगायत अन्य निर्माण सामग्रीहरू उत्पादन गर्ने बताए ।