बाँझो जमिन उपयोग गरी चिया खेती विस्तार गरिँदै «
Logo

बाँझो जमिन उपयोग गरी चिया खेती विस्तार गरिँदै

पर्वतको कुश्मा नगरपालिका वडा नं. १४ आर्थरुडाँडाखर्क । जहाँ गुरुङ समुदायको बाहुल्यता रहेको छ । वैदेशिक रोजगारी, गुणस्तरीय शिक्षा स्वास्थ्यको खोजी लगायत विविध कारणले गुरुङ समुदायका झण्डै ८० प्रतिशत परिवारले गाउँ छाडिसके । गाउँबाट बसाइँसराईको दर उल्लेख्य बढेपछि अहिले खेतवारी पुरै झाडी र बुट्यानले भरिएको छ । ढुंगाको छानो भएका, चिटिक्क परेका घरहरु भग्नावशेषमा परिणत हुन थालेका छन् ।

गाउँमा बसेकाहरुलाई पनि खेतीवाली लगाउने रुचि छैन । किनकी बालीनाली लगाए बाँदरले छिनभरमै सखाप पारिदिन्छ । वर्षेनी बाँझो जमिन बढ्ने क्रम बढेपछि वडा कार्यालयले नयाँ योजना अघि सारेको छ । वडा भित्र खाली र बाँझो रहेको जमिन उपयोगमा ल्याउन लागेको हो । खाली र बाँझो जमिनमा चिया खेतीका लागि सम्भाव्यता अध्ययन गर्न थालिएको वडा अध्यक्ष रुद्रमोहन रिमालले जानकारी दिए ।

प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल पञ्चासेको घना जंगल मुनि रहेको उक्त गाउँमा परिक्षणका लागि केही व्यक्तिले लगाएका चियाका बोट हुर्किदै गएपछि चिया खेती राम्रो हुने आंकलन गर्दै सम्भाव्यता अध्ययन गर्न थालिएको अध्यक्ष रिमालले बताइ ।
यहाँ बाँझो जमिन प्रशस्त छ । चियाखेतिका लागि उपयुक्त हावा, पानी र माटोसमेत सुहाउँदो भएको देखिन्छ ।

अध्यक्ष रिमालले भने, “सम्भाव्यता अध्ययनका लागि राष्ट्रिय चिया तथा कफि विकास बोर्ड क्षेत्रीय कार्यालय कास्कीले तयारी थालेको छ ।” वडा कार्यालयको अनुरोधमा कार्यालयको टोलीले आर्थरडँडाखर्कका सवै क्षेत्रमा चियाखेतीको सम्भावनाको अध्ययन थालेको हो । गाउँमा बसाइँसराईका कारण खाली जमिन बढ्दै गएको र गाउँको सौन्दर्यतामा समेत ह्रास आउन थालेका कारण बाँझो जमिनको उपयोग गर्न लागिएको अध्यक्ष रिमालले बताए ।

“गाउँमै रोजगारी हुने मात्रै नभई नगरलाई अर्थतन्त्रमा बलियो बनाउन यसले सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ” अध्यक्ष रिमालले भने, “त्यसका लागि युवाहरुलाई विदेश पलाएन हुनबाट रोक्नको साथसाथै उपयोगबिहिन भएको जग्गा प्रयोगमा ल्याउनु पर्दछ ।”

आर्थरमा चिया खेतीको बिस्तार हुन सकेमा आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्नमा सहयोग पुग्ने स्थानीय इन्द्र गुरुङले बताए । बाँझो जमिन उपयोग गरेर यहाँका युवाहरुलाई गाउँमै कमाउने र गाउँमै रमाउने बातावरण सिर्जना गर्न सकेमा बसाईसराई दर कम हुने गुरुङले बताए ।

आर्थर डाँडाखर्कका झण्डै ८ सय परिवार बसाई सरेर पोखरा र काठमाडौं लगायतका शहरमा बस्दै आएका छन् । सामाजिक सुरक्षा भत्ता वितरण गर्नका लागि वडा सचिबनै ती ठाउँ खोज्दै जानुपर्ने बाध्यता रहेको छ । अहिले गाउँमा गुणस्तरीय सडक, निजी विद्यालय तथा गुणस्तरीय सामुदायिक विद्यालय र स्वास्थ्य क्षेत्रमा समेत सुधार आएपनि गाउँ भने रित्तिँदै गएको स्थानीय दुर्गा शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस्